शेरबहादुरको भविष्य -देवप्रकाश त्रिपाठी

शेरबहादुरको भविष्य -देवप्रकाश त्रिपाठी


नेपाली काङ्ग्रेसको सभापति पदका लागि भएको निर्वाचनमा दोस्रोपटक पराजित भएपछि शेरबहादुर देउवाले फेरि पनि -दोस्रोपटक) पार्टी विभाजन गराउनुहुने हो कि भन्ने आशङ्का काङ्ग्रेसभित्र प्रकट हुन थालेको छ । यसप्रकारको आशङ्का देउवाप्रति आग्रही मात्र होइनन्, देउवामा रहेको महत्त्वाकाङ्क्षाबारे जानकार तथा अन्य केहीले पनि गरेका छन् । वि.सं. २०५९ मा ‘काङ्ग्रेसको सभापति’ बन्न पार्टी फुटाइएको थियो या पार्टी फुटेका कारण देउवा ‘सभापति’ बन्नुभएको थियो भन्ने प्रश्नमा विचरण नगर्ने हो भने पनि उहाँ काङ्ग्रेसको सभापति बन्न निकै लालयित रहँदै आउनुभएको यथार्थ कसैबाट लुके-छिपेको मानिँदैन । पोखरामा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालालाई टक्कर दिने ‘साहस’ गर्नुभएपछि देउवाको महत्त्वाकाङ्क्षा उजागर हुन पुगेको महसुस धेरैलाई भएको थियो । त्यसो त २०५१ मा संसदीय दलको नेता बन्न ‘बाध्य तुल्याइएपछि’ नै देउवाको महत्त्वाकाङ्क्षा चुलिन थालेको हो । देउवाका कतिपय आलोचकहरू भने पञ्चायतकालमै देउवामा नजानिँदो किसिमले महत्त्वाकाङ्क्षा प्रकट भइसकेको ठान्दछन् । सन्तनेता कृष्णप्रसाद भट्टर्राईले चतुर्‍याइँपूर्वक ब्रिटेनतर्फ नपठाइदिएका भए देउवाको परिचय पूर्वपञ्च या पञ्चायती मन्त्रीका रूपमा हुनसक्थ्यो भन्ने उनीहरूको ठम्याइ छ । आलोचकहरूका यस्ता ठम्याइ सही/गलत जे भए पनि देउवा नेपाली काङ्ग्रेसका एक नेता हुनुहुन्छ र पार्टीमा रामै्र पकड राख्ने सफलता भाग्यवश उहाँलाई प्राप्त भएको छ । देउवाको भूमिकाले काङ्ग्रेसको भविष्यलाई कुनै न कुनै रूपले प्रभावित गर्न सक्ने सम्भावना अहिले पनि जीवित रहेको मानिन्छ । काङ्ग्रेसको भविष्यलाई प्रभावित तुल्याउने हैसियत भएकै कारण यहाँ देउवा स्वयम्को भविष्यबारे चर्चा गर्ने प्रयास गर्नु सान्दरि्भक हुने ठानिएको छ ।
शेरबहादुर देउवा कर्ममा भन्दा भाग्यमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ र भाग्यले उहाँलाई साथ दिँदै आएको पनि छ । देशको परिस्थितिले भन्दा उहाँलाई ज्योतिषीले हौस्याएका छन् र सातपटक प्रधानमन्त्री बन्ने सपना देखाएका छन् । तीनचोटि प्रधानमन्त्री बन्न पाएकोमा सन्तुष्ट हुनुभन्दा ‘बाँकी चारचोटि’ प्रधानमन्त्री हुने ढोका नखुलेको व्यग्रताले देउवामाथि विजय प्राप्त गरेको छ । झण्डै एक दशक प्रधानमन्त्री रहेका भीमशमशेरभन्दा मात्र तीन महिना प्रधानमन्त्री बनेका देवशमशेर स्मरणीय छन् भन्ने चेत धेरै नेतामा खुलेको छैन र देउवा पनि यस्ता धेरै नेताहरूको कोटिमा पर्नुभएको ठानिन्छ । देउवामा सरकारमा पुग्ने र पुगेपछि टिकिरहन सक्ने विशिष्ट क्षमता छ । तीनपटक प्रधानमन्त्री बन्नुभएका उहाँलाई तीनैपटक अस्वाभाविक एवम् अप्राकृतिक किसिमबाट पदमुक्त गरिएको थियो । पहिलोपटक -२०५३ मा) विश्वासको मत लिने क्रममा काङ्ग्रेसकै दुई सांसदलाई अनुपस्थित गराएर पराजित तुल्याइनुभएका देउवालाई ०५९ असोज अठार गते र २०६१ माघ उन्नाइस गते तात्कालिक राजाबाट हटाइएको थियो । यदि ०५३ मा आफ्नै पार्टीका सांसद अनुपस्थित गराएर देउवालाई हट्न बाध्य नतुल्याइएको भए सम्भवतः उहाँ ०५६ को आमनिर्वाचनसम्म निरन्तर प्रधानमन्त्री रहनुहुन्थ्यो, पदमा टिक्न सक्ने देउवाको कलाबारे विश्लेषण गर्ने हो भने यसप्रकारको निष्कर्ष निकाल्न सकिन्छ । उहाँ आवश्यकताअनुसार जोसँग जति पनि झुक्न, सम्झौता र सहकार्य गर्न पनि तयार हुनुहुन्छ । सांसद खरिद-बिक्रीको इतिहासमा देउवाले एउटा बेग्लै रेकर्ड कायम गर्न सक्नुको कारण पनि उहाँको यस्तै विशिष्ट क्षमता हो भन्न सकिन्छ ।
शेरबहादुर देउवामा सम्झौतावादी चरित्र अत्यन्त प्रबल रूपमा रहेको तथ्यबारे आमनेपाली जनता स्पष्ट छन् । देउवा सिद्धान्त, विचार, नीति, निष्ठा, मूल्य, मान्यता र कुनै सुन्दर गन्तव्य प्राप्तिबाट प्रेरित भएर सम्झौताका लागि तयार हुने व्यक्तिमा पर्नुहुन्न । आफ्ना लागि कोसँगको कस्तो सम्झौताले लाभ पुर्‍याउँछ भन्ने लोभ या मोहबाट उहाँ प्रेरित हुने गर्नुहुन्छ । राजनीतिमा अति दक्षिणी कुनाको शक्ति मानिने राजासँग देउवा एक समय अति निकट हुनुहुन्थ्यो, मानिसहरू देउवालाई राजासँग छुट्याएर हेर्दैनथे । काङ्ग्रेसमा दरबारको विश्वासप्राप्त कोही नेता छन् भने ती देउवा मात्र हुन् भन्ने आमधारणा थियो त्यसताक । दरबार र दरबारियाका हरेक आकाङ्क्षा पूरा गर्न/गराउन देउवा अत्यन्त सचेत रहने गर्नुभएको महसुस उहाँको मन्त्रिमण्डलमा सामेल धेरैले गरेको स्मरण अहिले पनि गरिँदै छ । यसरी दरबारसँग अति निकटको सम्बन्ध बनाउन उत्साहित र सदा अभिप्रेरित देउवाले त्यस्तो व्यवहार प्रस्तुत गर्नुको कारण सैद्धान्तिक, वैचारिक एवम् मूल्य र मान्यतागत थिएन । आफ्नो सत्तास्थितिको रक्षासँग मात्र उक्त सोच अन्तरसम्बन्धित थियो । दरबारसँग त्यसरी घनिष्टता दर्शाउनुहुने देउवा खास-खास समयमा माओवादीजस्तो अतिवामपन्थी शक्तिसँग पनि त्यत्तिकै नजिक पुग्नुभयो । गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री पदबाट हटाउन -०५७ सालमा) देउवाले हिंसात्मक सङ्घर्षमा रहेका माओवादीसँग कुन हदसम्मको समझदारी कायम गर्नुभएको थियो भन्ने रहस्योद्घाटन अहिलेसम्म भएको छैन । ०५८ सालको असारमा होलेरीमा सैन्य घेरामा परिसकेका माओवादी नेताहरूलाई बचाउन देउवाले निर्वाह गर्नुभएको गुप्त भूमिकाबारे पनि धेरै मानिस अनभिज्ञ छन् । जुन प्रकरणमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य हुनुभएको थियो । होलेरी काण्डमा बचाइदिएका कारण माओवादीहरू आफूले जे भन्यो सोही मान्छन् भन्ने भ्रममा देउवा हुनुहुन्थ्यो । ०५८ को साउनमा प्रधानमन्त्री हुनेबित्तिकै माओवादीसँग वार्ता गर्न अत्यन्त उत्साही हुनुको कारण पनि माओवादीबारे देउवामा उत्पन्न त्यही भ्रम थियो । माओवादीसँगको खुला र गुप्त दुवै सम्बन्ध ‘सुदृढ’ भएको ठान्नुभएपछि देउवा राजनीतिमा आफू बलवान हुने विश्वासमा हुनुहुन्थ्यो, तर उहाँको विश्वासले अविष्मरणीय धोखा खायो । राजासँग नजिक हुनुभयो अहिले राजाबाट पटक-पटक धोखा पाएँ भन्दै हुनुहुन्छ, माओवादीसँग निकट पुग्नुभयो तिनले झन् धोखा नदिने कुरा माओवादी शास्त्रमै थिएन । रोचक पक्ष त के छ भने देउवा फेरि पनि माओवादीसँग नजिक हुने प्रयास गर्दै हुनुहुन्छ र माओवादीको साथ प्राप्त गरेर पुनः प्रधानमन्त्री बन्ने आकाङ्क्षा उहाँले पाल्नुभएको देखिँदै छ । रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता गराउन देउवाको साथ-सहयोग लिने माओवादी योजना छ, तर उहाँ आफूलाई प्रधानमन्त्री बनाउनकै लागि माओवादी सहयोग गर्न तयार भएको ठान्दै हुनुहुन्छ । अति वामपन्थीहरूसँगको निकटताले राजा, गिरिजाप्रसाद कोइराला र छिमेकी मित्रराष्ट्र कसैलाई पनि लाभ नपुर्‍याएको सत्य र्छलङ्ग हुँदाहुँदै पनि देउवा जसरी उनीहरूसँग निकट हुने प्रयास गर्दै हुनुहुन्छ यसले उहाँमा सिद्धान्त, विचार र निष्ठाको राजनीतिक सोचको अभाव रहेको सिद्ध गर्दै छ ।
प्रसस्त मौका पाएर पनि देशोपयोगी कुनै अविष्मरणीय कार्य गरेर देखाउन अर्समर्थ शेरबहादुर देउवा अब काङ्ग्रेसको सभापति हुनसक्ने सम्भावना समाप्तप्रायः भएको छ । काङ्ग्रेसको आगामी महाधिवेशनसम्ममा यस पार्टीको आन्तरिक राजनीतिमा नयाँ पुस्ताको प्रभाव विस्तार हुने सङ्केत देखिइसकेका छन् । आगामी महाधिवेशनले पुनः सुशील कोइराला या शेरबहादुर देउवालाई सभापतिका रूपमा खोज्न सक्ने सम्भावना किञ्चित देखिँदैन । बरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, खुमबहादुर खड्का, सुजाता कोइराला, अर्जुननरसिंह केसी र विमलेन्द्र निधिजस्ता नेताहरूको अगुवाइ काङ्ग्रेसजनले खोज्न सक्ने सम्भावना ज्यादा छ । काङ्ग्रेस भावनालाई जस्ताको त्यस्तै बुझने हो भने देउवाले अब आफूलाई होइन पार्टीलाई केन्द्रभूमिमा राखेर आफ्नो भूमिका निर्वाह गर्नु लोकतन्त्र, काङ्ग्रेस र देउवा स्वयम्को निम्ति उपयुक्त हुने देखिन्छ । करिब सत्तरीको उमेर अवस्थामा पुग्न लाग्नुभएका देउवाले आफैंलाई स्थापित गर्ने भूमिका निर्वाह गर्नुभएमा उहाँको उपादेयता समाप्त भएको ठानिने स्थिति विकास हुन थप बल मिल्नेछ । पार्टी, प्रजातन्त्र र देशका लागि जे-जति गर्न सकिन्थ्यो तीनपटक प्रधानमन्त्री बन्दा आफ्नो क्षमताअनुरूप देउवाले गरिसक्नुभएको छ । पुनः प्रधानमन्त्री बन्न सक्दा पनि कुनै आकाशको फल झार्ने आशा उहाँबाट गर्नसपर्ने स्थिति छैन र गरिएको छैन पनि । फुटेको काङ्ग्रेसकै भए पनि देउवा सभापति हुनुभएको हो र सभापतिका रूपमा उहाँको भूमिका एवम् कार्यक्षमता कस्तो थियो भन्ने पनि देखिसकिएको हो । अब आफू होइन अरूलाई बनाउने भूमिकामा सीमित गरिएको अवस्थामा मात्र पार्टीले देउवालाई कदर गर्न सक्ने देखिन्छ । होइन भने जीवनको उत्तर्रार्धमा गणेशमान सिंहले जस्तो नियति भोग्नुभयो र कृष्णप्रसाद भट्टर्राई भोग्दै हुनुहुन्छ ठीक त्यस्तै नियति देउवाले पनि भोग्नु नपर्ला भन्न सकिन्न । पछिल्लो समयमा गिरिजाप्रसाद कोइराला पनि पार्टीसँग टाढिँदै जानुभएको थियो, केही प्राविधिक कारणले मात्र कोइरालाले सिंह र भट्टर्राईको जस्तो नियति भोग्नु नपरेको हो । काङ्ग्रेसमा लागेबापत तीन-तीनपटक प्रधानमन्त्रीजस्तो गरिमामय र उच्च पद हासिल गर्न सफल देउवाले काङ्ग्रेसको एकता र गतिशीलताको निम्ति सहयोग पुर्‍याउन सक्नुभएमा मात्र काङ्ग्रेसमा उहाँको सम्मान जीवित रहला, होइन भने आगामी दिन उहाँका निम्ति पनि अपमानजनक र पीडादायी बन्न सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । बाँचिन्जेल आफ्नै वरिपरि राजनीति घुमाइरहन चाहेका भए सिंगापुरका ली क्वान यू यति सम्मानित हुन सक्दैनथे जति आज छन् । सधैं शक्तिशाली भइरहन खोज्दा राजीव गान्धीजस्ता लोकप्रिय नेताले पनि मृत्युपूर्व अपमान र पीडाको स्थिति व्यहोर्नुपरेको थियो । फिडेल क्यास्त्रो र किम जोङ इल प्राविधिक कारणले शक्तिशाली रहेका भए पनि ती लोकप्रिय र सान्दरि्भक मानिएका छैनन् । माओत्सेतुङजस्ता बहादुर नेता पनि सन् सत्तरीको दशकदेखि त्याज्य हुँदै गएका थिए । ०४७/०४८ सालतिर लोकप्रियताको चरमोत्कर्षमा पुगेका कृष्णप्रसाद भट्टर्राई अहिले अपमान र बेसरोकारको पीडा बहन गर्दै हुनुहुन्छ । मानिस भनेको भूमिका हो भनेर स्वीकार गर्ने हो भने आगामी दिनमा निर्वाह गरिने भूमिकाले नै देउवाको नाम या बद्नाम निर्धारण गर्ने विश्वास गर्न सकिन्छ । आफ्नो भूमिका सीमित र सङ्कुचित भइसकेको यथार्थलाई देउवाले स्वीकार गर्न सक्नुपर्छ, देउवा, देश, काङ्ग्रेस र प्रजातन्त्रको भलो यसैमा देखिएको छ ।
[email protected]