० विवाद बढ्दाबढ्दै माओवादी पार्टी त फुट्ने अवस्थामै पुग्यो भनिन्छ, हो ?
– होइन । पार्टी फुट्ने भन्ने विषयलाई विभिन्न कोणबाट जसरी चर्चामा ल्याइएको छ यो यथार्थसँग मेल खाने विषय होइन ।
० तपाईंकै पार्टीसचिव सीपी गजुरेलले फुटको तिथि तोकिन मात्रै बाँकी रहेको घोषणा किन गरिदिनुभयो त ?
– उहाँले कुन सन्दर्भमा कुनै हिसाबले अभिव्यक्ति दिनुभयो र त्यसलाई बुझ्ने या प्रचारमा ल्याउनेले के बुझेर कसरी सार्वजनिक गरे भन्ने कुरा खोजीको अर्कै पार्टी बन्न सक्छ, तर पार्टी फुट्ने कुराचाहिँ सत्य होइन । मैले सीपीजीसँग यसबारे कुरा गर्दा ‘मेरो आशय त्यस्तो थिएन तर बङ्ग्याउने काम भयो’ भन्नुभएको छ ।
० त्यसो भए माओवादी पार्टी फुट्ने कुरा फगत हल्ला हो, त्यस्तो सम्भावना नै छैन, होइन त ?
– पार्टी फुट्दै फुट्दैन, यो फुट्ने चिज नै होइन भनेर निरपेक्ष रूपमा भन्न सकिने कुरा त भएन । अहिलेको सन्दर्भमा चाहिँ विभिन्न विषयमा वा मुद्दाहरू तीव्र छलफल, बहस, असहमतिहरू भएका मात्र हुन्, यसलाई फुट्ने अभ्यासका रूपमा लिन मिल्दैन । पार्टी भनेको सिद्धान्त हो, विचार हो, कार्यदिशा हो, नीति हो, यी सबैको समग्रता हो पार्टी । यसैमा छलफल र बहस चलिरहेको हो । आगामी ८ गते पार्टीको बैठक छ, त्यसमा पनि यस्ता बहस त उठ्नै नै छ ।
० कहाँ गएर टुङ्गिएला त तपाईंहरूको यो बहस –
– यसको भविष्यवाणी त म अहिले गर्न सक्दिनँ । म यति मात्र अहिले भन्न सक्छु कि त्यो बहसलाई सकारात्मक दिशा प्रदान गर्न पार्टीका सबैले पहल गर्नुपर्छ, भूमिका निर्वाह गर्नुपर्छ । मेरो पहल यसैमा हुनेछ ।
० बहस र विवादबीच पनि तपाईंले पार्टी अध्यक्ष प्रचण्डलाई त भेटिरहनुभएको छ, के कुराकानी भयो पछिल्लो भेटमा ?
– अध्यक्षसँग मेरो भेटघाट र कुराकानी हुनु त स्वाभाविक नै छ, यसमा विषयलाई अनौठो या विशिष्ट परिघटनाका रूपमा किन लिनुपर्यो ?
० अध्यक्षले तपाईंसँग निकै गुनासो गर्नुभएछ नि, होइन ?
– गुनासो त भइहाल्छ । मेरो पनि गुनासो हुन्छ र उहाँको पनि नहुने कुरै भएन । पार्टीको जीवन भनेकै यही नै त हो- गुनासो, बहस, छलफल चलिरहनुपर्छ ।
० खास के गुनासो रहेछ प्रचण्डजीको तपाईंप्रति ?
– त्यस्तो तोकेर भन्नुपर्ने गुनासो केही छैन । संविधान निर्माणबारेका कुराहरू थिए ।
० प्रचण्डसँग तपाईंको गुनासोचाहिँ के हो नि ?
– मेरो व्यक्तिगत गुनासो त केही होइन, तर मुलुकको राजनीतिक परिस्थिति अलिक जटिल छ, त्यसैले हाम्रो अध्यक्षले मूलत: दुईवटा कुरामा ध्यान पुर्याउनुपर्ने देखिन्छ- देश र जनताको हितमा कसरी अगाडि बढ्ने, संविधान कसरी बनाउने, नयाँ नेपाल निर्माण कसरी गर्ने भन्ने विषयमा ठूलो पार्टीको अध्यक्षका नाताले उहाँले सशक्त भूमिका खेल्नुपर्नेमा अलिक अर्कै प्रकारले अल्मलिनु भएजस्तो देखिन्छ । अर्को कुरा, पार्टीमा यत्रो बहस र छलफल छ, दुईलाइन सङ्घर्ष छ, यसको सही समाधान कसरी गर्ने भन्ने सवालमा पनि अध्यक्षको हैसियतले विशिष्ट भूमिका खेल्नुपर्छ । यही नै हाम्रो गुनासो र माग पनि हो ।
० दुईलाइन सङ्घर्षलाई निकास दिन अध्यक्षले के गर्नुपर्छ भन्ने तपाईहरूको चाहना हो त ?
– त्यो कसरी गर्नुपर्छ भनी मैले भन्नुभन्दा पनि उहाँले नै जान्ने कुरा हो, उहाँले आफ्नो विवेक र खुवी प्रयोग गर्नुपर्यो ता कि यस्ता विवाद र गुनासाहरू पैदा नहुन् । हाम्रा कुराहरू बुँदागत रूपमा पार्टी बैठकमा राखिसकिएको छ । अब सही ढङ्गले निकास निकाल्नुपर्यो ।
० सही निकास निस्केन भनेचाहिँ पार्टी फुट्ने ?
– एकता र फुटका कुरा नगरौँ । यो हल्ला गरेर हुने कुरा पनि होइन । पार्टी बन्ने, टुट्ने क्रम त अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चलिरहेकै कुरा हुन् । टुट्छ पनि र एकता हुन्छ पनि । विश्व कम्युनिस्ट इतिहास नै द्वन्द्ववादले भनिएको हुन्छ । एकता, सङ्घर्ष, रूपान्तरण र फुट अनि फेरि एकता † यसलाई अनौठो रूपमा हेर्नुपर्दैन । देशको राजनीतिक परिस्थितिसापेक्ष हुन्छ यस्ता कुरा । क्रान्तिकारीहरूले कहिले विद्रोह गर्नुपर्ने हुन्छ पार्टीभित्रै, त्यसलाई फुट भन्न मिल्दैन । एकता, सङ्घर्ष र रूपान्तरणको प्रक्रियामा हामी छौँ, यति मात्र बुझिदिए हुन्छ द्वन्द्व बाहिरबाट अहिले ।
० तपाईंको कुरा प्रचण्डजीले आत्मसात् गर्न छोड्नुभयो भन्ने पनि छ नि, तपार्इंलाई के लाग्छ ?
– मेरो व्यक्तिगत कुरा सुन्नुपर्छ भन्ने पनि छैन, उहाँले सबैका कुरा सुन्नुपर्छ । सही कुरा जसको पनि सुन्नुपर्छ, त्यो उहाँको पनि कर्तव्य हो र हाम्रो पनि ।
० अहिले अध्यक्ष र तपाईंबीच द्वन्द्व या विवादचाहिँ छ भनेर बुझनुपर्यो होइन हामीले ?
– विवाद जसको जोसँग पनि हुनसक्छ । द्वन्द्व नभए त जीवन नै सकियो नि †
० तपाईंहरूबीचको यो द्वन्द्वलाई देखावटी या नाटकीय व्याख्या गर्नेहरू पनि छन् नि †
– द्वन्द्व नभए पार्टी नै मृत हुन्छ भनिसकेपछि पनि फेरि हाम्रो द्वन्द्वलाई देखावटी भन्न मिल्छ र ? तर्सथ यो देखावटी या बनावटी नभई एकदम स्वाभाविक हो ।
० आफैंले बनाएको प्रधानमन्त्रीलाई तपाईंले यसरी असहयोग गर्नुपरेकोचाहिँ किन हो नि ?
– बाबुरामजीलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने कुरामा त हामीले आफ्नै किसिमबाट सहमति जनाएका हौँ तर बहुत विचित्र र अपवित्र ढङ्गले, हामीलाई थाहै नदिई मधेसवादी दलहरूसँग उहाँले चारबुँदे सहमति गर्नुभो प्रधानमन्त्री बन्नकै लागि, जो सही कदम थिएन । आफ्नै दलका नेता प्रधानमन्त्री बनिसकेपछि तत्काल बढी कुरा गर्न पनि भएन हेर्नुस्, तर कमी-कमजोरीहरू थुपै्र छन्- अनि नबोली पनि भएन । पार्टीभित्र एउटा छलफल र समाधानको सूत्र नै नखोजी जग्गा फिर्ता गर्ने र नमान्नेलाई प्रहरी प्रशासन लगाएर ठीक पार्ने कुरा बाबुरामजी गर्नुहुन्छ । पार्टीको निर्णय नै नभएको विषयमा उहाँले यस्तो कुरा गर्नु सुहाउँछ त ? पार्टीलाई थाहै नदिई भारत गएर बिप्पा सम्झौता गरेर आउनुहुन्छ उहाँ । यस्ता उल्टापुल्टा काम मात्र गर्ने भएपछि अब आफ्नो भनेर हुन्छ त ? हामीले विरोधका लागि बाबुरामजीको विरोध गरेको नभई उहाँलाई सच्याउने प्रयत्न गरिरहेका हौँ ।
० बिप्पा ऐतिहासिक सम्झौता हो, यसमा अब करेक्सन हुँदैन भनिरहनुभएको छ नि बाबुरामजीले, अब के भन्नुहुन्छ ?
– हाम्रो पार्टीले मानेको छैन, सिङ्गै देशले मानेको छैन, अनि कसरी त्यो सही हुन्छ ? एउटा क्रान्तिकारी पार्टीको नेताले गर्न सुहाउने कुरा होइन यो । बाबुरामजी सच्चिनुपर्छ ।
० नसच्चिए के हुन्छ ?
– नसच्चिए उहाँलाई नै घाटा हुन्छ, उहाँले आफ्नो जिम्मेवारीबाट पन्छिनुपर्ने हुन्छ ।
० अन्तर्राष्ट्रिय समर्थनका कारण पनि यो सरकारको विकल्प छैन भन्नुहुन्छ नि प्रधानमन्त्री भट्टराई त ?
– सरकारमा जाने-नजाने, बस्ने-नबस्ने सवालमा पहिलो कुरा त पार्टीको निर्णय हुन्छ हेर्नुस्, दोस्रो कुरा अन्य पार्टीहरूका बीचमा पनि सहमति बन्नुपर्छ, यो मुलुकका आन्तरिक कुरा हुन् । यस्तो आन्तरिक कुरालाई चटक्कै छोडेर एकैचोटि उहाँले अन्तर्राष्ट्रिय कुरा गर्न सुहाउँदैन । प्रधानमन्त्री भनेको देश र जनताका लागि हो । देश र जनताले स्वीकार नगरे पनि म पदमा भइराख्छु भनेर त हुँदैन होला । बाबुरामजस्ता व्यक्तिले सरकार या पदका लागि हिरिक्क हुन सुहाउँदैन भनेर मैले त ठाउँ-ठाउँमा भन्दै आएको छु । देश र जनताका समस्याको हल गर्न सके यो सरकारको नेतृत्व गर्नुको र्सार्थकता हुन्छ । त्यागको भावना पनि हुनुपर्छ क्या यसरी नेतृत्व गर्छ भन्ने व्यक्तिसँग । कुनै बाह्य राष्ट्र रिझाएर मात्रै त हुँदैन नि ।
० भनेपछि माओवादी पार्टी बैठकले बिप्पालाई समर्थन गर्दैन ?
– गर्दैन हेर्नुस्, पार्टीले त यसलाई खारेज नै गर्छ ।
० यसले त छिमेकी भारतसँगको सम्बन्धमा नकारात्मक असर पार्ने भयो नि त ?
– कुनै पनि विवादित विषयहरूमा सम्झौता नगर्ने भन्दाभन्दै सुटुक्क गरेपछि राम्रो परिणाम त कसरी आउँछ त †
० यसको मतलब तपाईं प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सरकारबाट फिर्ता बोलाउन चाहनुहुन्छ ?
– मेरा व्यक्तिगत कुरा छोड्नुस् । पार्टीले कस्तो निर्णय गर्छ भन्ने कुरा प्रमुख हो, अरू दलको सहमति के हुन्छ भन्ने पनि दोस्रो प्रश्न हो । यिनै सवालले उहाँ प्रधानमन्त्री रहने-नरहने निक्र्योल गर्छ अब । मेरो व्यक्तिगत कुरा नै सोध्नुहुन्छ भनेचाहिँ बाबुरामजी प्रधानमन्त्री भएर देश र जनताको हितमा काम गरेको मैले पाएको छैन ।
० त्यसो भए उहाँले पदबाट राजीनामा दिनुपर्छ ?
– हो, मैले यो कुरा अरूसँग भन्दा पनि उहाँसँग नै भनेको छु- बाबुरामजी तपाईं राजीनामा गर्नुस् †
० तपाईंको मतलब अब बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्दैन, हो ?
– उहाँ कति सच्चिएर आउनुहोला, आफ्ना कुरा पार्टीमा राख्नुहोला- त्यो पनि हेर्नुपर्छ, तर मेरो विचारमा त उहाँको नेतृत्वमा सहमति बन्न गाहै्र छ । हाम्रो पार्टी प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा यतिबेला खुला छ । छलफल, बहसले नै यो टुङ्गो लगाउँछ । पार्टीको निर्णय नै सर्वोपरि हुन्छ ।
० तपाईं पार्टीको कार्यवाहक अध्यक्ष बन्दै हुनुहुन्छ भन्ने गाइँगुइँ पनि सुनिएको छ नि, हो ?
– वाहियात कुरा हो यो । मैले कतै सुनेको पनि छैन, पार्टीमा कसैले प्रस्ताव गरेको पनि छैन र मलाई ‘कार्यवाहक अध्यक्ष’ चाहिएको पनि छैन ।
० त्यसो भए पार्टीका महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर प्रचण्डसमक्ष प्रस्ताव राख्नुभएको त हो नि तपाईंले, होइन ?
– यस विषयमा अध्यक्षसँग कुरा भएकै हो भनेर बुझदा हुन्छ । बादलजी प्रधानमन्त्री हुनै हुन्न भन्ने के छ र ? यसमा प्रस्ट भए हुन्छ- हाम्रो पार्टीका तर्फबाट अबको प्रधानमन्त्रीमा बादलजीकै नाम हामी प्रस्ताव गर्दै छौँ । पार्टीमा एकताभाव या सहमति बनाउन पनि यो काम जरुरी छ भन्ने हाम्रो ठहर हो ।
० चीनका प्रधानमन्त्रीले नेपाल भ्रमण स्थगित गर्नुको कारण के होला जस्तो लाग्छ नि तपाईंलाई ?
– सरकारले कूटनीतिक मर्यादा राख्न नसकेको कुरा चौतर्फी सुनिएको छ । सायद यस्तै कुराले भूमिका निर्वाह गरेको होला । ठोस कुरा के हो भन्ने त खुल्दै जाला ।
-ऋषि धमला
प्रतिक्रिया