भदौ २८ गतेबाट नारायणगढ-मुग्लिन सडक रातमा पनि खुल्ला

भदौ २८ गतेबाट नारायणगढ-मुग्लिन सडक रातमा पनि खुल्ला


दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोकिँदै आएको छ भने नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ देखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ ।

स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको बिहीबार यहाँ सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ । रातिको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै चाडपर्वलाई मध्यनजर गर्दै रातिको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताए ।

यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने बैठकले निर्णय गरेको छ । बैठकले कालोपत्रे गर्ने कार्य छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्नाका साथै सडक सुरक्षासम्बन्धी सन्देश प्रचारप्रसार गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रदेश नं ३ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक केशरीराज घिमिरे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापा, नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायी सङ्घका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

राजधानी काठमाडौँबाट दशै, तिहारसहितका चाडपर्वको समयमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तीन वर्षअघिको तथ्यांकअनुसार दशैँको बेला यो सडक हुँदै दैनिक १० हजार ६९१ वटासम्म सवारी साधन आवतजावत गरेका थिए । आगामी पुससम्म सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको हालसम्म ५४ प्रतिशतमात्रै काम भएको छ । रासस