कोरियाको हाइड्रोजन बम परिक्षण विरुद्ध नेपालमा प्रदर्शन

कोरियाको हाइड्रोजन बम परिक्षण विरुद्ध नेपालमा प्रदर्शन


उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरेको विरोधमा मानव अधिकारकर्मीले नेपालस्थित उत्तर कोरियाली दूतावास अगाडि विरोध प्रर्दशन गरेका छन् ।

उत्तर कोरियाली शासक किम जोङ उनको प्रत्यक्ष आदेशमा गरिएको हाइड्रोजन बम परीक्षको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया, जापानलगायतका मुलुकले भत्सर्ना गर्दै आएका छन् ।

मानव अधिकार तथा शान्ति समाजको अगुवाईमा बिहीबार ललितपुरको बखुण्डोलस्थित उत्तर कोरियाली दूतावास अगाडी १२ बजेदेखि एक घण्टा नेपालीले धर्ना दिएका हुन् ।

संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको विरोधकाबीच उत्तर कोरियाले पछिल्लो पटक भदौ १८ गते अत्यन्तै घातक मानिएको हाइड्रोजन बम परीक्षण गरेको थियो ।

मावन अधिकारकर्मी कृष्ण पहाडीले आफूहरु निर्दोष उत्तर कोरियाली जनताको पक्षमा रहेपनि त्यहाँका शासक किम र उनको आणविक परिक्षणबाट विश्वलाई धम्क्याउने सोचको सधै विरोधी भएको बताए ।

शान्ति समाजका अध्यक्ष डा. गंगाधर अधिकारीले कोरियाली शासकद्वारा निरन्तर परिक्षण गरिएको आणविक अस्त्र ध्वंस र विनासको पर्याय भएको र विश्वबाट यस्ता प्रकारका अस्त्रहरु नष्ट गरिनु पर्ने बताए ।

पहाडीले कुनै पनि आणविक हतियार परिक्षण गर्ने कार्य तत्काल रोक्न समेत उत्तर कोरियाली दूतावास मार्फत् अपिल गरेका छन् ।