पुरस्कारपछिको प्रतिक्रिया

पुरस्कारपछिको प्रतिक्रिया


– मणि लोहनी

गएको साता मुलुकका दुई ठूला साहित्यिक पुरस्कार घोषणा भए । दुवै पुरस्कार कविताले पाएपछि साहित्यवृत्तमा केही तरङ्ग फैलिएको छ । त्यसो त पछिल्ला केही वर्षदेखि निरन्तर आख्यान र आत्मवृत्तान्त पटकपटक पुरस्कृत हुने क्रम बढिरहेको बेला कविताले पुरस्कार पाउँदा तरङ्ग फैलिनु स्वाभाविक पनि हो ।

पछिल्लो समय समाजमा पहिचानको खोजी र मुद्दा जब्बर भएसँगै जातीय कुराहरू ज्यादा हुन थालेका छन् । यो राम्रो कि नराम्रो भन्ने विषयमा बहस भइरहेको छ । जातीय मुद्दाहरू लेखनमा उठ्नु त स्वाभाविक हो, तर लेखककै जातीय चर्चा र कित्ताकाट हुने क्रम पनि बढेको छ । यस विषयमा पछि फेरि लेखौँला । तर, आज म चर्चा गर्न चाहन्छु । साहित्यमा देखिएको विधागत लडाइँको ।

साहित्यमा देखिएको विधागत असहिष्णुणता अहिलेको सबभन्दा ठूलो समस्या हो । एक विधाका लेखकले अर्को विधाका लेखकलाई गर्ने दुव्र्यवहारले समग्र साहित्य बदनाम भएको छ । दुव्र्यवहार र छिः–छिः र दूरदूर यस्तै पुरस्कारहरू घोषणा भएका बेला ज्यादा देखिन्छ । विधागत विभेदले एक विधामा काम गरिरहेकाहरूले अर्को विधालाई हेर्ने दृष्टिकोण बदलिएको मात्र होइन, आक्रामक बन्दै गएको छ ।

यस्तो अवस्थामा कविताले पुरस्कार पाउनु चर्चायोग्य कुरा भयो नै । अझ आख्यानमा काम गरिरहेका धेरैलाई के लाग्छ भने कविता बिक्दैन । कविता बुझिँदैन । र, कविता धेरैले रुचाउँदैनन् । उनीहरूले बुझेका सबै कुरा सत्य हुन् । कविता बिक्दैन । कविता जो–कोहीले बुझ्दैन पनि । र, कविता रुचाउन विशिष्ट हैसियत र सामथ्र्य चाहिन्छ ।

तर, उनीहरूले ठानेझँै कविता कामै नलाग्नेचाहिँ होइन । सयौँ पृष्ठको आख्यानमा भनिएका कुराहरू कविताका एक–दुई पङ्क्तिमा अटाउन वा व्यक्त गर्न सकिन्छ । सत्य के हो भने एक दुइटा उपन्यास लेख्ने विषय त जो–कोहीको जीवनमा हुन्छ, तर समग्र समाज र मानिसको जीवनलाई व्यक्त गर्न सक्ने कविताको सामथ्र्यलाई पक्रन जोकोहीले कहाँ सक्नु ? यसो भनिरहँदा मैले उपन्यास वा आख्यानलाई कमजोर वा काम नलाग्ने भन्न खोजेको होइन । आख्यान ज्यादा पढिने विधा हो । यसको आफ्नै सौन्दर्य र विशेषता छ । हरेक विधाको आ–आफ्नै विशिष्टता हुन्छ । ती प्रत्येकको विशिष्टताको सम्मान गरिनु आवश्यक छ ।

के बिक्छ के बिक्दैन भन्ने कुरा ठूलो होइन । कुन कुराले मनमस्तिष्कमा झङ्कार दिन्छ, त्यो ठूलो कुरा हो । पाठकको मनमस्तिष्क छुनलाई साहित्य र सिर्जना भए पुग्छ । विधा भनेको गौण कुरा हो । यसो भनिरहँदा बजारमा बिकिरहेका साहित्यका विविध विधाले बेलाबेलामा पाठकलाई दिग्भ्रमित बनाउने गरेका छन् । पाठक मात्र किन, लेखक स्वयम् पनि बेलाबेलामा अल्मलिने गरेका छन् ।

अझ पछिल्लो समय लेखक–कविहरूमाथि प्रकाशकहरू हाबी हुन थालेका छन् । कतिसम्म भने लेखकले लेखिरहेको हुन्छ आत्मकथा, प्रकाशक उपन्यास बनाऊ भन्छ अनि लेखकले त्यसैलाई उपन्यासमा ढाल्छ । यो पटकपटक भएको घटना हो । लेखक–कविमाथि प्रकाशक हाबी हुँदा आख्यान, गैरआख्यान सबैको सौन्दर्य बजारकेन्द्रित हुन थालेका छन् । जसले चर्चा त पाउँछन्, तर पाठकको मन जित्न सक्दैनन् । पाठकको मन नजिती सिर्जनाको कालजयी कमजोर हुने कुरालाई नकार्न सकिँदैन ।

अहिले मदन पुरस्कार र पद्मश्री पुरस्कार धनश्याम कँडेलको धृतराष्ट्र काव्य र नवराज पराजुलीको सगरमाथाको गहिराइले पाएपछि आख्यानमा काम गर्छु भन्नेहरू मात्र होइन कविताकै कारण चिनिएका कविहरू पनि बौलाएका छन् ।

‘भानुभक्तीय प्रवृत्तिले पुरस्कार पायो ।’

‘मदन पुरस्कार दिने बेलामा निर्णायकहरू पनि धृतराष्ट्र नै भएका रहेछन् ।’

‘नबिक्ने विधालाई पुरस्कृत गरेर अन्य विधाको अपमान गरियो ।’

‘विशिष्ट र अब्बल कृतिलाई जानी–जानी छुटाइयो ।’

‘निर्णायकहरू पछिल्लो समयको प्रयोग र लेखनलाई पढ्दैनन् ।’

‘पुरस्कारले परम्पराको निरन्तरतालाई मात्र धानेको छ ।’

सामाजिक सञ्जालमा लेखक, पत्रकार र अन्य समाजका विविध क्षेत्रका मानिसका यी शब्दहरूले पुरस्कारप्रतिको चासो मात्र देखाउँदैन कविताप्रतिको उनीहरूको असहिष्णुतालाई पनि व्यक्त गर्छ । त्यसो त सामाजिक सञ्जालमा पुरस्कारको घोषणापछि केही राम्रा शब्दहरू पनि भेटिए ।
‘कविता भनेको साहित्यको जननी हो । यसले पुरस्कार पाउनु भनेको आमा पुरस्कृत हुनु हो ।’

‘दुवै पुरस्कारले कविताको शक्ति र सामथ्र्यलाई बुलन्द पारेको छ ।’

‘यी दुवै पुरस्कार नेपाली कवितामा काम गरिरहेकाहरूको सम्मानमा दिइएको छ ।’

हो, कविता साहित्यको अब्बल र विशिष्ट विधा हो । यसलाई बुझ्न भिन्न प्रयास अनिवार्य छ । जो–कोहीले सामान्य अवस्थामा कविता बुझ्न सक्दैन । कविता सबैले बुझ्ने हुनुपर्छ या कविता सबैमा पुग्न सक्नुपर्छ भन्ने तर्कहरू सुन्दा मीठो लागे पनि ती व्यावहारिक छैनन् । विश्वभरि नै कविताको सौन्दर्य बुझ्न भिन्न र विशिष्ट क्षमताको अपेक्षा गरिन्छ । त्यसैले पनि विश्वभरि नै कविताको बिक्री आख्यानका तुलनामा कम हुने गरेको छ ।

पुरस्कृत दुवै कृति धृतराष्ट्र र सगरमाथाको गहिराइ मानिसले भनेझौ कामै नलाग्ने कृतिचाहिँ होइनन् । कवि कँडेलको धृतराष्ट्रमा महाभारतका एक विशिष्ट पात्र धृतराष्ट्रको अहिलेसम्म नआएको कोणबाट उनको मनोदशालाई उल्लेख गरिएको छ । पुत्रमोहका कारण बदनाम पिताको भित्री मनोदशालाई कवि कँडेलले खण्डकाव्यमा उतारेका छन् । मसिनो र सामान्य साजसज्जा निक्लिएको यो पुस्तक कवितामा काम गरिरहेकाहरू र कविता मन पराउनेहरूले पढ्नैपर्छ । त्यस्तै, रङ्गमञ्चमा सक्रिय कवि नवराजको सगरमाथाको गहिराइ आकर्षक साजसज्जामा प्रकाशित कवितासङ्ग्रह हो । वाचनका कारण निकै चर्चा र प्रशंसा बटुलेका कवि पराजुलीले कवितामा फरक किसिमले लयात्मकता मात्र ल्याएका छैनन् कवितालाई आममानिसले भोगेका, अनुभूत गरेका सन्दर्भ र प्रसङ्गहरूलाई सरल भाषामा बोकेका छन् । उनले कवितालाई पर्फर्मेन्सका रूपमा अघि बढाए । पराजुलीले ‘कविता अब वाचन पनि हो है’ भन्ने छाप छाडेका छन् । यो कृतिको अर्को सुन्दर पक्ष भनेको युवायुवतीलाई कविताप्रति थप आकर्षित बनाएको छ ।

पछिल्ला केही वर्षमा मदन पुरस्कार र पद्मश्री आख्यान र स्मरणहरूका कृतिलाई मात्र दिइरहँदा केही लेखक कविलाई कविता होइन उपन्यास लेख्नुपर्छ भन्ने परिरहेको थियो । यस्तो अवस्थामा कविता पुरस्कृत हुँदा कवितामै प्रतिबद्ध भएर लाग्ने कविहरूको मनोबल बढेको छ । विरोधका लागि विरोध गर्नुभन्दा पनि सकारात्मक सोचका साथ सिर्जनामा जुट्नु सबैका लागि श्रेयष्कर छ ।