‘लिफ्टिङ’ गरिएको पानी पिएर दशैँ मान्ने आश

‘लिफ्टिङ’ गरिएको पानी पिएर दशैँ मान्ने आश


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

खानेपानीको समस्या झेलिरहेको जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित सानोसिरुवारीमा पौने दुई करोड रुपैयाँको लागतमा सञ्चालन गरिएको खानेपानी योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आसपास खानेपानीको मूलको अभाव तथा भएका मूल पनि भूकम्पबाट सुकेपछि गाउँदेखि दुई किलोमिटर तल रहेको मजुवा खोलाबाट लिफ्टिङद्वारा पानी तानेर खानेपानी योजना सञ्चालन गरिन लागिएको हो ।

स्थानीयवासीको सक्रियतामा वल्र्ड भिजन इन्टरनेशनल र जनहित ग्रामीण सेवा समितिको एक करोड ६२ लाख ४९ हजारको लागतमा आयोजना सुरु गरिएको थियो । ‘मजुवा बगर कोटडाँडा लिफ्टिङ खानेपानी योजना’ स्वीकृत भएलगत्तै तीव्र रुपमा निर्माण कार्य सुरु गरेपछि आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । विद्युत शक्तिको नियमितता नभएकाले पानी तान्न सोलार जडान गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले ४० लाख अनुदान प्रदान गरेपछि झनै सहज भएको स्थानीयवासी बताउँछन् । केन्द्रको सहयोगमा ४८ वटा प्यानल राखिएको छ ।

योजनाका लागि मुहानमा फिल्टरसहितको ५३ घनमिटर, बीचमा १० घनमिटर र अन्तिम बिन्दुमा रहेको कोटडाँडामा ८० घनमिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिएको छ । मुहानदेखि ३ सय मिटरको ठाडो दुरी रहेको कोटडाँडासम्म एक हजार ६०० मिटर पाइपद्वारा पानी लगिने छ । जलाशयबाट ३० हजार ७०० मिटर पाइपमार्फत दुई विद्यालय र २८० घरपरिवारका एक हजार ७ सय ७२ स्थानीय लाभान्वित हुने वडा अध्यक्ष उमाप्रसाद दुलालले बताए । ‘वडावासीको सक्रियतामा शुद्ध खानेपानी वितरण गरिने योजनाअनुसार असोजको पहिलो हप्ता सम्ममा सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘योजना सम्पन्न भएपछि पानीको समस्या झेलिरहेका गाउँवासीको धारामा चौबिसै घण्टा पानी खस्छ ।’

यो गाउँवासी अहिले एक गाग्री पानीका लागि घण्टौँ समय बिताउन बाध्य छन् । वर्षौंदेखिको खानेपानीको समस्या निकट भविष्यमै समाधान हुने आशा राखेका गाउँलेले पाइप लाइन खन्न श्रमदानमा जुटेका हुन् । योजना सम्पन्न भएपछि उपभोक्ताले निजी धारा मार्फत मिटर प्रणालीबाट खानेपानी उपभोग गर्न पाउनेछन् । खानेपानी योजनाको लागि मुल पाइपलाईन खन्ने, ट्याङ्की निर्माण गर्नेलगायतको काम सम्पन्न भईसकेको र सोलार र पानी तान्ने पम्प जडान गर्ने काम मात्र बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।

सामाजिक संस्था जनहित ग्रामीण सेवा समितिले वर्ष दिनअघि सम्भाव्यता अध्ययन गरि सर्भे गरेको थियो । ‘यहाँका बासिन्दा खानेपानीको चरम संकट झेलिरहेको देखेपछि हामीले सहज आपुर्ति गराउन मुल खोजेका थियौं,’ समितिका कार्यक्रम संयोजक रोहित शर्माले भने, ‘गाउँभन्दा दुई किलोमिटर मुनी रहेको खोल्सामा मूल भेटेपछि लिफ्टिङ प्रणालीमार्फत काम सुरु गरेका हौ ।’ उनले यो दशैंमा गाउँवासीले लिफ्टिङको पानी पिउन पाउने दाबी गरे ।