सुरुङमार्ग योजना खारेज हुँदै : २७ करोड खर्च हुँदा काम एक मिटर पनि भएन 

सुरुङमार्ग योजना खारेज हुँदै : २७ करोड खर्च हुँदा काम एक मिटर पनि भएन 


राष्ट्रिय गौरवका महत्वकांक्षी योजनाअन्तरगत मानिएका काठमाडौं-हेटौंडा सुरुङमार्ग योजना खारेज हुने भएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले यो योजना पुरा गर्ने जिम्मा लिएको थियो । यसमा रोचक कुरा के भने अहिलेसम्म एक मिटरसम्मको काम भएको छैन भने रु २७ करोड २६ लाख खर्च भइसकेको छ ।

यो कम्पनीले सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । त्यसअनुसार आयोजनाको काम २०७१ बाट सुरु हुनु पर्ने हो तर, अहिलेसम्म यसले सुरुङ निर्माणका लागि एउटा ढुङ्गा पनि सारेका छैनन् ।

भौतिक पुर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले अब यो योजना खारेज हुने बताए । उनले भने, यो कम्पनीले अहिलेसम्म खासै कुनै कार्य गरेको देखिएन निर्माण नगर्ने तर, जनतालाई आश मात्रै देखाउने काम गर्न पाइँदैन, तसर्थ अब यो योजना नविकरण हुने छैन, खारेज नै हुने छ ।’ संवाददताहरुसंगको कुराकानीमा उनले भने, ‘सिंगो मन्त्रिपरिषदबाट हामि सैद्धान्तिक रुपमा यो निर्णय गरिसकेका छौं, अब खारेजी पक्रिया सुरु हुने छ ।’

पछिल्लोपटक गत फागुनमा म्याद सकिएपछि कम्पनीले थप साढे ३ वर्ष माग गरेको छ । पूर्वाधार विकास कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो । लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिने बताएको थियो । तर, निर्माण कार्य सक्नुपर्ने म्यादसम्म पनि आर्थिक प्रतिवेदन बुझाइएको छैन ।

मुख्य लगानी जुटाउने पाटोमै समस्या भएपछि कम्पनीका अन्य कामहरु पनि गौण देखिए । यसले डिपिआर भने बुझाइसकेको छ, जसका आधारमा नै निर्माणको स्वीकृति पाएको हो । यो आयोजना ३७ अर्बमा बन्ने आँकलन गरिएको थियो । म्याद थप गर्दै गत फागुनमा मन्त्रालयमा बुझाएको रिपोर्टमा भने ५० अर्ब हाराहारीमा लागत लाग्ने उल्लेख छ ।

पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली तथा स्वदेशी उद्योगपतिहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यस अनुसार जनताबाट ३१ करोड ७६ लाख रकम जुटाएको थियो ।

तर, जनताको पैसा के कसरी फिर्ता गराउने भन्ने बारेमा भने सरकारसँग कुनै योजना छैन । मन्त्री बलायरले रकम फिर्ता गराउने सन्दर्भमा छलफल हुन बाँकी रहेको बताए । उनले भने,  जनताबाट उठाएको रकम पनि कर्मचारीले घुमघाममै सकाएका छन् । बैंक ग्यारेन्टीका लागि राखेको ३ करोड बाहेक अन्य रकम लगभग खर्च भइसकेको छ ।

काठमाडौं-हेटौंडा सडकखण्ड २२७ किलोमिटर छ । यो सुरुङमार्ग निर्माण भएमा एक घन्टामै काठमाडौंबाट हेटौंडा पुगिने पूर्वाधार विकास कम्पनीको दाबी छ । तर, अहिले सरकार आफैंले काठमाडौं-निजगढ फास्टट्रयाक निर्माण सुरु गरिसकेको छ । द्रुतमार्ग बनेमा काठमाडौं-हेटौंडा सुरुङमार्ग आवश्यक नपर्ने विज्ञहरु बताउँछन् ।

तस्विर : गुगल