प्रदेश नम्बर २ मा ५ दिन विदा दिइने निर्णय, १ अर्ब ५ करोड अनुदान स्वीकार

प्रदेश नम्बर २ मा ५ दिन विदा दिइने निर्णय, १ अर्ब ५ करोड अनुदान स्वीकार


सरकारले स्थानीय तह तेस्रो चरणको चुनावको अवसरमा दुई नम्बर प्रदेशमा पाँच दिने सार्वजनिक विदा दिने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषदको आजको बैठकले संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री देउवाको भ्रमणलाई स्वीकृति दिएको जानकारी पनि मन्त्री बस्नेतले दिएका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदाको निर्णय गरेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।  राष्ट्रपति र उपराष्ट्रपतिका लागि व्यवस्था गर्न बनेको विधेयकलाई संसदमा पेस गर्ने निर्णय पनि सरकारले गरेको छ।

बैठकले विश्व बैंकले उपलब्ध गराउने १ अर्ब ५ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । विश्व बैंकले सो रकम दाताको संयुक्त कोषमार्फत उपलब्ध गराउन लागेको हो ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई ४ वर्षे राहदानी दिने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ। यसअघि त्यस्ता व्यक्तिहरुले दुई वर्षको राहदानी पाउँदै आएका थिए ।

त्यस्तै, बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले अधिकारसम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नरेन्द्रराज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ।