‘जितिया’ लाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्न माग

‘जितिया’ लाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्न माग


थारु समुदायका महिलाहरुले जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्न माग गरेका छन् । थारु महिला सभा र थारु महिला समाजले संयुक्त रुपमा सोमबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।

पत्रकार सम्‍मेलनमा थारु महिला समाजकी अध्यक्ष एवं थारु जितिया महोत्सव २०७४ की संयोजक गीता चौधरीले गुनासो गर्दै भनिन्, ‘तराईका आदिवासी थारु महिलाहरुले जितिया महोत्सव वर्षौ अगाडिदेखि मनाउँदै आएका छन् । हाम्रो देश बहुभाषी, बहुसांस्कृतिक भए पनि सरकारले हाम्रो पर्व र संसरकारलाई महत्वको साथ हेरेको छैन ।’

पत्रकार सम्‍मेलनमा थारु महिला सभाकी अध्यक्ष तारा चौधरीले जितिया पर्व मनाउन थारु जितियाका गीत, नृत्य, पूजापाठ गर्ने कार्यक्रम तय भएको जानकारी गराइन् । तर महोत्सवका लागि सरकारले तीनलाख रुपियाँ खर्च सहयोग उपलब्ध नगराएको भन्दै आदिवासीको पर्वको बेवास्ता गरेको आरोप लगाइन् ।

यस्तै थारु युवा सभाका केन्द्रीय अध्‍यक्ष कानू लाल चौधरीले थारुहरुको हक अधिकार र पहिचानको मुद्धालाई जितिया मार्फत झल्काउदै प्रदेश नम्बर २ को स्थानीय चुनावमा समेत आफ्नो प्रतिनिधिलाई छनोट मत दिएर गर्न आग्रह गरे।

उनले भने,’ जितियासँगै प्रदेश नम्बर २ को स्थानीय चुनाव मुखैमा आइसकेकोछ। सबैले थारु प्रतिनिधिलाई छान्‍नु जरुरी छ।’ यस वर्ष जितिया पर्वलाई उपत्यकासहित थारु बहुल २२ जिल्लामा आन्दोलनकोरुपमा मनाउने तय भएको थारु कल्याणकारिणी सभाले जनाएको छ ।

थारु चेलीबेटीको प्रमुख चाडमध्ये रहेको जितियामा थारु चेलीले सूर्य भगवानको निराहर व्रत बसेर मनाउने गर्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भदौ २८ गते मनाउने महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।