पानी अभावले रोकियो पुनर्निर्माण

पानी अभावले रोकियो पुनर्निर्माण


त्रिपुरासुन्दरी गाउँपालिकास्थित टेकानपुरवासीले अझै घर बनाउन सुरु गरेका छैनन् । पहिलो किस्ता पाए पनि पानी अभावकै कारण उनीहरुले आवास निर्माण सुरु गर्न नसकेका हुन् ।

गाउँनजिक पानीको मुहान नभएकै कारण यो गाउँवासीले सास्ती भोग्नुपरेको छ । खानेपानीका लागि पनि घण्टौं बिताउनुपर्ने समस्या झेलेका टेकानपुरवासीले गाउँमा सहज पानीको सुविधा नहुँदा घर निर्माण गर्न सकेका छैनन् । भूकम्पपछि जस्ताको अस्थायी टहरामा जीवन गुजारिरहेका उनीहरु बैकल्पिक पानीको स्रोत नहुँदा टहरामै खुम्चिन बाध्य बनेका छन् ।

‘हामीलाई पानीको निकै समस्या हुँदा घर बनाउन पाएका छैनौं,’ स्थानीय मिना पौडेलले भनिन्, ‘नजिकै पानीको मुहान छैन, टाढाबाट बोकेर सम्भव छैन ।’ उनले पानी नभएकै कारण गाउँमा घरको काम कसैले पनि नथालेको बताइन् । भूकम्पअघि यहाँका बासिन्दा जेठलबाट ल्याएको पानी प्रयोग गर्थे । टाढाबाट ल्याएको पानीको पाइपलाईन भूकम्पले ध्वस्त बनाएपछि टेकानपुरवासीले पानीको समस्या झेलेका हुन् ।

खानेपानीकै समस्या भएको ठाउँमा घर बनाउने सपना मात्रै भएको स्थानीय बताउँछन् । पानीको समस्या हुँदा गाउँवासीले घर निर्माणका कुनै पनि कार्य अगाडि बढाएका छैनन् । ‘पानी भएको भए बेलैमा घर बनाएर राम्रैसँग बसिन्थ्यो,’ स्थानीय नेत्रकुमारी बोहराले भनिन्, ‘टहराको बसाईं निकै कष्टकर छ ।’ उनले एकै ठाउँमा खाना बनाउने र सुत्ने गर्दा सकस भइरहेको बताइन् ।

भूकम्पले ध्वस्त बनाएको स्थानमा पुनर्निर्माण असम्भवजस्तै छ । गाउँमा रहेका स–साना मुहान पनि भूकम्पमा सुकेकै कारण गाउँवासीले थप समस्या झेल्नुपरेको हो । गाउँमाथि कुनै पनि स्थानमा पानीको मुहान छैन । आसपासमा समेत नहुँदा यो समस्या आइपरेको हो । ‘तल खोल्साबाट पानी ल्याउन पनि सम्भव छैन,’ एक स्थानीयले भने, ‘आर्थिक रुपले धेरै भार पर्ने हुँदा यो असम्भव भएको हो ।’ उनकाअनुसार गाउँवासीले सामाजिक संस्थालाई अनुरोध गरे पनि वास्ता नगरेको बताए । संघ-संस्थाले पीडितका लागि अत्यावश्यक नहेर्ने गरेको उनको आरोपसमेत छ ।

गाउँवासीलाई चरम पानीको समस्या परेपछि स्थानीय निकायले केही सम्बोधन भने गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले पहिलो चरणमा टेकानपुरमा पानी ल्याउनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख भूपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘निकै समस्या छ, जेठलबाट ल्याएको पानीलाई भूकम्पले ध्वस्ता पारेयता समस्या झनै जटिल बनेको हो,’ प्रमुख श्रेष्ठले भने, ‘हामी जतिसक्दो चाँडो समस्या समाधानका लागि प्रयासरत छौँ ।’ मुहान टाढा भएको र त्यसका लागि निकै खर्चिलो हुने उनले बताए ।

गाउँमा पुनर्निमाण सुरु नभएको प्रमुखले स्वीकारे । ‘प्रमुख समस्या नै पानी हो, त्यसैले आवास निर्माण सुरु भएकै छैन,’ उनले भने, ‘खानेपानीको समस्या भइरहेको ठाउँमा घर बनाउन कतैबाट पनि पर्याप्त पानी जुटाउन सकिदैंन ।’ उनले नयाँ मुहानका लागि अध्ययन गरिनुपर्ने बताए । गाउँपालिकाले यसको समाधानका लागि सम्भाव्यता अध्ययन गरि पहिचान गर्नतर्फ पहल सुरु गरिसकेको उनको भनाई छ ।
– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)