गौशालामा ग्यास सिलिन्डर विस्फोट

गौशालामा ग्यास सिलिन्डर विस्फोट


महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । मनोनयन दर्ताको एक दिन अगाडि पनि रातिको समयमा बर्दिबास नगरपालिका परिसर बाहिर टिफिनमा राखिएको विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो ।हालसम्म कुनै समूह वा व्यक्तिले दुवै घटनाको जिम्मा नलिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस