अकुत आर्जनको अभियोगमा अख्तियारद्वारा महेन्द्रलालमाथि मुद्दा

अकुत आर्जनको अभियोगमा अख्तियारद्वारा महेन्द्रलालमाथि मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ विरुद्ध भ्रष्टचार गरेको आरोपमा बिशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठले सो पदमा रहदाँ २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरी गैर कानूनीरुपबाट सम्पत्ति आर्जन गरेको र मानसिव कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानबाट देखिन आएकाले भन्दै हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिएका छन् ।
प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियर पदमा २०३६ चैत पाँच गते नियुक्ति भई २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म भएको आय र पेश गरेको सम्पत्ति विवरणमा मेल नखाएपछि उनीमाथी अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारका अनुसार श्रेष्ठले आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्वन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं विश्लेषण गरी हेर्दा निजले आय आर्जन गरेको वैध आयको तुलनामा दुई करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँको सम्पत्तिको स्रोत नखुलेको हो ।

बिगो अनुसारको जरिवाना र कैद सजाय माग गर्दै अख्तियारले भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्तिहरु निज र निजकी श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्रलाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा बदनियत साथ राखेको तथा लुकाए छिपाएको पुष्टी हुन आएकाले जफत गर्ने मागदावी समेत गरेको छ ।