मुखिया समुदायका तीन युवा पेस्तोलसहित पक्राउ

मुखिया समुदायका तीन युवा पेस्तोलसहित पक्राउ


सप्तरी प्रहरीले गएराति ११ बजे पेस्तोलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ जिरियाहाटबाट पेस्तोलसहित २४ वर्षीय इश्वर मुखियासहित अन्य दुई युवालाई शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ परेका अन्य दुईमा १८ वर्षका महेश मुखिया र २५ वर्षका उपेन्द्र मुखिया छन् । उनीहरू उल्लेखित गाउँपालिकाकै वडा नं. ३ निवासी हुन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका मुखिया (मलाहा) समुदायको बाहुल्यता रहेको गाउँ हो । आगामी असोज २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सो गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट मुनिलाल मुखियाले उम्मेदवारी दिएका छन् ।

पार्टीगत आधारका अलावा निर्वाचनमा मत दिने सवालमा जातीयतालाई पनि तराई–मधेसमा निकै प्राथमिकता दिने गरेको पाइन्छ । निर्वाचनको सङ्घारमा रातको अवस्थामा पेस्तोलसहित भेटिएका युवाहरू निर्वाचन–सन्दर्भसँग जोडिएका छन् या अन्य पेसामा संलग्न रहेका हुन् भनी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।