धेरैलाई मन्त्री पुगेको छैन, मन्त्रिमण्डल अझै विस्तार हुन्छ : प्रधानमन्त्री

धेरैलाई मन्त्री पुगेको छैन, मन्त्रिमण्डल अझै विस्तार हुन्छ : प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल अझै विस्तार हुन सक्ने बताएका छन् । देउवाले इतिहासकै ५४ सदस्यीय मन्त्रिमण्डल बनाएको भनि आलोचना भइरहेको बेला यस्तो बताएका छन् ।

चुनावी कार्यक्रमका लागि दुई नम्बर प्रदेश पुगेका उनले मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘यति गर्दा पनि अझै धेरैलाई मन्त्री पुगेको छैन, आवश्यकता परे विस्तार गर्नुपर्ने अवस्था छ ।’

देउवाले निर्वाचन आयोगले मन्त्रिमण्डल विस्तार निर्वाचन आचारसंहिताविपरीत भएको बताएपनि विस्तार गरिसकेकाले अब यो निर्णय फिर्ता हुने हुन नसक्ने बताए ।

देउवाले सोमबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेलगत्तै मन्त्रिमण्डल ५४ सदस्यीय बनेको थियो ।

अर्को प्रसंगमा देउवाले आयल निगममा भएको भ्रष्टाचारमा संलग्न भनिएकाहरुमाथि छानबिन भइरहेको बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव संसद्मा फेल भए पनि अब चुनावपछि फेरि प्रस्तुत गरिने उल्लेख गरे ।

सरकारले मधेसी जनताको भावना कदर गर्ने जनाउँदै उनले संविधान लचिलो दस्तावेज भएकाले यसमा जहिले पनि संशोधन गर्न सकिने बताए ।