केही महिनाभित्रै माओवादी सबैभन्दा ठूलो पार्टी बन्छ : प्रचण्ड

केही महिनाभित्रै माओवादी सबैभन्दा ठूलो पार्टी बन्छ : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँदो केही महिनाभित्र माओवादी पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

माओवादी आन्दोलनमा आएको फुटलाई जनताले इन्कार गरेको भन्दै अध्यक्ष प्रचण्डले फुटले आन्दोलनलाई कमजोर बनाएको बताए । ‘नेपाली जनताले फुट र विभाजनलाई इन्कार गरिसके’, उनले भने, ‘हाम्रा सपनाहरु फुटमा होइन एकतामा साकार हुन्छन् ।’

मंगलबार राष्ट्रिय नाजघर जमलमा भएको अग्रगामी संघीय मोर्चासँगको एकता र ध्रुवीकरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उत्पीडित नेपाली जनताका सपनाहरु माओवादीको एकतामा मात्रै सम्भव भएको बताए ।

माओवादी आन्दोलन एकता र ध्रुवीकरणको चरणमा प्रवेश गरेको भन्दै उनले माओवादी पार्टी र आन्दोलनलाई सबैभन्दा ठूलो पार्टी र आन्दोलन बनाउने दावी गरे ।

उनले अझै पनि केही पार्टी र तिनका नेताहरु एकतामा नआएको भन्दै उनीहरु निद्रामै रहेको बताए। ‘जो जहाँबाट ब्युझिन्छ, त्यहीँबाट हिड्न शुरु गर्ने हो, एकतामा आउने तपाईंहरु ब्युझिनुभएको छ’, उनले भने, ‘ अझैपनि केही साथीहरु निन्द्रामै हुनुहुन्छ।

ब्युझिएपछी थाहा पाउनुहुन्छ, गन्तव्य कहाँ रहेछ, टार्गेट कहाँ रहेछ र हान्नुपर्ने कसलाई रहेछ, बचाउनुपर्ने कसलाई रहेछ भनेर।’

अध्यक्ष प्रचण्डले मधेसी जनताले माओवादी आन्दोलन कमजोर बनेका कारण अधिकारबाट वञ्चित भएको दावी गरेका छन् ।

मधेस भ्रमणका क्रममा मधेसी जनताले आफूलाई आत्मसम्मान दिलाईदिन आग्रह गरेको भन्दै उनले भने, मधेसमा मैले लाखौंको बीचमा भनेको छु उत्पीडित क्षेत्र, समुदाय, महिला, मुस्लिम र मधेसीहरुले आत्मसम्मानको अनुभूति नगरेसम्म म विश्राम लिनेछैन ।’

उनले माओवादी नेतृत्व र आन्दोलन कमजोर हुनु भनेको सिंगो परिवर्तनको आन्दोलन कमजोर हुने भन्दै माओवादी आन्दोलनलाई सशक्त बनाउनका लागि ध्रुवीकरण र एकताको अभियान चलाएको बताए ।

संघीय समाजवादी फाेरमका केन्द्रीय सचिवालय सदस्य नवीन राेका मगरसहित संघीय फाेरम, वैद्य माअाेवादी, विप्लव माअाेवादी, राप्रपा लगायतका पार्टी परित्याग गरी २००० जना नेता-कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा संघीय समाजवादी फाेरमका सचिवालय सदस्य नवीन राेकाकाे नेतृत्वमा १५०० जना, नेकपाका नेताहरु माेहन न्यौपाने र मेखबहादुर बिक लगायतका नेताहरुकाे नेतृत्वमा ५ दर्जन र वैद्य माअाेवादीका नेता थमानसिंह तामाङकाे नेतृत्वमा ३०० नेता कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गरेका हुन् ।