यसो भन्दै प्रहरी संगठनबाट बिदा लिए नवराजले

यसो भन्दै प्रहरी संगठनबाट बिदा लिए नवराजले


न्यायप्राप्तिको लागि विगत सात महिनादेखि आफूले लडेको कानुनी लडाइँको अन्त्य भएको उदघोषसहित नेपाल प्रहरीका चर्चित प्रहरी अधिकारी (डिआइजी) नवराज सिलवालले प्रहरी संगठन त्याग गरेको जनाएका छन् । आफूले व्यवसायिक हकहितका लागि न्यायको लडाइँ लडेको तर यो लडाइँलाई विषयान्तर गरी अर्कै रङ दिइएको व्यहोरासहितको एक लामो प्रेस विज्ञप्ति सार्वजनिक गर्दै डिआइजी सिलवालले मंगलबार संगठनबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

आफू बरियतामा पहिलो नम्बरमा रहेकोले प्रहरी महानिरीक्षकमा बढुवा पाउनुपर्ने मागसहितको रिट निवेदन उनले सर्वोच्च अदालतमा दायर गरेकोमा पटक–पटक मुद्दाको पेशी सर्दै अदालतले अन्ततः रिट खारेज गरेपछि भावुक हुँदै सिलवालले विज्ञप्तिमार्फत आफ्ना भावना सार्वजनिक गरेका हुन् ।

प्रहरीमाथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिको मुलुकमा हाबी रहेसम्म कानुनी राज्य स्थापना हुन नसक्ने डिआइजी सिलवालले आफ्नो विज्ञप्तिमा खुलाएका छन् । प्रहरी संगठनविरुद्ध विभिन्न किसिमबाट हस्तक्षेप हुने गरेको र त्यस प्रवृत्तिविरुद्ध लड्ने क्रममा आफू त्यसैको शिकार बनेको खुलासा गर्दै उनले अगाडि भनेका छन्– ‘झट्ट हेर्दा इतिहासको कालखण्डमा सत्यको पराजय भएको जस्तो देखिए तापनि इतिहासले त्यसको मूल्याङ्कन गर्ने नै हुँदा म संगठनका साथीहरूलाई निरास नभई मुलुकप्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु र यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नै छोडिदिन उचित ठान्दछु ।’

आफूलाई हराउन लागिपरेकाहरूले पनि जितको अनुभूति गर्न नसकेको दाबी गर्दै उनले आफू अन्यायमा परे पनि संयमित रहेको प्रस्ट्याएका छन् । आफू प्रहरी संगठनको महानिरीक्षक हुन नसके पनि समस्त देशवासी र समस्त प्रहरीले देखाएको सदभाव र मायाले त्यो भन्दा उच्च कोटीमा रहेको अनुभूति भएको उनको भनाई छ । भविष्यका दिनमा अन्यायमा परेका नागरिकको सशक्त आवाज बन्ने कोसिमा लागिरहने जानकारी दिँदै विज्ञप्तिको अन्त्यमा उनले आजै (भदौ २७ मंगलबार)का मितिदेखि प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् ।

हेर्नुहोस् नवराज सिलवालद्वारा जारी विज्ञप्ति जस्ताको तस्तै–