मेगा बैंकका कर्मचारी स्याफ्रुबेँसीमा मृत फेला

मेगा बैंकका कर्मचारी स्याफ्रुबेँसीमा मृत फेला


मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारी आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । घटना हिजो बुधबारको हो ।

काठमाडौंको पुरानोबानेश्वर घर भएका ३६ वर्षीय सुरभ अर्याल केही समयदेखि जागिरको सिलसिलामा रसुवास्थित मेगा बैंकको शाखामा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार सुरभ आफ्नै डेरामा मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे लगिएको छ ।

विहान अबेरसम्म पनि कोठाको ढोका बन्द अवस्थामा रहेपछि अर्यालको अवस्थाबारे चासो राखिएको थियो । त्यसपछि उनी सुतिरहेकै अवस्थामा मृत फेलापरेका थिए ।

अल्पायुका अर्यालको मृत्यु स्वास्थ्य समस्याका कारण भएको हो या अन्य कारण भन्ने खुलासा भइसकेको छैन । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।