थपिएनन् नयाँ बस, दैनिक ५-६ हजार यातायातले सेवा दिने

थपिएनन् नयाँ बस, दैनिक ५-६ हजार यातायातले सेवा दिने


दशैँलाई लक्षित गरेर सरकारले यही भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरेपछि उपत्यकाबाट टिकट काउन्टरहरुमा उपत्यकाबाट बाहिरिने यात्रुको भीड बढेको छ । यस वर्ष मात्र दशैं तिहार मान्न लगभग २५ लाख नागरिक काठमाडौंबाट बाहिरिने यातायात व्यवसायीहरुले अनुमान लगाएका छन् । यीमध्ये पाँच लाखजति यात्रु निजी साधनबाट बाहिरिने र बाँकीले सार्वजनिक यातायात प्रयोग गर्ने आँकलन उनीहरुको छ ।

यस अनुमानका आधारमा नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक ५ देखि ६ हजार सार्वजनिक यातायातले यात्रुलाई गन्तव्यसम्म पुऱ्याउने गरी सम्बन्धित निकायले व्यवस्था मिलाएको बुझिएको छ । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थप गर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप नभएको बताइएको छ भने दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई उद्धृत गर्दै राससले जनाएअनुसार बैंकको महँगो ब्याज र बाटोको दूरवस्थाका कारण व्यवसायीले नयाँ बस थप गर्न नसकेका हुन् । महासंघले गत वर्ष मात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो ।

यातायात व्यवस्था विभागले पनि यो वर्ष मात्र २०÷२१ लाख मानिस दशैँ मनाउनका लागि घर जाने अनुमान गरेको छ । हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकीलगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गर्दछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दशैँको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दशैँको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताउँछन् ।