द्वन्द्व निम्त्याएर दुनो सोझ्याएको आरोप

द्वन्द्व निम्त्याएर दुनो सोझ्याएको आरोप


वीरगञ्ज । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेशका पहिचान, पहुँच र प्रतिनिधित्व नेपाली काग्रेसले मात्र दिन सक्ने बताएका छन् । वीरगञ्ज महानगरपालिकाको वडा नं १० मा आयोजित चुनावी सभामा कांग्रेस महामन्त्री डा. कोइरालाले भने– ‘माओवादी र मधेशी दलहरू नेपाली कांग्रेसको पुच्छर समाएर मात्र बैतरणी पार गर्न सक्छन्, एक्लै पार गर्ने हैसियत छैन ।’ एमालेप्रति आक्रोस पोख्दै उनले भने– ‘एमाले मधेसमा द्वन्द्व निम्त्याएर आफ्नो दुनो सोझ्याउन खोजिरहेको छ ।’

मूलतः उनी मधेसकेन्द्रित दलमाथि नै खनिए । उनले थपे– ‘मधेशी दलका नेताहरू सोझा जनतालाई आन्दोलनमा होमेर आफुहरू काठमाडौंमा आराम फर्माउँछन् । मधेसका जनताले यिनका चरित्र बुुझिसकेका छन् ।’

नेपालको राजनीतिक निकास र पूर्वाधार तथा आर्थिक विकास लोकतन्त्रमा मात्र सम्भव भएको र नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रिया जोगाउन नसक्ने पनि उनले दाबी गरे ।

कोणसभामा नेपाली काग्रेसको तर्फबाट वीरगंज महानगरपालिकाका उम्मेदवार अजयकुमार द्विवेदीले काङ्ग्रेस चुनावमा कम्मर कसेर लागेपछि सबै पछि हट्न थालेको दाबी गरे । उनले पुरानो शैलीले महानगरको विकास हुन सक्दैन, नयाँ शैली र प्रविधिका साथ वीरगंज महानगरको विकास गर्नु छ र त्यो भिजन नेपाली काग्रेससँग मात्र रहेको तर्क पनि गरे । आमसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, सांसद अनिल रुँगटालगायतले पनि मन्तव्य दिएका थिए ।