झाडी सफाई नहुँदा बढ्यो बाघ–आतङ्क

झाडी सफाई नहुँदा बढ्यो बाघ–आतङ्क


– मुक्तिनाथ भुसाल

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क एवम् वरपरका वासिन्दा बाघको आक्रमण हुने भयले आंतकित बनेका छन् । लामो समयदेखि एकपछि अर्को गर्दै आफ्ना कलिला सन्तान बाघकै कारण गुमाउनु परेको तर यस्तो कहालीलाग्दो अवस्थाबाट छुटकारा पाउने कुनै उपाय नसुझेको परिवेशले स्थानीय वासिन्दालाई त्रासमा पारेको हो ।

यही भदौ १७ गते पनि सन्धिखर्क नगरपालिका वडा नम्वर ८ निवासी वर्ष ८ की अस्मिता खनाल बाघको आक्रमणबाट गम्भीर घाईते बनेको घटना सेलाउन नपाउँदै गत मंगलबार सोही वडानिवासी वर्ष ४ का मनिष केसीले ज्यान गुमाउनु परेको छ ।

यदि भदौ १७ गतेको घटनालाई यहाँका जनप्रतिनिधि तथा प्रशासनले गम्भीरतापूर्वक ग्रहण गरि समस्या समधानतर्फ कदम चालेको भए मनिषाले अकालमा ज्यान गुमाउनुपर्ने थिएन भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

सन्धिखर्क सदरमुकामवरपर बाघको आक्रमणबाट मुत्यु वा घाइते भएका यी घटना मात्र नभई पछिल्ला चार वर्षमा पाँच जनाले ज्यान गुमाएका र एक गम्भीर घाइते बनेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रदिप कुमार डिसीले जनाएअनुसार आ.व. ०७०÷७१ मा साविक नुवाकोट गाविस–४ निवासी वर्ष ३ का नाराणबहादुर नेपाली र किमडाँडा १ निवासी एक वर्ष आठ महिनाका युवराज तिमिल्सेना बाघकै आक्रमणका कारण परमधाम गएका थिए ।

यसैगरी, सोही वर्षमा सन्धिखर्क नगरपालिका–९ निवासी वर्ष २ का जीवन सुनार बाघको आक्रमणवाट सख्त घाइते बनेका थिए भने आ.व. ०७१-७२ मा सन्धिखर्क नगरपालिका–१० निवासी पाँच वर्षी सुजता विकले पनि बाघको आक्रमणकै कारण घरपरिवारलाई शुन्यमा टोलाउने अवस्थामा पुर्याएकी थिइन् । सन्धिखर्क नगरपालिका वडा नम्वर ९ निवासी वर्ष ५ की ललिता विक र वर्ष ९ की अस्मीता कुमाललाई पनि निर्दयी बाघले आफ्ना मायालु अभिभावकको काखबाट सदाका लागि वियोग गराएको थियो ।

बाघको आक्रमणको पीडा एकातिर छ भने अर्कोतिर यहाँ भएका सामुदायिक वनहरूमा झाडी सफा गराउने कार्यमा जिल्ला वन कार्यालय अर्घाखाँची रमिते बनिरहेको अवस्था छ, जसकारण दिनप्रतिदिन अनेकौँ समस्या उत्पन्न भएका छन् । घटना घटेमा खोजतलास गर्नेदेखि हिउँदमा आगजनीको समस्या पनि जटिल रहेको छ । गोरुसिङेदेखि सन्धिखर्क आउने क्रममा साँझको समय घम्ती काटेर बाटो लागिसकेपछि दुईपाङ्ग्रे सवारी साधनले कहाँनेर कस्तो दुर्गति भोग्नुपर्ने भन्ने कुनै निश्चितता रहन्न ।

सन्धिखर्क नगरपालिकाभित्र अपेक्षाकृत सखुवाको भन्डार नभएको कारण जिल्ला वन कार्यालयले यहाँ रहेका सामुदायिक बनका झाडी सफा गर्ने र गराउने कार्यमा विशेष तदारुकता देखाउनु अपरिहार्य बनेको छ ।