कर्मचारी चाहिएको बहानामा विज्ञापन प्रकाशन गर्दै यसरी गरिन्छ ठगी

कर्मचारी चाहिएको बहानामा विज्ञापन प्रकाशन गर्दै यसरी गरिन्छ ठगी


–रोशन कार्की

राजधानीमा पछिल्लो समय विभिन्न संघ/सस्थाले  भ्रमपूर्ण बिज्ञापन दिएर खुला रुपमा ग्राहक तथा उपभोक्ता ठगी गरिदा समेत सम्बन्धित निकाय मौन रहेको छ । संस्थाहरुको बोर्ड र आधिकारीक ठेगाना समेत नराखी केही कर्मचारी राखेर ती संस्थाहरुले वर्षैदेखि ठगीधन्धा चालाउदै आएका छन् । उनीहरुले विभिन्न संचारमाध्यममा विज्ञापननै गरेर सर्वसाधारणलाई ठगी गर्ने मुख्य माध्याम बनाएका छन् ।

देशमा नाम चलेका दैकिन र टेलिभिजनलगायत अनलाईनमा समेत विज्ञापन गरेर मोटोपन बढाउने वा घटाउने औषधी, लिङ्ग बढाउने र योनीको आकार सानो बनाउने तथा पेटको धर्सा हटाउने भन्दै विना स्वीकृत गुणस्तहिन सामान समेत बिक्री वितरण गर्दै आउदा समेत सरकारले सो बारे कुनै कारबाही अगाडी बढाउन सकेको छैन् । देशमा बेरोजगारी बढ्दै गएको मौका छोप्दै यस्ता संस्थाले बढीमात्रामा बेरोजगारी युवायुवतीलाई ठग्ने धन्दा चलाएका छन् ।

तर यसमा प्रहरी प्रशासनले निगरानी बढाउन नसक्दा दैनिक कैंयन युवा ठगिन बाध्य भएका छन् । यस्ता संस्थाले दिएका विज्ञापन सञ्चारमाध्यमले सत्यतथ्य नबुझी प्रकाशन प्रशारण गर्दा जागिरको लोभले लाखौ युवायुवतीहरु ठगीन पुगेका छन् । विभिन्न पत्रिकामा दैनिक कैयन कामदारको माग गर्दै आकर्षक तलब दिने आश्वासन दिएर पनि सर्वसाधारणलाई ठगी रहेको पाइएको छ । यस्ता संस्थाले बेरोजगार युवालाई फाराम भर्न लगाई चर्को शुल्क लिने गरेका पाईएकोक छ । फारामको शुल्क असुलेपछि यस्ता संस्थाले कार्यालय नै सारेको बेरोजगार पीडितहरुको गुनासो रहेको छ । ‘कर्मचारी चाहियो’ भन्दै धेरै रकमको तलब तोक्दै अनेक नामका संस्थाले दैनिक पत्रिकाहरुमा विज्ञापन गर्ने होडनै चलेको छ ।

पत्रिका हेर्दा लाग्छ–यी संस्थाहरुको तलब सुविधा कुनै सरकारी तलव सुविधाभन्दा कम छैन ।  विभिन्न नामबाट संचालन भएका यी संस्थाहरुले दैनिक हजारौं युवाहरु ठगिरहेका छन् । मुलुकमा बेरोजगारको संख्या बढ्दै गएसँगै यसको फाइदा उठाइरहेका छन ती संस्थाहरुले । कतिपय संस्थाहरुले त ओर्जिनल डकुमेन्ट देखाएपछि मात्रै कामको बारेमा विस्तृत जानकारी दिने गरेको पाइन्छ भने कतिपयले तालिम दिनुअघि नै ओर्जिनल डकुमेन्ट कब्जा गर्ने समेत काम गर्दै आएका छन् । अधिकांश संस्थाहरु दर्ता विनानै संचालन रहेका छन् । कतिपय संस्थाहरुले नयाँ कार्यालय भएको बताउँदै दर्ता प्रक्रियामा रहेको झुटो विवरण बताउदै ठगीधन्धा चलाई रहेका छन् ।

यी संस्थाहरुमा पाइने काममध्येको एउटा काम हो कस्मेटिक्स तथा आयुर्वेदिक औषधी झोलामा हालेर घर–घर वा बाटोबाटोमा बेच्न पठाउने । यसका लागि १ महिनाको अवधि तालिमका लागि भनेर छुट्टयाइको हुन्छ ।ती संस्थाकै भनाईअनुसार १ महिनासम्म त्यस्ता कर्मचारीलाई तलब दिने गरेको छैन ।

नागरिकता वा सर्टिफिकेटको ओर्जिनल संस्थाले जफत गरेर राख्ने समेत गरेका कारण उनीहरु बाध्यभएर विना तलव काम गर्नु परेको एक पिडितले नाम नलेख्ने सर्तमा बताए । गैह्रीधारामा ‘देभ इन्टरनेशनल’ को नामबाट खोलिएको संस्थाका कर्मचारीले ओर्जिनल डकुमेन्ट राखेपछि मात्रै सामान दिने हो, नत्र उ सामान दिने गरेको स्वीकारेको छ । विभिन्न नामनै सार्वजनिक नभएका कम्पनीको स्याम्पु, क्रिम, टुथपेष्ट लगायत कस्मेटिक्स र आयुर्वेदिक औषधीहरु बोकाएर सडकमा, घरघरमा र विभिन्न स्थानमा बिक्री गर्न पठाउने र सो सामान बेचे पछि केही कमिशन दिने गरेको मित्रपार्क स्थित रहेकोे हिमशिखा इन्टरप्राइजेज नामक संस्थाले जनाएको छ । सो सस्थाका ब्रान्च म्यानेजर भने मोहन गुरुङ रहेका छन् ।

हाल सो सस्थाले नक्कली दर्ता नम्बर राखेर बसुन्धारामा मुख्य कार्यालय रहेको यसका उपत्यकामा मात्रै ५ वटा शाखा विस्तार गरेको जनाएको छ । यसबाट पीडित बनेका एक युवा नाम नबताउने शर्तमा भने, ‘१ महिनासम्म काम गरें, सामान थोरै बेच्यो भनेर फेल गरायो त्यसअघि मैले फर्म शुल्क, तालिमको खर्च, फिल्डमा हिँड्दाको खर्च गरेर उल्टै १० हजार रुपैयाँ आफै नोक्सान ब्यहोर्नुप¥यो ।’

पत्रिकाहरुमा आउने विज्ञापनमध्येकै अर्को काम हो– विदेशी कल रिसिभ गर्ने र डिल गरी प्राप्त वेभसाइटहरु बिकाउने ।  यसका लागि तालिम अनिवार्य हुने बताइएको हुन्छ । केही संस्थाहरुमा गरिएको सर्वेक्षणअनुसार यसको तालिम खर्च ३ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म लिने गरेको फेला परेको छ । तीनकुनेमा रहेको एसएस नेपालले यसको शुल्क ३५ सय रुपैयाँ लिने गरेको जनाएको छ ।

मित्रपार्कमा रहेको एसएसडी नेपालले ३ हजार तोकेको छ । गोपिकृष्ण नजिक रहेको एमके नेपाल नामक संस्थाले पनि यसको शुल्क ३ हजार रुपैयाँदेखि मान्छे हेरेर १५ हजार रुपैयाँसम्म लिने गरेको पाईएको छ । उनीहरुले दिएको जानकारीअनुसार तालिम लिइसकेपछि छनौटमा पर्नका लागि फेरि अन्तरवार्ता लिइने गरेको छ । अन्तरवार्तामा फेल भएमा यसको तालिम शुल्क र फर्म शुल्क फिर्ता नदिने गरेको गुनासो समेत पिडितहरुको रहेको छ । यसरी संकलन गरेको रकम पचाउनकै लागि अन्तरवार्तामा थोरै व्यक्तिलाई छनौट गर्दै आएका छन् । एउटै संस्थाले तालिम दिने, अन्तरवार्ता लिने र अन्तिममा वेभसाइट बिक्री भए कर्मचारी राख्ने नत्र फेरि पत्रिकामा विज्ञापन दिएर अर्को कर्मचारी खोज्दै ठगी गरिदै आएको छ ।

 त्यसका अलवा विभिन्न डल्सहरु बनाउने, आर्टिफिसियल पोष्टरहरु बनाउने, मालाको दानाहरु बनाउने लगायतका कामहरु देखाएर पनि यी संस्थाहरुबाट युवाहरु ठगिइरहेका छन् । यस्ता कामका लागि पनि पहिले तोकिएको शुल्क बुझाएर तालिम लिइनुपर्ने एसएसडी नेपालमा कार्यरत कर्मचारीले बताएका छन् । एमके नेपाल नामक संस्थाले सामानहरु बनाउने क्रममा नोक्सान हुन गएमा वा सामान बिग्रिएमा त्यसको क्षति स्वयम कर्मचारीले नै ब्यहोर्नुपर्ने नियम समेत लगाएको छ ।

फाराम भरेवापत प्रतिव्यक्ति २ सयदेखि ५ सय रुपैयाँसम्मको शुल्क उठाउने, तालिमका नामबाट थप रकम अशुल्ने अनि अन्तिममा अन्तरवार्ताबाट छनौट गर्न नसकेको बताएर फेल गराउने संस्थाहरु उपत्यकामा छ्यापछ्याप्ती भेटिन्छन् । यस सम्बन्धमा सरकारी निकायबाट अनुगमन नहुदाँ ठगी कार्यले तीव्रता पाउदै आएको छ ।