बाढीपीडितलाई हार्टल्याण्ड स्कुलका विद्यार्थीको सहयोग

बाढीपीडितलाई हार्टल्याण्ड स्कुलका विद्यार्थीको सहयोग


बाफल स्थित हार्टल्याण्ड एकेडेमीका विद्यार्थीहरूले बाढीपीडितको सहयोगका लागि संकलन गरेको रकम हेल्प नेपाल नेटवर्कलाई हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने सोचका साथ सक्रिय रहेका उक्त एकेडेमीका विद्यार्थीले ८२ हजार रुपैया संकलन गरेका थिए । उक्त रकमको चेक हार्टल्याण्ड एकेडेमीका प्राचार्य करणसिंह गोयलाले हेल्प नेपाल नेटवर्कका सल्लाहकार विजय राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै हार्टल्याण्डका प्राचार्य गोयलाले स्कुलमा स्थापित विद्यार्थी प्रतिनिधि परिषद (एसआरसी)को सक्रियतामा यो सहयोग रकम उठेको बताए । उनले विद्यार्थीले जम्मा गरेका जिन्सी सामानहरू भने तराई मधेश क्षेत्रका अभिभावकहरुको सहयोगमा बाढीपीडितहरूलाई वितरण गरिएको जनाए ।

एकेडेमीका विद्यार्थीसमेतको उपस्थितिमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प नेपालका सल्लाहकार राजभण्डारीले विद्यार्थीहरुको समाजसेवाप्रति सक्रिय रहने सोचको सराहना गर्दै उपलब्ध रकम बाढीपीडितहरुको सहयोगका लागि स्थापित बास्केट फण्डमा जम्मा गरिने बताए ।
हेल्प नेपालका विपद् व्यवस्थापन संयोजक रवि मानन्धरले समाजसेवी विद्यार्थीहरूको प्रशंसा गर्दै सहयोगका लागि धन्यवाद दिए ।