शरणार्थीले यसरी घच्घच्याए प्रधानमन्त्रीलाई

शरणार्थीले यसरी घच्घच्याए प्रधानमन्त्रीलाई


एक सातापछि अमेरिकामा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भुटानी शरणार्थीहरुले झापास्थित शिविरबाट एक ज्ञापनपत्र पठाएका छन् । आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न शरणार्थीहरुले उक्त पत्रमार्फत् प्रधानमन्त्रीसँग आग्रह छन् ।

प्रधानमन्त्रीलाई प्रेसित ज्ञापनपत्रमार्फत अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको ७२औँ महासभा बैठकमा नेपालमा शरणागत जीवन बिताइरहेका भुटानीको समस्यालाई गम्भीर ढंगले उठाइदिन आग्रह गरिएको भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले जानकारी दिए ।

उनका अनुसार झापा र मोरङका दुई वटा शिविरमा आश्रित भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको मुद्दा सशक्त बनाउन पनि अब यो मुद्दालाई राष्ट्र संघमा उठाइदिन जरुरी रहेको उल्लेख गरिएको छ ।

भुटान सरकारलाई दबाब दिनका लागि महासभा बैठक अत्यन्त अनुकूल रहेको ठहरमा पुगेका शरणार्थी अगुवाहरु यसपटक निकै आशावादी देखिएका छन् । आफूहरुले वर्षौंदेखि स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै आएको स्मरण गराउँदै शरणार्थी समस्या महासभामा उठाइए अन्तर्राष्ट्रिय मुद्दा बन्नेमा आफूहरु विश्वस्त रहेको प्रवक्ता घलेले बताए ।