एक लाखमै उम्किए विभत्स हत्याकाण्डका योजनाकार

एक लाखमै उम्किए विभत्स हत्याकाण्डका योजनाकार


केही साताअघि काठमाडौंको बुढानिलकण्ठमा घर चोरी गर्ने उद्देश्यसहित गएको एक लुटेरा समूहले आफ्नी छोरीको घरमा बस्दै आएकी ५५ वर्षिया पार्वती ढकालको हेम्मरले टाउकोमा हानेर विभत्स हत्या गरेको घटना सेलाइसकेको छैन । हत्याराले आततायीपूर्ण रुपले हत्या गरी घरमा रहेको बहुमुल्य गरगहना तथा अन्य समान लुटपाट गरेको उक्त घटना त्यतिबेला निकै चर्चामा थियो ।

उक्त घटनामा जोडीएको प्रमुख हत्यारा सुदाम लामिछाने भारत छिरेर उम्किने तयारी गर्दै गर्दा घटनाको करिव दुई हप्तापछि कपिलवस्तुबाट समातिएको र उसैको बयानका आधारमा थप तीन जना पनि पक्राउ परेका थिए ।

प्रहरीले अनुसन्धान गरी लुटपाट भएको केही समानसमेत सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा पेश गर्दा त्यहाँका न्यायाधीशले हत्यामा संलग्न दुई जनालाई पूर्पक्षका लागि जेल चलान गरे पनि उक्त घटनाको मास्टर प्लानरका रुपमा देखिएका रामशरण अधिकारीलाई एक लाख धरौटीमैछाडिएको खुलासा भएको छ । यसैगरी लुटेको समान थन्क्याउने जिम्मेवारी निर्वाह गरेकी सुषमा परियारलाई पचास हजार धरौटीमा छाडिएको बुझिएको छ ।

लुटिएका मध्येको बहुमुल्य समान अझैसम्म सबै बरामद भइनसकेको र लुटिएकैसमान बिक्री गरेको रकम धरौटी बुझाएर अधिकारी र परियार थुनामुक्त भएका सम्बद्ध स्रोतकोे दाबी छ ।

हत्याराले नै प्रहरी, सरकारी वकिलमा दिएको बयानमा ‘घर यसरी लुट्नु पर्छ, यसो यसो गर्नु पर्छ’ भनेर योजना बनाउने रामशरण अधिकारीलाई मामूली धरौटीमा रिहा गर्नुले बिचौलीया मार्फत न्यायमूर्ति नै प्रभावमा परेको आशंका उब्जेको छ ।

अदालतको उक्त आदेशले .पीडीत पक्षलाई समेत खतरा देखापरेको सेत बताउँछ । किनकि, घर लुट्ने योजना बनाउने अधिकारीले ‘हत्याको सम्पूर्ण जिम्मेवारी तिमीले नै लिए, म तिम्रो घर पनि हेरिदिन्छु र पूनरावेदनबाट हत्याको घटनालाई आवेश प्रेरितमा परिवर्तन गराएर सजाय कम गराइदिन्छु’ भन्ने सम्मको आश्वासन दिएको सम्बद्ध पीडित परिजनबीच चर्चा चल्दै आएको छ ।

हाल धरौटीमा छुटेको अधिकारीमाथि पनि योजनाकारका रुपमा केही वर्षको जेल सजाय होस् भन्ने माग पीडीत पक्षको छ । अन्यथा यस्ता पटके अपराधीबाट पीडितमाथि थप ज्यादति हुन सक्ने खतरा कायम रहेको सम्बन्धित विज्ञहरु बताउँछन् ।