प्रतिस्पर्धात्मक निर्वाचनको संघारमा राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताहरूले कांग्रेस कार्यकर्ताहरुको चरित्र हत्या गरेर मतदातालाई दिग्भ्रमित बनाउन खोजेको नेपाली कांग्रेस धनुषाले आरोप लगाएको छ ।
नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति रामसरोज यादवले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै शनिबार जनकपुरबाट प्रकाशित–प्रशारित स्थानीय छापा तथा विद्युतीय सञ्चारमाध्यमका समाचारमा नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई लाञ्छित गरिएकोमा पार्टीको ध्यान गम्भीर रुपमा आकृष्ट भएको जनाएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्– ‘स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको बढ्दो प्रभावबाट हतोत्साही भई राजपाका कार्यकर्ताहस्रुले हाम्रा कार्यकर्ताहरूको केही संचारमाध्यममा चरित्र हत्या गर्ने दुश्प्रयास गरेको छ । यस्ता किसिमका कपोलकल्पित, भ्रामक र मनगढन्त समाचार सम्प्रेषण गराई आम जनमानसमा भ्रम सिर्जना गरेकोप्रति हामी घोर निन्दा गर्दछौँ ।’
उनले नेपाली कांग्रेस धनुषाले यस किसिमको प्रचार र समाचारलाई विरोधी समूहले नेपाली कांग्रेसलाई बद्नाम गर्न रचेको षड्यन्त्रको रुपमा लिएको पनि बताएका छन् ।
प्रतिक्रिया