हाम्रो नयाँ पुस्ताको परिचय ?-शशी पौडेल

हाम्रो नयाँ पुस्ताको परिचय ?-शशी पौडेल


बेलायतमा एकलाखको हाराहारीमा नेपालीहरुको संख्या पुगेको छ । लगभग आधा शताब्दीपहिलेदेखि नेपालबाट कामका लागि बेलायत भित्रिने क्रम शुरु भए पनि नब्बेको दशकसम्म अत्यन्तै कम रहेको थियो । यद्यपि नेपाल, भारत र बेलायतबीच सम्पन्न त्रिपक्षीय सन्धिपश्चात दुईसय वर्षअघि नेपालीहरु गोर्खा आर्मीको नामबाट पेशागत सैनिकका रुपमा बेलायत आउन थालेका हुन् । गोर्खालीहरुलाई ९० को दशकसम्म पनि ज्यादै कम बेलायत ल्याइन्थ्यो । विशेष गरेर सिङ्गापुर प्रहरी र हङ्गकङ्गमा सैनिक सेवामा राखिने गर्दथ्यो । र उनीहरुलाई बेलायतले आवासीय अधिकार दिएको थिएन । तर विश्व ग्लोवलाइजेशनले संसारलाई एक कुनाबाट अर्को कुनामा चिनाउन सजिलो पारिदियो । अर्कोतिर नेपालमा २०४६ (१९९०) को राजनैतिक परिवर्तन पछि नेपालीहरुले पनि आफ्नो उज्यालो भविश्य हेर्न संसारका विभिन्न मुलुकमा उड्न र गुड्न थाले । र नेपालीहरु बेलायत, अष्ट्रेलिया एवम् युरोपका विभिन्न मुलुकहरुमा मात्र हैन, अरवका खाडीमा समेत पुगेर जीविकोपार्जन गरिरहेका छन् ।

जब-जब नेपालीहरु बेलायत वा अन्यत्र स्थायित्व लिएर बस्न थाले र नयाँ पुस्ताको जन्म दिने र हुर्काउन थाले तब-तब उनीहरुलाई एउटा महत्वपूर्ण तर अहिलेसम्म अनुत्तरित प्रश्नले सताउन थालेको छ । त्यो प्रश्न हो ‘हाम्रो नयाँ पुस्ताको परिचय के ?’

हो साँचो अर्थमा हाम्रा नयाँ पुस्ताले अव परिचय खोज्न थालेको छ । जव एउटा व्यक्ति एउटा अर्के मुलुकमा जन्मिन्छ, हुर्कन्छ र लेखपढ गर्दछ । त्यो व्यक्ति आफ्नो मातृभूमि छोडेर अर्को मुलुक पुग्छ भने उसले हरेक चिजप्रति सम्झौता गरेको हुन्छ । उसको कला, उसको संस्कृति, उसको धर्म, उसको समाज, उसका दिनचर्या, उसको छिमेकी सँगको सम्पर्क, भेटघाट, खानपान, रहनसहन आदिआदि । तर उसका सन्तती चाहे विदेशमा जन्मेका हुन्, चाहे उनीहरु नावालक अवस्थामै विदेशीएका हुन् । उनीहरुले यी उपरोक्त कुराहरुसँग कुनै सम्झौता गर्नुपर्ने आवश्यकताको महशुस गर्दैनन् र उनीहरु आफू जन्मेहुर्केको स्थान, क्षेत्र, देशमा आफू त्यत्तिकै अधिकारी ठान्दछन् जति त्यहाँका आदिवासीले ठान्दछन् । उनीहरु त्यहीको स्कूल, कलेज वा विश्वविद्यालय पढेका हुन्छन् र अझ कागजमा त उनीहरु त्यहाँको नागरिक भइसकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले आफ्ना पिता वा माताले गरेको जीवनको सम्झौता गर्न आवश्यक सम्झिदैनन् । तर उनीहरुलाई त्यहाँको आदिवासी समाज, संस्कृति, कला एवम् रहनसहनले विदेशी भनिरहेको हुन्छ । यद्यपि ऊ भाषामा आदिवासी भन्दा अझ उच्च ज्ञाता किन नहोस् । अर्कोतिर उनीहरुले नेपालको कला, संस्कृति, रहनसहन एवम् समाजको यथार्थ परिचय पाइरहेको हुँदैन । अब उसको सही धरातल अर्थात ठेट नेपाली शब्दमा भन्दा टेक्ने डालो र समाउने हाँगा के त ? यो प्रश्नप्रति अभिभावकहरु अत्यन्त चनाखो हुनुपर्ने भएको छ ।

हो यो प्रश्न ‘हाम्रो नयाँ पुस्ताको परिचय के ? भेटाउन अत्यन्त जरुरी भएको छ । अन्यथा हाम्रो आगामी पुस्ता कुइरोभित्र रुमलिएको काग जस्तो हुन कत्ति बेर लाग्ने छैन । र आगामी पुस्ताले हामीलाई उनीहरुलाई सही बाटो नदेखाएको अनि सही सूचनाबाट वञ्चित गराएको आरोप लगाउने छन् । किनभने उनीहरुसँग नत नेपाली कला संस्कृति, भाषा, भेषभूषा एवम् सामाजिक परम्परा रहने छ नत उनीहरुले बेलायती कला संस्कृति र सामाजिक परम्परा सिक्ने छन् ।

हामी नेपालीहरुले कता-कता लगभग भारतीयहरुको देखासिखी गर्नेतर्फ लागेका छौ तर भारतीयहरु दोस्रो विश्व युद्धपछि बेलायत भित्रिएका थिए । त्यतिबेला बेलायतको राजनैतिक, सामाजिक एवम् आर्थिक अवस्था फरक थियो विश्व युद्धले मुलुक झण्डै ध्वस्त थियो । बेलायती नागरिकहरुलाई र यिनीहरुको सामाजिक परम्परालाई भारतीयहरुले हामीले भन्दा नजिकबाट हेर्न, छाम्न र महशुस गर्न पाएका थिए । कुनै न कुनै रुपमा बेलायतीहरु भारतमा स्थायित्व जमाइसकेका थिए । दुई मुलुकको सामाजिक परम्पराको अन्तरबाट भारतीयहरु परिचित थिए । जसका कारणले उनीहरुलाई माथिको प्रश्नले कम सताएको थियो । तर हामी नेपालीहरु यस कुराबाट अनभिज्ञ छौं । नितान्त अलग र छुट्टै परम्परामा आफूलाई समावेश गराउन त्यति सजिलो छैन जति हामी इन्ट्रिगेशनका कुरा गर्छौ । कुरा कुरामै मात्र सीमित हुने छ । मानवजाति प्रकृति र जीव विज्ञानको सिद्धान्तबाट अलग रहन सक्तैन । एउटा भनाइ छ रुख पाको भएपछि सार्न सकिन्न, त्यस्तै मान्छे पनि हो ।

केही समयअघि एउटा असाध्य मर्माहत घटना घटेको थियो । घटना यस प्रकार थियो -डा. कास्यम जर्मनीको फ्राङ्कफोर्टमै घरजम गरे, एक इराकी नारीसँग जो जर्मनीमै जन्मेकी थिईन् । उनीहरुबाट एउटा छोरा जन्म्यो, पढलेख गरेर काम गर्न योग्य समाजशास्त्री बन्यो । उसको मनमा आफ्ना बाबुआमाको मातृभूमिमा गएर सेवा गर्ने इच्छा जागेछ र उनी कामका लागि इराक पुगे । इराक जानुअघि दर्खास्त आदि दिएर त्यहाँको समाजकल्याण मन्त्रालयमा समाजशास्त्रीको पदका लागि सम्झौतापत्र गरी इराकको राजधानी बगदात पुग्यो ।

जब ऊ त्यहाँ पुगेर काम शुरु गर्‍यो, उसले काम गर्न सकेन । कुनै सरकारी पत्र पढ्न र लेख्न नसक्ने विशेषज्ञका रुपमा ऊ उभियो । उसले त्यहाँको सामाजिक रहनसहन र परम्परालाई बुझ्न सकेन, त्यहाँको कला, संस्कृति पछ्याउन असक्षम भयो । यस्तैमा उसको दिमागमा थुप्रै कुरा घुम्न थाल्यो र आफ्ना आमावावुलाई सबभन्दा दोषी ठहर्‍यायो । दुई महिनापछि ऊ जर्मन फक्र्यो एक मानसिक रोगीका रुपमा । उसको यो दयनीय अवस्थाका कारण वावुआमाबीच झगडा शुरु भयो र अन्तमा उनीहरुको पनि छुट्टभिन्न भयो । सम्पत्तिका नाममा एउटा छोरा, त्यो आफ्नै गल्तीले विरामी पर्‍यो । लोग्ने स्वास्नी छुट्टिइन पर्‍यो । उनीहरुलाई आफूले कमाएको भौतिक सम्पत्तिले सघाउन सकेन ।

भविष्यमा नेपालीहरुको पनि यो अवस्था नआउला भन्न सकिन्न । त्यसैले यसबाट बच्न दिन र्घर्केको छैन, हामीले प्रयास गर्‍यौं भने सफल हुने छौं ।
The author can be reached at [email protected]