संविधान दिवसको शुभकामना सन्देशमा कसले के भने ?

संविधान दिवसको शुभकामना सन्देशमा कसले के भने ?


नेपालको संविधान दिवसका अवसरमा छिमेकी मुलुक भारत, चीन, अमेरिकालगायत देशले शुभकामना सन्देश पठाई संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

यस अवसरमा भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउनुभएको छ । आफ्नो शुभकामना सन्देशमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल र भारतबीच अनुपम बहुआयामिक सम्बन्ध रहिआएको र त्यो सांस्कृतिक सम्बन्धसँग जोडिएको बताउनुभएको छ ।

यस्तै, भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा दुई देशबीच लामो समयदेखि जनस्तरको गहिरो सम्बन्ध रहेको बताउँदै नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी चीनका राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुगोस् भनी कामना गर्नुभएको छ भने माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामिन अबदुलले आफ्ना समकक्षीसमक्ष शुभकामना सन्देश पठाउँदै यस अवसरमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको राससले जनाएको छ ।

जापानी सम्राट् अकिहितोले पनि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना सन्देश पठाई नेपाली जनताको खुशी र समृद्धिको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ ।

‘यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्’, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको ट्रम्पको सन्देशमा भनिएको राससले उल्लेख गरेको छ ।

गत साल यो महत्वपूर्ण दिन मनाएयता नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सन्देशमा भूकम्पपछिको पुनःनिर्माणले तीव्रता पाएको र लाखौँ नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको बताइएको छ ।

‘सबैभन्दा महत्वपूर्ण कुरा त, तपाईँहरूले २० वर्षमा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुभएको छ, जुन तपाईँहरूको लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोसेढुंगा हो’, राष्ट्रपति ट्रम्पको सन्देशमा भनिएको छ । हाम्रा साझा सिद्धान्तहरूप्रतिको नेपालको प्रतिबद्धताका लागि धन्यवाद दिँदै उहाँले शान्ति र समृद्धिको दिशामा नेपालको जारी प्रगतिमा सहयोग कायमै रहेको दोहोर्‍याउनुभएको छ ।