‘आफ्नो जिम्मेवारी पूरा गरे मात्रै संविधान कार्यान्वयन’

‘आफ्नो जिम्मेवारी पूरा गरे मात्रै संविधान कार्यान्वयन’


 राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आआफ्ना क्षेत्रमा जो–जसले जे जिम्मेवारी लिएको हो त्यसलाई इमान्दारीपूर्वक पूरा गरे मात्रै संविधान कार्यान्वयन हुन सक्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समिति कास्कीले आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले संविधानमा लेखिएका कुरा कार्यान्वयन गर्न हामी सबैमा दृढशक्ति हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्थानीय तहमा भएका तीनै चरणका निर्वाचनमा जनताको उत्साहजनक सहभागिता हुनाले पनि संविधान विश्वकै एक उत्कृष्ट भएको पुष्टि भएको बताउनुभयो ।

नेकपा(एमाले) कास्कीका अध्यक्ष कृष्ण थापाले संविधानको कार्यान्वयन हुँदै गएमा मात्र देशले आर्थिक समृद्धि र विकासमा फड्को मार्न सक्ने विचार व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर क्षेत्री पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल र कास्कीका प्रजिअ तारानाथ अधिकारीले संविधान दिवस र यसको कार्यान्वयनका बारेमा जोड दिनुभएको थियो ।