आङ् सान् सूकीका समर्थकहरु चुनावी र्‍यालीमा

आङ् सान् सूकीका समर्थकहरु चुनावी र्‍यालीमा


लण्डन । छिट्टै सम्पन्न हुन गइरहेको म्यानामारको चुनावका लागि हिजो म्यानामारका विपक्षी दलकी नेतृ, आङ् सान् सूकीका हजारौं शुभचिन्तकहरु सडकमा उत्रेर उनलाई बधाइ दिन लाम लागेर उभिएका थिए । म्यानामारको दावेइ जिल्लाका शहरहरुमा फूल र पुष्पगुच्छाहरुद्वारा ६६ वर्षीया पूर्व राजनीतिक बन्दी नेतृलाई भावपूर्ण समर्थन जनाउँदै हजारौंका सङ्ख्यामा काँधमाथि बच्चाहरु बोकेर हात हल्लाउँदै उभिएका थिए । प्रान्तीय पार्टी कार्यालयको बाल्कोनीबाट नोबेल पुरस्कार विजेता, नेशनल लिग फर डेमोक्रेसी पार्टीका अध्यक्ष आङ् सानले उनका समर्थकहरुलाई अब देशमा प्रजातन्त्र ल्याउने वाचा गरेकी छिन् । उनले विशाल जन समूहलाई… हामी विकासका लागि काम गर्नेछौ । देशमा कानूनी राज ल्याउनेछौ र हक अधिकारलाई बाधा पुग्ने कानूनहरु पन्छाएर कानूनी व्यवस्थाको शासन ल्याउनेछौ… भनेकी थिईन् । उनले अघि थप्दै… हामी कुनै पनि बाधा अडचनहरुलाई हटाउनका लागि एकताबद्ध हुनेछौ र त्यसमाथि विजयी हुनेछौ.. भनेकी थिईन् । उनलाई विगत २३ वर्षभित्र १५ वर्षसम्म आफ्नै घरमा सैनिक शासकहरुद्वारा बन्दी बनाएका थिए । यही वर्ष अप्रिल महिनाको एक तारिखमा हुन गइरहेको लोकसभा चुनावको ४८ सिट मध्येको एउटा सिटका लागि उनी याङ्गुनदेखि दक्षिणतर्फ पर्ने एउटा गरीब जिल्ला कउम्हूबाट प्रत्याशी बनेकी छिन् । यो अहिलेको चुनाव हालको सरकारले देशमा परिवर्तन ल्याएर जनताको शासन दिने कसिको परख हुने कुरा जानकारहरुले औल्याउन थालेका छन् । श्रोत – नेट, सुमल, मेस ।