‘पात्रहरुसँग एक साँझ’को लागि एक साँझ

‘पात्रहरुसँग एक साँझ’को लागि एक साँझ


पात्रहरुसँग साँझ बिताउन सक्नु पनि समय हुनेहरुलाई मज्जाकै लाग्दो हो, भने कसैको कथनीमा पात्र मात्र भई साँझ बिताइनुको सामांग्री बन्नेहरुका लागि अब के हो, त्यही पात्रहरु जानून्, प्रसङ्ग यहाँ यतिखेर लक्ष्मी राईको पहिलो साहित्यिक कृति ‘पात्रहरुसँग एक साँझ’ बारे केही लेख्ने जमर्को गर्दाको हो । वास्तवमा उक्त कृतिमा राखिएका वा समाहित गरिएका लेखहरु, कथाहरु या निवन्धहरुमा मलाई छुने मात्र तीन लेखहरु:-‘रातो राहदानी’, ‘पहाडका कथाहरु’ र ‘अन्तिम रात’ को बारेमा केही लेख्दैछु ।

प्रवासी रातहरुमा ऐंठनले हक्कानिएर उठ्ने आप्रवासी मानसिकताभित्र देश छोड्नुको पीडा या स्थायी स्थानानान्तरणको लोभमध्ये कुनचाहिँ भावको आकार ठूलो होला ? यो पक्कै पनि देशको वास्तविक अवस्थिति र व्यक्तिको तत्कालीन आवश्यकतामाथि भर पर्दछ । तर योचाहिँ यहाँ थपिहाल्नु पर्दछ कि, तेस्रो मुलुक वा यसो भनौं, अविकसित देशबाट खेदिएर अनि लोभिएर प्रवासी हुन आउने जमातहरुका मनमा भने प्रवासी केही अनिश्चिताको ऐंठनले भावाकाशमा बादलजसरी असंयमिताहरु फैलाउने गर्दछ पक्कै नै । यसरी यही परिप्रेक्ष्यमा यही प्रसङ्गलाई सर्सर्ती हेर्दा यो भन्न सकिन्छ कि ती प्रवासी आत्माहरुमा कहिँ न कतै अनि कुनै न केही परिवेशमा देशको राष्ट्रियताको संवाहक बनेर यात्रानुमति दिने राहदानीको प्रयोगले ठेस लगाएको पक्कै हुन्छ । मूलतः अविकसित मुलुकको पासपोर्ट यस्तो दयनीय देखिन्छ कि खासगरी सम्पन्न देशको अध्यागमन काउन्टरको कर्मचारीको हातमा, त्यो बेला, उक्त पासपोर्ट बोक्ने सायदै कसैको हृदयमा राष्ट्रियताप्रति सम्मति रहला । यो सायद यहाँ अति नै लेखियो कि भन्ने लाग्दा-लाग्दै यो पनि थप्न मन लागेको छ कि, नेपालका केही नेताहरुले तिनको राजनीतिक जीवनमा नेपाली हरियो पासपोर्टको स्तर उकास्ने एक प्रकारले प्रण विभिन्न र्सार्वजनिक भेलाहरुमा भाषणको स्वरुपमा गर्ने गरेका थिए र छन् तर तिनै नेताहरुमध्ये धेरैले तबउप्रान्त आफ्नै परिवार र सम्वृद्धिको स्तर मात्रै उकास्दैमा आफ्ना राजनीतिक जीवन बिताएका छन् । चाहे अफगानी हुन्, या नेपाली, बंगलादेशी वा सोमालिएन, ती सबैलाई खासगरी यहाँ अर्थात् यूकेकै प्रसङ्गमा बोल्ने भए भन्न सकिन्छ -तिनका आफ्ना पासपोर्टहरुले तिनका मनमस्तिष्कलाई पोल्ने गरेको हुन्छ र यूकेमा स्थायीकरण हुने प्रवन्धमा तिनले पाउने प्रगति तिनका लागि यस्तो हुन्छ कि जस्तो तिनले सगरमाथाको आरोहरण गरेका हुन् ।

मानिस आआफ्नै फ्रेममा आआफ्नै आकारसहित दुरुस्त हुन्छन्, आआफ्नै डम्फु बजाउनमा व्यस्त हुन्छन्, त्यस्तै अवस्थामा एकै परिदृश्यले पनि प्रकारान्तरका भावानुभूति दिने गर्दछ, विविध मनहरुमा । ‘पात्रहरुसँग एक साँझ’ नामको एक कथा संग्रहको चर्चा गर्ने क्रममा माथिका प्रसङ्ग यसरी आएको हो कि, हाजाराले रातो पासपोर्ट पाएपछि गरेकी खुशीको प्रस्तुतिलाई जसरी कथाकार लक्ष्मीले आफ्नो ‘रातो राहदानी’ शीर्षकको कथामा व्यक्त गरेकी छिन्, त्यसले आम रुपमा वर्तमान खासगरी अविकसित मुलुकबाट आउने आप्रवासी मानसिकतालाई सबैतिर मिल्ने गरी दर्शाएकिछिन् । ‘पात्रहरुसँग एक साँझ’ नामको उक्त कथा संग्रहको यो सबैभन्दा उत्कृष्ट कथा हो ।

मनले सोँचेको जस्तो वा मनले सोँच्दै गरेको कुराहरु या घटना-परिघटनाहरुलाई शब्द दिन सक्नु नै साहित्यिकता हो । भन्नै पर्ने हुन्छ, यस संग्रहमा राखिएका ‘रातो राहदानी’, ‘पहाडका कथाहरु’ र ‘अन्तिम रात’ शीर्षकका कथाहरुको कथ्य शैलीको आधारबाट लक्ष्मीमा साहित्यिकता यथेष्ट रहेको छ, उसो त विभिन्न कार्यक्रमहरुलाई उद्घोष गर्ने क्रममा बोल्दै गर्दा शब्दलाई खेलाउँदा-खेलाउँदै गतिहीन हुनु यतिखेर लक्ष्मीको परिचयात्मक शैली नै भइसकेको छ हङकङ र यूकेको परिवेशमा । त्यस्तै घटनाहरुलाई कथ्याउँदा-कथ्याउँदै हतारिनु अनि असंयमित हुनु वा गतिहीन हुनुको प्रभाविलो छाप यस संग्रहका माथिका तीनबाहेकका कथाहरु या लेखहरुमा स्पष्ट रुपमा देख्न सकिन्छ । कतिपय कथाहरु, न कथा लाग्दछन्, न लेख नै, तर यो पक्कै मान्नु पर्ने हुन्छ कि लक्ष्मीमा शब्दहरुलाई खेल्न र खेलाउने सक्ने सामर्थ्य सेतो रङ जस्तै स्पष्ट देखिन्छ । भूमिकाको स्वरुपमा पुस्तकको लागि ‘वैशाखी’ टेक्ने प्रयासमा लागेकी देखिने लक्ष्मीको ‘पात्रहरुसँग एक साँझ’ शीर्षकका संग्रहमा राखिएका विविध व्यक्तिहरुका भूमिकाहरुका भूमिकाकारहरुले नै उल्टै आफूलाई अड्याउनका लागि लक्ष्मीको कितावको ‘वैशाखी’ टेकेका लाग्दछन् ।

‘आरुका फूल र होलीका स्मृतिहरु’ निक्कै नै राम्रो सम्भावना दिलाउन सक्ने खालको शीर्षक रहे तापनि कथा वा लेखले निरास मात्र पार्दछ । त्यस्तै, ‘एउटा मृत्युको बयान’मा सत्य घटनालाई कथ्य प्रशस्ती दिने प्रयासमा आफ्नै डम्फु बजाएकी देखिन्छ लक्ष्मीले र त्यसैले सो डम्फुको ताल बेतालको लाग्दछ । ‘जुली….’ शीर्षकको कथा रङ्गहीन छ, प्रस्तुति तथा कथ्य शैलीको नै आधारमा पनि । ‘समय, सपना र जिन्दगी’, ‘जून ओर्लिएको रात’ शीर्षकका कथाहरु निरास तुल्याउने खालका नै छन्, शीर्षकलाई मात्र पनि बखान दिन नसक्ने खालका ती कथाहरुलाई ‘रातो राहदानी’ले मात्रै पनि ढाक्न सक्दछ । हाजाराको मनको वेदनालाई लक्ष्मी उक्त ‘रातो राहदानी’ शीर्षकको कथामा एक प्रसङ्गमा यसो भन्छिन्- ‘आत्म सम्मान पनि मान्छेका भोगाइ तथा मानसिक परिप्रेक्ष्यको सापेक्षसँग तुलना गर्न वाध्य हुनुपर्दो रहेछ ।’

‘पहाडका कथाहरु’ यस संग्रहको अर्को भावानात्मक रुपको उत्कृष्ट अनि परिपक्क कथा हो । नारी मनोभावलाई थोरै अक्षरहरुको माध्यमबाट मस्तले खुलाउन सकेकी छिन्, कथाकार तथा नारी भएकै आधारमा लक्ष्मीले । ‘अचानोको चोट’ खुकुरीलाई थाहा नहुने भन्ने उखान जस्तै नारी मनोभावको बारेमा पुरुषहरुले व्याखा गर्न नसक्ने लाग्दछ, तर ज्यादाजसो नारी मनोभावहरुलाई विभिन्न पुरुष लेखकहरुले आफ्ना नारी पात्रहरुमा आफ्ना अनुमानित भावनालाई नै नारी भावनाको जलप लगाइदिएर उपन्यास वा कथाहरमा उतारेका हुन्छन्, तर नारी कलमबाट तिनले विविध परिवेशमा आफ्नो मनलाई छामेर लेखेको पुरुषहरुको तुलनामा निक्कै नै कम पढ्न पाइएको छ र यसमा लक्ष्मी राईको प्रयास अनि उनमा देखिएको साहित्यिक चेतनालाई सतही रुपमा हेर्दा पनि नेपाली साहित्यमा सम्भावनायुक्त महिला नाम देखिनसक्ने पक्का लाग्दछ, मात्र, उनमा दृढता अनरवरत हुन जरुरी छ ।

‘पहाडका कथाहरु’ शीर्षकको कथामा थोरै शब्दहरुमा पनि नारी मनोभावका धेरै पक्षहरुलाई खुलाउन सफल भएकी लक्ष्मी एक ठाउँमा भन्छिन् -‘….प्रसव वेदना सबै भुलेर थाहा पाएँ एउटा सत्य, केवल नारी हुनु र आमा बन्नुको गौरव । सगरमाथा पनि होँचो देखेँ । संसारको सबैभन्दा उचाइमा पुगेकी थिएँ ।….’ मानिसहरु आआफ्नो परिवेश र समाजजन्य भई सांसारिकतालाई ब्यहोरिरहेका हुन्छन्, सोही सांसारिकतालाई व्यहोर्ने बेलाले मानिसलाई पारम्परिक आकार दिन्छ । त्यही क्रममा उहिले-उहिलेका कुराहरु फेरि-फेरि पनि उस्तै गरी दोहोरिन्छन् । एक पारस्परिक संरचना, उही सामाजिक जंजालभित्र बन्दछ जसलाई एकपछि अर्को गर्दै निरन्तरता दिने क्रममा यावत सामाजिक पद्धति विकसित हुँदै जान्छ । जस्तो, उनकी आमाले उनलाई सुनाएकी, उनले आफ्नी छोरीलाई सुनाएकी अनि उनकी छोरीले आफ्नी छोरीलाई भविष्यमा सुनाउने उही कालान्तरदेखि चलिआएका कुराहरु नै वास्तवमा भन्ने भए शिक्षाको मूल जरो हो । आमाबाट शुरुमा ‘सुनाइएका कुराहरु’ले नै शुरुमा सन्तानको पारिवारिक मोहप्रति विश्वास जागृत गर्दछ । यस्ता प्रशस्तै पलहरुलाई लक्ष्मीले ‘पहाडका कथाहरु’ शीर्षकको कथामा छरपस्ट गरी फैलाएकिछिन् ।

….’कस्तरी ढाँट्न सकिन् मेरी आमाले बुनेर पाहाडका कथाहरु ! छुपाएर मनका अथाह पीडाहरु ! चार्डपर्वहरु नजिकिँदा एकान्तमा आमा रुनु अनि आँशुले छपक्कै भिजेका सिरानीहरु !…., …तीन दशक मुस्किलले नकट्दैको एउटी विधुवीको एकाङ्कीपनका कथाहरु । सप्पै बुझ्दैछु आज, पैंयुँ फुलेजस्तो सेताम्मे फुलेका आमाको कपाल देखेर । पहाडजस्तो जिन्दगी, जिन्दगी जस्तो पहाडका कथाहरु । … ‘पहाडका कथाहरु’कै अन्य दुई अंश ।

‘पात्रहरुसँग एक साँझ’ शीर्षकको कथामा सन्देशमूलक बनाउने क्रममा असफल लाग्ने देख्दादेख्दै पनि यो केही हरफहरुलाई नजरअन्दाज भने गर्न सकिएन ….’हाउ लुङ्गा ! समयको आहृवानमा एक समुदायले अर्को समुदायलाई धारे हात लगाएर सराप्नु भन्दा हामी किन एक समुदायले अर्को समुदायप्रति हार्दिकता प्रकट गर्न सक्दैनौं ? के हामीमा सहिष्णुता विलीन हुँदै गएकै हो त ?’…. प्रसङ्गविहीन अवस्थामा अमूक लम्पासारिएको माथिको भनाइ, तर आफैमा पूर्ण रहेको भने छ, जसलाई लक्ष्मीले विस्तार दिन नसकेको सोपछि उक्त शीर्षकको कथा पढेपछि थाहा लाग्न आउँदछ ।

‘अन्तिम रात’ शीर्षकको कथामा वर्तमान सम्वन्धको परिदृश्यलाई खुलाउँदै माया वा प्रेम भन्ने भाव गरेर वा लगाएर हुने नभई एक प्रकारले स्वतः मनको पिँधमा नै लेउजसरी जमेर रहने हार्दिक पन हो भन्ने आसय बेलाबेलामा दिँदै माया मिरेजजस्तो हो र माया मिरेजजस्तो पनि होइन भनेर दुई किसिमको खाका कोर्न कथा सफल लाग्दछ । पहिलो प्रेम खासगरी त्यो बेलामा हुने गर्दछ, जुनबेला यौनको तृष्णा तथा त्यसले व्याकुल पार्ने मनोभाव बनिसकेको हुँदैन । शारीरिक रहरले उब्जने आकर्षण बाहेकले सिर्जना गर्ने आकर्षण नै जुगौंजुगको लागि स्थायी रुपमा मनभित्र जमेर रहेको हुन्छ । सायद त्यसैले नै वहुसंख्यक व्यक्तिहरु आफ्नो पहिलो प्रेमलाई भुल्न सक्दैनन्, किनकि शारीरिक सम्वन्ध नराखिएको सम्वन्धलाई पवित्र सम्वन्ध भनिने भए त्यही प्रेममा त्यही पवित्रता त्यसरी मनभित्र गाढा रुपमा बस्न सफल भएको हुन्छ, -यहाँ भन्न सकिन्छ । ‘अन्तिम रात’ शीर्षकको कथामा वर्तमान परिवेशमा युवाहरुमा हुने गरेको प्रेमहरुको जग उही शारीरिक सम्वन्धमा रहेकोले नै होला, बिछोडले पोल्दैन, एक्लोपनले अत्याउँदैन । यस कथामा लक्ष्मीले वर्तमान प्रेमिल अवस्थाको यर्थाथ पस्कन सफल भएकी छिन् ।

अन्त्यमा,
लक्ष्मी राई अर्थात् आफूलाई लारा भनाउन रुचाउने महिला, नेपाली साहित्यको मूलधार भनिने धारहरुलाई गम्भीर दखल दिन सक्ने सामर्थ्यवान महिला हुन् । एक जिम्मेवार अनि कर्तव्यनिष्ठा महिलाले आफ्नो आम नियमित नेपाली सामाजिकतालाई घरपरिवारसहित भोग्दै पनि नेपाली साहित्यमा, नेपाली उठबसहरुमा जुन किसिमले आफ्नो उपस्थिति जनाएकीछिन्, त्यसलाई कम आँक्नु दम्भी पुरुष स्वभाव हुनजान्छ । साहित्यमा केही गर्न सक्ने, वा साहित्यिकतालाई बारम्बार जन्माउन सक्ने तथा शब्दहरुलाई खेलाउन सक्ने क्षमता अजस्र रुपमा भएर पनि लक्ष्मीमा अध्ययनको कमी देखिन्छ । गफहरुका लागि नै गफ गर्ने पनलाई छाडी बुझ्नका लागि विचारको सीमा विस्तार गर्ने भए लक्ष्मीको साहित्यिक भविष्य निक्कै नै उज्ज्वल छ । जसको लागि म अहिले नै शुभकामना दिन चाहान्छु ।
-प्रकाश के.सी.