भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई नै अघिसार्न सुझाव

भावी प्रधानमन्त्रीको रुपमा ओलीलाई नै अघिसार्न सुझाव


नेकपा (एमाले)को हिजो शुक्रबारदेखि जारी केन्द्रिय समितिको बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको विषयमा छलफल केन्द्रित भएको छ । बैठकमा अधिकांश एमाले केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका र उनीहरुले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने धारणा राखेका बुझिएको छ ।

विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव आएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । शुक्रबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न आठ समूहमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरिएका थिए । प्रतिवेदनमाथि सुझाव दिनेहरुमा प्रदेश नं १ का तर्फबाट डा. शिवमाया तुम्बाहाम्फे, प्रदेश नं २ बाट सत्यनारायण मण्डल, प्रदेश नं ३ बाट काशिनाथ अधिकारी, प्रदेश नं ४ बाट गणेश तिमिल्सिना, प्रदेश नं ५ बाट दलबहादुर राना, प्रदेश नं ६ बाट यामलाल कँडेल, प्रदेश नं ७ बाट उपाध्यक्ष भीम रावल तथा मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डे रहेका राससले जानकारी दिएको छ ।

एमालेले आगामी निर्वाचनमा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई समेटेर नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव उल्लिखित समूहहरुबाट आएको थियो ।

आगामी संघीय र प्रादेशिक निर्वाचनमा पार्टीको स्पष्ट बहुमतसहित सबै तहमा सरकार बनाउने गरी ठोस नीति, योजना र जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढ्नुपर्ने सुझाव छलफलका क्रममा आएको नेता ज्ञवालीले जानकारी दिए । भोली आइतबार बस्ने बैठकमा अध्यक्ष ओलीले समूहगत छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् भने आइतबार नै केन्द्रिय समितिको बैठक टुंगिने बताइएको छ ।