ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट २९ स्थानीय नेताहरु उम्मेदवार बन्ने प्रतिस्पर्धामा उत्रिएका छन् । प्राप्त जानकारी अनुसार ललितपुरको संसदीय निर्वाचन क्षेत्र नं–१ मा उदय शमशेर राणा र मथुराप्रसाद घिमिरेको नाम सम्भावित उम्मेदवारको रुपमा अगाडी आएको छ ।
राणा हाल उक्त क्षेत्रबाट सांसद र अर्थराज्य मन्त्री समेत छन् । मथुराप्रसाद घिमिरे त्यस क्षेत्रमा पुराना कांग्रेस नेताको रुपमा चिनिन्छन् । पार्टीले घिमिरेलाई अहिलेसम्म कुनै अवसर उपलब्ध गराएको छैन । २ नम्बर क्षेत्रमा चन्द्र महर्जन निर्विकल्प जस्तै देखिएका छन् । तथापि उक्त क्षेत्रमा रामकृष्ण चित्रकारले समेत दाबी गरिरहेका छन् । ३ नम्बर क्षेत्रमा पार्टी सभापति समेत रहेका मदन अमात्यलाई टक्कर दिन जितेन्द्र मलेकु श्रेष्ठ अघिसरेका छन् । कतिपयले पुराना नेता ओमकारप्रसाद श्रेष्ठको समेत नाम लिएका छन् ।
प्रदेश सभाको ६ स्थानका लागि एक नम्बर निर्वाचन क्षेत्र अन्तर्गतको एउटामा ऋषिराम घिमिरे र कवेलबहादुर लामाको नाम अगाडी आएको छ । दुई दावेदारमध्ये घिमिरेको स्थिति अलिक सुदृढ भएको मानिन्छ । अर्कोमा पुरुषोत्तम सिलवाल र मिनकृष्ण महर्जनको नाम चर्चामा छ । त्यस क्षेत्रमा दुवै जना बलिया मानिएका छन् । त्यस्तै २ नम्बर निर्वाचन क्षेत्र अन्तर्गतको एउटामा गणेश सिलवाल, महेन्द्रदेव सिंह, प्रदिप मर्दन केसी र पवनविक्रम थापा सम्भावित उम्मेदवारका रुपमा चर्चामा छन् ।
उल्लिखित चारमध्ये गणेश सिलवाल र पवन विक्रम थापा तुलनात्मक रुपमा बलियो दावेदारको रुपमा देखिएका छन् । सोेही क्षेत्रको अर्कौमा भने प्रेमकृष्ण महर्जन, फरिन्दा महर्जन, भगवति शाही र नन्दकिशोर शाहीले उम्मेदवारी दावी गरेका छन् । उल्लिखित ६ जनामा प्रेमकृष्ण मर्हजनलाई सर्वाधिक बलवान दावेदारका रुपमा लिइएको छ । प्रेमकृष्णको नाम गत स्थानीय निर्वाचनको समयमा ललितपुर महानगरको मेयरको उम्मेदवारका रुपमा समेत चर्चामा थियो ।
३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभाको दुई स्थानमध्ये एउटामा चक्र महर्जन, महेश्वर थापा, धनकपुर महर्जन, धन खतिवडा र गोकुल खड्का उम्मेदवार बन्ने प्रतिष्पर्धामा छन् । उल्लेखित नामहरु मध्ये सो क्षेत्रमा महेश्वर थापालाई बलियो मानिएको छ ।
अर्कोमा भरतलाल न्ह्याछयों, प्रमोद शर्मा, नानीमैया परियार र शिवराम बाँनियाको नाम चर्चामा अगाडी आएको छ । चारमध्ये भरतलाल न्ह्याछयों र प्रमोद शर्माको नामलाई अलिक गम्भीर रुपमा लिने गरिएको छ । दुवै जना कांग्रेसका पुराना र जिल्लामा परिचित नेता मानिन्छन् । भरतलाल न्ह्याछयों ललितपुर महानगरमा बलिया दावेदार थिए । उनलाई महानगरका २९ वटै वडाले सिफारिश गरेको थियो । तर टिकट भने अर्का लोकप्रिय व्यक्तित्व चिरिबाबु महर्जनले पाएका थिए । र, उनी विजयी पनि बनेका छन् । न्ह्याछोंले प्रदेश सभाको उम्मेदवार बन्ने अवसर पाएमा उनी विजयी बन्न सक्ने विश्वास ललितपुरका कांग्रेस सर्मथकहरुले गरेका छन् ।
प्रतिक्रिया