दरबारमार्गबाट पुग्यो मन्त्रीसमक्ष १७८ लाखको थैली !

दरबारमार्गबाट पुग्यो मन्त्रीसमक्ष १७८ लाखको थैली !


रोशन कार्की

उपभोक्ता ठगी गरेको र राजस्व छली गरेको आरोपमा मन्त्रीले नै सिलबन्द गरिएका दरबारमार्गको पसल खुलेका छन् । आपूर्तिमन्त्री शिवकुमार मण्डलकै नेतृत्वमा पुगेको एक टोलीले अत्याधिकमात्रामा मुल्य राखी उपभोक्ता ठगी गरेको भन्दै २० दिन पहिले सो क्षेत्रका सिलबन्द पसलहरु एकाएक खुलेपछि मन्त्री मण्डलको भनाई र गराइमा शंका उत्पन् भएको छ । मन्त्री मण्डलले कुनै पनि हालतमा कारबाही नगरि नछोड्ने प्रतिबद्धता व्यक्त गरेको २० दिनमा सो प्रतिबद्धतालाई लत्याउदै विना कारबाही पसल खुलाउन स्वीकृत दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

आपूर्ति व्यवस्थापन विभागले अनुसन्धान प्रकृयालाई निरन्तरता दिनेमात्र शर्तमा ती पसलको सील खोल्न दिइएको हो । आपूर्तिमन्त्री मण्डल र दरबारमार्ग विकास बोर्डका प्रतिनिधीबीच गोप्य र पटकपटक भएको भएको छलफलमा अनुसन्धान प्रकृयालाई निरन्तरता दिने र पसलको सिलबन्दी खोल्ने सहमति भयो, सो सहमतिसंगै व्यापारीहरुले सिलबन्द पसल र अन्य दरबारमार्गका पसल सञ्चालकसंग कमिशनको थैली समेत बुझाएको मन्त्रालय स्थित एक उच्च स्रोतको दाबी रहेको छ ।

नाम गोप्य राख्ने सर्तमा स्रोतले भन्यो,‘मन्त्री र व्यवसायीबीच भएको बार्तामा सिल खोलीदिएमा मागे जति रकम बुझाउने र अरु समयमा मिलाएर कमिशन उपलव्ध गराउने गोप्य सम्झौता भएको छ, पहिलो चरणमा सिल खोलिदिनमात्र व्यवसायीहरुले १ करोड ७८ लाख ९० हजार रुपैयाँको थैली बुझाएका छन् ।’

सो रकम उपलव्ध गराउने सहमति भएपछि आइतबार साँझ ६ बजे व्यापारीलाई सीलबन्द सबै पसल खुलाउन दिइएको हो । बार्तामा बोर्डका अध्यक्ष गोपालसुन्दर कक्षपत्तिले मन्त्रीसंग कुरा मिलाउने जिम्मेबारी लिएका थिए । २० दिनसम्म पटकपटक सिल खोल्न मन्त्रीलाई उच्च तहबाट दबाब दिदै व्यापारीहरु आएका थिए । सो दवावको समेत बेवास्था गर्दै मन्त्री मण्डल बसेपछि अन्त्तमा रकमको थैलीनै बुझाएपछिमात्र अनुसन्धानलाई नरोक्ने शर्तमा पसलको सील खुलेको आरोप अन्य व्यवसायीहरुको रहेको छ ।

चाडपर्वमा उपभोक्ताले अन्यको समयभन्दा बढीसामान खरिद गर्ने भएकाले सो समयमा बन्द पसल खुलाउन ‘सामदाम’ को प्रयोग समेत गरेको पाइएको छ । ती बन्द पसल खोल्न नेपाल उद्योग वाणिज्य महासंघके अध्यक्ष भबानी राणा सहितको टोलीले प्रधानमन्त्री तहमै गएर दबाब दिएका थिए ।

माओवादी केन्द्रबाट मन्त्री बनेका मण्डललाई मनाउन अध्यक्ष पुष्पकमल दाहाल समक्ष समेत व्यवसायीले निरन्तर दबाब दिएका थिए । उच्च तहबाट आएको दबाबलाई २० दिनसम्म बेबास्था गरेपनि अन्त्यमा अनुसन्धानलाई जारी राखिने भन्दै विना कारबाही पसलको सील खोलिएको छ ।

नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा कानूनी रुपमा गल्ती गर्नेमाथी कारबाही गर्न सहयोग गर्ने तर पसलमा लागाएको सिल खोलीदिन सरकारलाई आग्रह गर्दा समेत मन्त्री मण्डलले सो आग्रहलाई मानेका थिएनन् । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीहरुमाथीको छानविनमा चेम्बरले पनि सहयोग गर्ने र कानून विपरित कारोबार गरेको पाइएमा कारबाही समेत गर्न सहयोग गर्ने बचन दिदा समेत सरकारी पक्षले नमानेको बताए ।

दरबारमार्गमा ५० प्रतिशत भन्दा बढी छुट लागेका बोर्ड भएपनि मुल्य ५० प्रतिशत भन्दा बढी थपेर सेलका नाममा ठगी गरेको पाइएको सरकारी पक्षको जिकिर थियो । धेरै मुनाफा लिएर सामान बिक्री गरेको भेटिएपछि दरबारमार्गका नाइक, वेन्टले, स्टोर वान र पुमाको पसलमा सिल गरेको थियो । अहिले सो स्थानमा रहेका पसल सञ्चालकहरुले कपडा र जुत्तामा झुण्डाइएका मूल्यसूचीको लेवल हटाएर सामान बिक्री गरिरहेका छन् । दरबारमार्गका एक व्यापारीका अनुसार सामानमा मुल्यसूचीको लेवल झुण्डाउदाँ मंहगोमा बिक्री गरेको खुलेको बताए ।