‘दुर्गा’: एक आत्मशक्ति र साहस

‘दुर्गा’: एक आत्मशक्ति र साहस


– सुनिलबाबु पन्त

नेपालमा देवीका मन्दिर र शक्तिपीठहरु थुप्रै छन्। यी सबै देवीमध्ये भवानी दुर्गाको विषेश स्थान छ। दुर्गा राजा-माहाराजाकी देवी हुन्, राम र रावण दुबै उनको उपासना गर्दथे । उनलाई सिंहमाथि सवार गरेको, हातमा थुप्रै अस्त्र-शस्त्र धारण गरेको र महिषासुरसंग लड्दै गरेको देखाइन्छ। आमनेपाली हिन्दुहरुको महान चाड बडादशैं यिनै दुर्गा भवानीका लागि समर्पित छ, नवरात्रभरी नौ स्वरुपहरु- शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको विशेष पूजा र आराधाना गरिन्छ।

दुर्गालाई विजयको प्रतिक पनि मानिन्छ। ‘दुर्गा’ शव्दको अर्थ बुझ्नका लागि पहिला ‘दुर्गम’ शब्दलाई बुझ्नु पर्दछ। ‘दुर्गम’ शब्द ‘दुर्’ र ‘गम्’ शब्दको समिश्रणबाट बनेको हो जसको अर्थ पार लगाउन निकै कठिन (दुर्गम) गन्तव्य या लक्ष र यो कठिन (दुर्गम) गन्तव्य या लक्षलाई पार लगाउन सक्ने अर्थात ‘दुर्गा’। यसै शब्दवाट ‘दुर्ग’ अर्थात किला: (fortress) भन्ने शब्द पनि बनेको छ, दुर्ग (वा किला:) शत्रुको आक्रमणवाट सुरक्षा गर्नका लागि अग्लो पर्खालले घेरिएको ठांउलाई भनिन्छ।

दुर्गाको अर्को नाम ‘शक्ति’ पनि हो। त्यसैले दुर्गा भनेको यस्तो व्यक्ति जो पार लगाउन निकै कठिन गन्तव्य या लक्षमा पुग्न सफल हुन्छ, जो शाक्तिशालि छ। ‘दुर्गा’लाई पुरानो धार्मिक परम्परा अनुसार पुजा-अर्चना र वली चडाउनेमा मात्र सिमित राख्न पनि सकिन्छ वा सांकेतिक अर्थमा बुझेर आधुनिक संदर्भमा पनि लिन सकिन्छ। ‘दुर्गा’, त्यसैले आजको चुनौतिहरुले भरिएको संसारको सामना गर्न, हामीले आफैले निर्माण गर्न सक्ने एक ‘साहस’ को पर्खाल हो जस्ले हामीलाई ती चुनौतिहरु सामना गर्न र यसवाट पार लगाउन ‘आत्म-शक्ति’ प्रदान गर्छ।

नेपालको राजनितिक वेथिति, राज्य संयन्त्र र विकास-निर्माणलाई नियन्त्रणमा लिएको माफियातन्त्रले आम जनसमुदायको वारम्वार खिसि उडाउने र निरिह बनाउने काम गरिरहेको छ, स्वतन्त्रता निमोठिरहेको छ। यूवा जमातको पलायन, अशिक्षा र गरिविले देश महिषासुुरले आक्रमण गरे जस्तै घायल बनेको छ। सरकारका ‘यूवा शक्तिको सशक्तिकरण, दुईअंके विकास र समावेशि लोकतन्त्र’का नारा व्यवहारमा लागु हुन सकेका छैन- व्यानर, पोष्टर र वजेट भाषणमा नै सिमित छन्।

विकास र राज्य संयन्त्र संचालनका प्रकृया हेरौं-

विकासको बजेट राजनितिक दलको वा खास नेताको खास मतलव हेरेर खास योजना र खास जिल्लाका लागि छुट्टयाइन्छ। सानादेखि ठुला टेण्डर त खुल्छन् ‘खुला प्रतियोगिता’ भनेर देखाउनका लागिस तर माफिया तन्त्र भन्दा वाहिरकाले कहिल्यै टेण्डर हात पार्दैनन् । वर्षभरी वजेट अनुसार खासै कुनै काम हुदैन अनि वजेट सकाउन जेठ-असारमासा रातारात हतारमा सडक खन्ने वा विजुलिको पोल गाड्ने वा ढल खन्ने लगायतका काम सुरु हुन्छन्।

सरकारी जागिर होस्, मेडिकल कलेजमा भर्ना होस् वा इजरायल वा जापान जस्ता अलिक राम्रा मुलुकमा कामदारका रुपमा जान होस् भनसुन नगरी केहि काम हुंदैन वा घुस नै दिनुपर्ने हुन्छ। ठूला राजनैतिक दल अर्को दलको सरकारलाई गिराउने र आफू सरकारमा जाने तथा जसरि भएपनि आफ्नो सरकार टिकाईराख्नमा केन्द्रित छन्, साना राजनैतिक दलहरु ‘गतिलो’ मन्त्रालयसहित सरकारमा जाने ‘लविङ्ग’ गर्छन्, यतिले पनि नभए आफ्नै दल फूटाएर पनि सरकारमा जाने ध्याउन्नमा लागिरहेका हुन्छन्। चुनावको बेलामा गरेका वाचाहरु र घोषणापत्रका ठूला-ठूला नाराहरु त अर्को चुनाव नहुन्जेल सम्मका लागि पार्टिकार्यलयको पुरानो दराजमा थन्किसकेका हुन्छन्।

शिक्षाको हालत त्यस्तै छ, पढाई पुरा गरे पनि व्यवहारिक र व्यवसायिक दुनियामा कुनै काम लाग्दैन, कुनै काम पाईदैन यस्ता डिग्रि देखाएर। सरकारसंग रोजगारि सृजना गर्ने कुनै निति र कार्यक्रम त छैन, रेमिटेन्सको हिसाव भने खुसिसाथ वार्षिक प्रेतिवेदनामा हाइलाइट गरिएको हुन्छ। विरामि भए, दुर्गमका र पैसा नहुने जनताले पशुपतिनाथ कै भरोषामा वांच्नु परेको हुन्छ।

भनिरहनु पर्दैन कि आम जनता कति दिक्क छन् भनेर। केहि ‘हुने खाने’ यूवाहरु आफ्नो दिक्दारि र आक्रोश फेसबुक लागायत सामाजिक सञ्जानमा पोख्छन्। ‘हुंदा खाने’ यूवाहरु भने ‘यो देशमा वसेर गरीखान पाईदैन’ भन्दै दिक्दार, निराश र निरिहस् भएर मलेशिया, अरव लगायत देशमा पलायन हुन्छन् , ‘ज्यान फालेर’ मजदुरी गर्न। वांचेर फर्खे ‘अति नै भाग्यमानी’, लाश फर्के ‘ठिकै भाग्यमानी’, लाश पनि नफर्के ‘अभागी रैछ’ भन्छन् गाउंलेहरु।

सरकारले समयमा वांध बनाउंदैन वा विदेशिले बनाइदिएको वांधको पनि समयमा उचित मर्मत गर्दैन, वाढीपहिरो आएपछि भने अलि-अलि राहत छर्ने काम गर्छ, लोकलाजले, त्यो पनि विदेशिको मुख ताकेर। बर्षेनी नया सरकार बन्छ, संपूर्ण चिन्ता कसरि भारत र चाइनालाई ‘व्यालेन्समा’ राक्ने भन्नेमै जान्छ, ताकि आफ्नो सरकार उत्तर वा दक्षिणका राहु वा केतुको वक्रदृष्टि परी अकालमै मृत्यूसैयामा पुग्नु नपरोस् भनेर। जनाताको सुख-सुबिधा र देश विकासको चिन्ता प्राथमिकता मा नै छैनन्, भाषण जतिसुकै चर्का गरे पनि।

जागरुक जननेताहरु, सक्षम नागरिक समाज र जिम्मेवार सञ्चारमाध्यमहरु यो ‘देशको बारम्बार खिसी उडाउने र जनतालाई बारम्बार निरिह बनाउने’ संयन्त्र र वातावरण को विरुद्ध सजग र कृयाशिल हुनु पर्ने हो। जनतालाई ‘दुर्गा’ अर्थात ‘आत्मशक्ति र साहस’ दिनु पर्ने हो, ‘उठ ! आफ्नो सशक्तिकरण गर्दै यो दुर्गति, अविकास र गरिवि जस्तो मुश्किल यात्रा पार लागाउनका लागि, महिषासुर जस्ता असुरहरुको सामना गर्नका लागि ‘दुर्गा’ बनेर उठ !, शक्ति बनेर ऊठ !, हामी तिम्रा हतियार बन्न तयार छौं’ भन्दै।

यसपटकको दशैंमा सबै नेपालीहरु आ-आफ्नो आत्मचेतनामा ‘दुर्गा’ अर्थात ‘आत्म-शक्ति र साहस’ जगाउन सफल होउन्, सबैमा वडा दशैंको शुभकामना !