एशियन इन्डोर गेम्समा नेपालको तेजोबध

एशियन इन्डोर गेम्समा नेपालको तेजोबध



– श्रीविक्रम भण्डारी

तुर्कमिनिस्तानको अस्गवातमा सञ्चलान भैरहेको पाँचौं एसियन इन्डोर तथा मार्शल आर्टस् गेम्समा खेलकुद पदाधिकारी र खेलाडीको चरम लापरवाहीले राष्ट्रको तोजोवध भएको छ । राष्ट्रको झण्डा बोकेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका खेलाडी र पदाधिकारीले खेल भावना विपरीत कार्य गर्दै नेपालको नाममा कलङ्क पोत्ने कार्य गरेका छन् ।

सो कार्यमा राष्ट्रिय खेलकुद परिषद, सर्वोच्चवाट अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद संघका पदाधिकारी र खेलाडी प्रमुख हात रहेको छ । यतिबेला एकले अर्कोलाई दोष दिएर उम्कने प्रयास गरेपनि साँचो रुपमा खेलाडी मात्र नभै पदाधिकारीहरू पनि उत्तिकै दोषी भएको उनीहरूले अस्गवातमा गरेको क्रियाकलापवाट थाहा पाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएपछि राष्ट्रको मान–सम्मान र प्रतिष्ठा दाउमा लागेको हुन्छ । त्यहाँ हुने कुनै पनि घटनाको प्रत्यक्ष असर राष्ट्रलाई पर्छ । यसरी राष्ट्रको प्रतिष्ठा नै दाउमा लागेको अवस्थामा कोही पनि गैरजिम्मेवारी हुन पाउँदैन । यदि कसैले गैरजिम्मेवारी कार्य गर्छ भने त्यसले मुलुकको प्रचलित कानुन व्यवस्था अनुसार सजायको भागिदार बन्नुपर्छ । तर विडम्वना, नेपालको कानुनलाई रद्दीको टोकरीमा फालेर आफ्नो दुनो सोझ्याउने आएकाहरूवाट यस्तो अपेक्षा कदापी गर्न सकिदैन् । जसको फल अहिले राष्ट्रले पाएको छ । नेपालको अन्तराष्ट्रियस्तरमा घोर अपमान भएको छ ।

कुरा यहिवाट तय भएको थियो । अवैधानिक ओलम्पिक कमिटीका पदाधिकारीहरूले तेक्वान्दोकि निमा गुरुङलाई उद्घाटन समारोहमा नेपालको झण्डा बोक्ने निर्णय गरेको थियो । त्यो कुरामा खुद जीवनराम श्रेष्ठले लालमोहर लगाएका थिए । तर विडम्वना, निमा विच बाटोमै रोकिदा जीवनरामले निभाएको भूमिका यति निन्दनिय छ कि त्यसको वर्णन शेष नागले पनि गर्न सक्तैन । अर्थात श्रेष्ठ एउटा अन्तर्राष्ट्रिय खेलाडीमाथि शत्रुलाई पनि नगर्ने व्यवहार गरेका थिए । जस्को जति निन्दा गरेपनि कमै हुन्छ । गन्तव्यसम्म पुग्ने टीकट नभएर अलपत्र परेकि एक खेलाडीलाई विरानो ठाउँमा एक्लै छोडेर आफु आराम फर्माउँदै यात्रामा निस्किएका थिए ।

त्यसपछि निमाको रुवाबासी सुरु भएको थियो । लामो विलापपछि आफुसंग लगेको रकमले टीकट काटी निमा अस्गवात पुगेकि थिइन् । त्यसपछि पनि उनको कुनै खोजखवर भएन् । परिणाम निमाले राष्ट्रको झण्डा बोक्ने अवसरवाट बन्चित भइन । तर नकचरो भूमिका निभाई रहेका खेलकुदका पदाधिकारीहरू भने रंगशालाको भिभिआईपी कक्षमा बसेर अठ्ठाहास गरिरहेका थिए । जुन निमाको लागि निकै पिडादायक बनेको थियो । निमाको यस्तो दुर्दशा गराउनमा राष्ट्रिय खेलकुद परिषदको पनि उक्तिकै हात रहेको छ । यदि राखेपले अस्गवातसम्मको टीकट काटीदिएको भए निमाले यस्तो दुःख पाउने थिएनन् ।

प्राप्त जानकारीका अनुसार राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दो, पौडी र बुद्धिचाल र भारोत्तलनलाई मात्र पाँचौं इन्डोर गेम्सको लागि पठाएको दावी गरेको छ । सो कुरा राखेप सदस्यसचिव तथा यो प्रतियोगिताका सेभ द मिसन केशवकुमार विष्टले बताएका छन । तर यो प्रतियोगितामा आठवटा खेलका खेलाडीहरूले सहभागिता जनाएका छन । जस्मा कुराँस, मुवाथाइ, किक बक्सिङ र थ्री वाई थ्री बास्केटबल रहेका छन । आखिर यी खेलहरूको सहभागिता कसरी भयो भन्ने वारेमा राखेपले आफुलाई थाहा नभएको बताएको छ भने जीवनराम श्रेष्ठले मौनता साँधेका छन । आखिर कुरा जे भएपनि यसमा राखेप र एनओेसीविच ठूलै खिचडी पाकेको सोझै अनुमान लगाउन सकिन्छ । स्मरण रहोस्, यी चार खेलका खेलाडीहरू आफ्नै खर्चमा अस्गवात पुगेको सुनिनमा आएको छ ।
अस्गवात पुगेका खेलाडी प्रतिस्पर्धामा नउत्रिएपछि अहिले व्यापक चर्चाको विषय बनेको छ । त्यो हुनुपनि स्वभाविकै हो, यसर्थमा कि त्यहाँ राष्ट्रको नाम गाँसिएको छ । सुनिनमा आएनुसार कुनै खेलाडी समयमा पुग्न नपाउँदा खेल्नवाट बन्चित भए, कुनै खेलाडी शौचालय गएका कारण रिङमा उत्रिन पाएनन्, कुनै खेलाडी समयको तालमेल नमिल्दा खेल्नवाट बन्चित भए । आखिर भएको के थियो त त्यहाँ ? त्यो आफैमा लाजमर्दो छ ।

कसैले बहिनी लिफ्टमा थुनियो, कसैले शौचालय जाने बहाना बनाएपनि त्यो बाहना मात्रै थियो । साँचोरुपमा भन्नुपर्दा खेलाडीहरू डराएर खेलेको थिएनन् । कारण प्रस्ट छ, नेपाली खेलाडीहरूले यस्तो बाताबरण नै देखेकै थिएनन् । खेलाडीहरू त्यहाँको उत्कृष्ट माहोल देखेरै मानसिक रुपमै पराजित भैसकेका थिए । परिणाम उनीहरूले खेल्नुभन्दा नखेल्नु नै उचित ठानेर प्रतियोगिता स्थल छोडेर भागेका थिए । स्मरण रहोस, नेपालको परिप्रेक्ष्यमा यी चारवटा खेलहरू नितान्त नौंला हुन् । यी खेललाई कस्को सिफारिसमा त्यहाँ लगियो ? त्यो खोजीको विषय बनेको छ । राम्रा भन्दा पनि आफ्नालाई प्राथमिकता दिएका कारण मुलुकको मानमर्दन भएको एक खेल पदाधिकारीले बताएका छन् ।

अब कुरा आउँछ यस्ता खेलाडीहरूलाई किन राष्ट्रको वेइज्जत गर्न त्यहाँ लगियो प्रश्न उठेको छ । तर यो प्रश्नको जवाफ कसले दिने, कसैले आँट–साहस देखाएको छैन । राज्यको ढुकुटी सिध्याएर राष्ट्रकै नाम कलंकित गर्नेलाई अब सम्बन्धित निकाय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले अब कस्तो कारवाही गर्छ त्यो प्रतीक्षाको विषय बनेको छ ।