एमालेले यस्तालाई बनाउँदैछ उम्मेदवार

एमालेले यस्तालाई बनाउँदैछ उम्मेदवार


आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले)ले यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश गरेको छ । सो पार्टीको हिजो मंगलबार बसेको स्थायी कमिटीको बैठकले गरेको निर्णयअनुसार यही असोज १६ र १७ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको निर्णणअनुरुप जिल्ला कमिटीमा नाम सिफारिस गर्न र १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा पठाउनुपर्ने छ ।

प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिनुपर्ने बताइएको छ । ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठक बस्ने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । एमालेले असोज २९ गते संघ र प्रदेशको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्ने जनाएको छ ।

बैठकको निर्णयअनुसार सो पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार बनाउने छैन, तर विशेषस्थितिमा महिलाहरुको हकमा केही उम्मेदवार दोहोरिन सक्ने बताइएको छ । उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जित्न सक्ने, जनतमा लोकप्रिय, संसदीय दृष्टिकोणमा रुची र ज्ञान भएको, समावेशिता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतको मापदण्ड तय गरेको छ ।