लण्डन । नेपाली डायस्पोरिक साहित्यका एक नक्षत्र कवि ईश्वर मानन्धरको आइतबार अन्त्येष्टि गरिएको छ । फेब्रुअरी ४ शनिबार देहान्त भएका मानन्धरको एक सातापछि फब्रुअरी १२ मा दाह संस्कार भएको हो । स्वर्गीय मानन्धरको पार्थिव शरीरलाई उनका छोरा बिनोद मानन्धरले गोल्डर्स ग्रीनस्थित गोल्डर्स ग्रीन क्रेमाटोरियममा रातो बत्ती बालेर (भित्र पठाएका) दाहसंस्कार गरेका थिए । पण्डित चिरञ्जिवी ढकालले हिन्दू धर्म तथा परम्पराअनुसार मानन्धरको अन्तिम संस्कारमा सहयोग गरेका थिए ।
मानन्धरप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न लण्डनस्थित नेपाली दूतावासका राजदूत डा. सुरेशचन्द्र चालिसे, डेपुटी चिफ अफ मिसन अम्बिका मानन्धर लुइंटेल, एन आर एन यूकेका अध्यक्ष कुल आचार्य, तथा बेलायतस्थित बुद्धिजीवी, व्यवसायी, साहित्यकार, पत्रकार, एवं समाजसेवीहरुको बाक्लो सहभागिता रहेको थियो ।
बेलायतको नेपाली समुदायमाझ अत्यान्त लोकप्रिय समाजसेवी एवं सरल स्वभावका मानन्धर एक कुशल कवि, साहित्यकार, व्यवसायी, व्यवस्थापक एवं संस्थापक रहेका थिए । स्वर्गीय मानन्धर एक धर्मपत्नी, एक छोरा तथा तिन छोरीका अभिभावक मात्र नभई कुशल प्रशासकदेखि समाजसेवीसम्म भएको बेलायतस्थित बुद्धिजीवी कूल बहादुर लुइटेलले बताए ।
स्वर्गीय मानन्धरप्रति श्रद्धासुमन व्यक्त गर्दै डा. रुपक श्रेष्ठले बृद्ध उमेरमा पनि साहित्य र समाजको उत्थानमा उनको दूरदर्शी विचार रहेको स्मरण गरे । यस्तै मानन्धरका सहकर्मीद्वय गोपाल मानन्धर र पूर्ण मधिकर्मीले समाजका हरेक क्षेत्रमा उनको योगदान प्रशंसनीय रहेको जानकारी दिएका थिए ।
मानन्धरकी छोरी संगिता मानन्धरले आफ्ना बाबा असल अभिभावक र प्रेरणाको श्रोत भएको स्मरण गरिन् । भाव विव्हल मुद्रामा रहेकी संगिताले बोल्दा सहभागी सबैको आँखा रसाएका थिए । नातिनी मिजला मानन्धरले हजुरबुबा स्वर्गीय ईश्वर मानन्धरको ठट्यौली बानीको स्मरण गर्दै उनीप्रति आफ्नो श्रद्धा प्रकट गरेकी थिईन् । उनले स्वर्गीय मानन्धरको चर्चित कविता वाचन गरेर सुनाईन् । आफु वाल्यअवस्थामै रहँदा हजुरबुबाले भनेका कुराहरु सम्झँदै उनले मानन्धर सभ्यता र संस्कृतिको धरोहर रहेको चर्चा गरिन् ।
मानन्धरको दाहसंस्कारमा उनका धर्मपत्नी जानकी मानन्धर, छोरा विनोद मानन्धर, छोरीहरु सविता मानन्धर, ललिता मानन्धर, संगिता मानन्धर, ज्वाइँ तथा नातिनातिनाहरु सहभागी भएका थिए ।
स्वर्गीय मानन्धरको पार्थिव शरीरमाथि विश्व हिन्दू महासंघ यूकेले झण्डा ओढाइदिएको थियो । महासंघको तर्फबाट बालमुकुन्द प्रसाद जोशी, विजय थापा, सुदर्शन नापित, राजन पाण्डे र शिव शैंजु सहभागी भएका थिए । स्वर्गीय मानन्धर विश्व हिन्दू महासंघका संस्थापक अध्यक्ष थिए ।
त्यस्तै पासापुच गुठी बोर्ड अफ ट्रष्टी बेलायतले पनि मानन्धरको सम्मानमा झण्डा ओढाइदिएको थियो । स्वर्गीय मानन्धरको पार्थिव शरीरमाथि पासापुचका कुमार श्रेष्ठ, कपिल श्रेष्ठ, सचेतन तुलाधर र राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए । -धर्मराज अधिकारी
प्रतिक्रिया