९८ जना फरार कैदी पक्राउ गर्न प्रहरी असफल

९८ जना फरार कैदी पक्राउ गर्न प्रहरी असफल


पछिल्लो समय नेपालमा रहेका कारागारहरु कमजोर रहेको चर्चा चलिरहँदा एक कारागारबाट ९८ जना कैदी फरार भएको पाइएको छ ।

भूकम्पपछि सिन्धुपाल्चोक जिल्लास्थित कारागार भत्किँदा फरार भएका बन्दीमध्ये साधारण अपराधमा संलग्न कारागारको सम्पर्कमा आएपनि ठूला अपराधमा संलग्न ९८ जना कैदी तथा थुनुवा अझै फरार छन् ।

०७२ वैशाख १२ गतेको भूकम्पका दिन कारागारमा ११८ कैदी र ९८ थुनुवा गरी २१६ जना बन्दी थिए । भूकम्पले कारागार भत्किएपछि तितरवितर भएका ११८ जना बन्दी सम्पर्कमा आएपनि ९८ जना अझै सम्पर्कमा नआएको जिल्ला कारागार सिन्धुपाल्चोकका सूचना अधिकारी टीका दाहालले जानकारी दिए ।

करणी, मानव बेचबिखन तथा ओसारपसार, कर्तव्य जान मुद्दा, विदेसी मुद्रा अपचलनजस्ता जघन्य मुद्दामा दोषी ठहरिएका र मुद्दा सुनुवाइको क्रममा रहेका अधिकांश बन्दी भने सम्पर्कमा आएका छैनन् । प्रहरीले खोजी समेत गरेको छैन् ।

जघन्य अपराधमा संलग्न भएपनि कैद अवधि सकिन लागेका भने सम्पर्कमा आएका छन् । तर लामो अवधि कैदी भुक्तानी गर्न बाँकी रहेका भने हालसम्म फरार रहेका छन् ।

भूकम्पले चौतारामा रहेको कारागारको भवन भत्किँदा बन्दीको विवरण रहेको ढड्डा नै च्यातिएपछि बन्दीको सबै विवरण पनि पाउन कठिन छ ।

अहिले कारागार नहुँदा १५/१६ जनालाई मात्रै प्रहरी हिरासतमा राखिन्छ । पूर्पक्षमा थुनामा रहेकालाई छिमेकी जिल्ला काभ्रेमा रहेको धुलिखेलस्थित कारागारमा लैजाने गरिन्छ । यहाँका बन्दीलाई भने काठमाडौँ, पर्सा, सुनसरी, बाँकेलगायतका जिल्लामा स्थानान्तरण गरिएको छ ।

नयाँ कारागार बनाउन जग्गा प्राप्त भइसकेको र अब भवन निर्माणको प्रक्रिया शुरु हुने कारागारका सूचना अधिकारी दाहालले बताए ।

भूकम्प जाँदा कर्तव्य ज्यानका ४१ बन्दी, २१ जना थुनुवा गरी ६२ जना रहेका थिए । ज्यान मार्ने उद्योगमा सात बन्दी र १२ थुनुवा गरी १९ जना, मानव बेचबिखनका आठ कैदी र नौ थुनुवा गरी १७ जना, डाँका र चोरी मुद्दाका १८ कैदी र सात थुनुवा गरी २५ जना, गौवधका १४ कैदी र पाँच थुनुवा गरी १९ जना थिए ।

त्यस्तै, जबरर्जस्ती करणीका १२ बन्दी र १० थुनुवा गरी २२ जना, रक्तचन्दन ओसारपसारमा संलग्न पाँच थुनुवा, हातहतियार तथा खरखजनामा संलग्न एक बन्दी र एक थुनुवा गरी दुईजना, सुन तस्करीमा संलग्न नौजना थुनुवा, खोटा चलनका दुईजना बन्दी र नौ जना थुनुवा रहेका थिए ।

भूकम्पको समयमा १२ जना विदेशी कैदीबन्दी रहेकोमा एकजना पक्राउ परेपनि अन्य सबै फरार रहेका छन् । कारागारमा नौजना चिनियाँ, दुईजना भारतीय र एकजना पाकिस्तानी नागरिक थिए ।

तीमध्ये विदेशी मुद्रा अपचलनमा संलग्न एक पाकिस्तानी नागरिक उल्लाह खानलाई प्रहरीले चौताराबाट भागेर धुलिखेल पुगेको अवस्थामा जाँचको क्रममा पक्राउ गरेको थियो । बाँकी सबै विदेशी बन्दी अझै सम्पर्कमा छैनन् ।

फरार रहेका चिनियाँ बन्दी अधिकांश सुन तस्करी, यार्सागुम्बा र जडीबुटी तस्करीमा संलग्न हुँदा पक्राउ परेका थिए । यस्तै, एक भारतीय नेपालको नक्कली नागरिकता लिएको आरोपमा कैद सजाय भोगिरहेका थिए ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मोहन पोखरेलले फरार कैदी खोज्न प्रहरी अधिकृतकै नेतृत्वमा एउटा विशेष टोली गठन गरिएको जानकारी दिएपनि पक्राउ गर्न प्रहरीले सकेको छैन् ।