दशैंमा नयाँ नोट कसरी जोगाउने ?

दशैंमा नयाँ नोट कसरी जोगाउने ?


यतिबेला बडा दशैंको रमझम निकैनै बढेको छ । दशैंमा आर्थिक चलायमान समेत हुनेगरेको छ । सबै भन्दा उमंग र हर्षोल्लासले भरिएको टिकाको दिन आइ पुग्न लाग्दा दशैंमा नयाँ नोटको सुरक्षा गर्न राष्ट्र बैंकले आम नागरिकलाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले कागजको नोट कसरी प्रयोग गर्ने भनेर सर्वसाधारणलाई सार्वजनिक रुपमै सिकाएको छ । नोटको प्रयोग लापरवाहीपूर्ण रुपमा गरिँदा राज्यको सम्पति नष्ट भएको भन्दै केन्द्रीय बैंकले नोट प्रयोग गर्ने विधि सिकाएको हो ।

दशैं जस्तो धेरै दक्षिणा दिने चाडमा नोट बढी ढुट्टिने केन्द्रिय बैंक अधिकारीहरु बताउँछन् । यो पर्वमा रंगको प्रयोग हुने हुँदा नोट पनि रंगिने तथा पैसा बोक्दा समेत कुच्याएर गोजीमा हाल्ने प्रबृत्ति धेरै रहेको राष्ट्र बैंकको ठम्याई छ । यस्ता छन् राष्ट्र बैंक दिएका टिप्स…

  • नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पति खर्चिनु पर्ने भएकाले नोटको जतन गरी देशको सम्पति जोगाउँ ।
  •  समान दरका नयाँ अथवा सुकिला दुबै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।
  • नोटको जतन गर्नका लागि अनिवार्य रुपमा मनि ब्याग प्रयोग गर्ने बानी बसालौं ।
  • नोटमा जथाभावी केरमेट नगरौं ।
  • नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाऔं ।
  • नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौं ।
  • नोटको हिफाजत गर्ने कुरा आफुले पनि मनन गरौं र अरुलाई पनि सिकाऔं ।
  • नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं ।
  • पुजा आजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछोऔं ।
  • टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो काम नगरौं ।
  • नोटलाई मठमन्दिर वा पुजा पाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रंग, अविर, पानी, दुध, रगत आदि नपारौं । बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔं ।
  • कारोबारका क्रममा संकास्पद नोटहरु पाइएमा नजिकैको राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा लगि दाखिला गरौं ।