ऐनका ड्राफ्टहरु माफियाले कब्जा गरेको उर्जामन्त्रीको खुलासा

ऐनका ड्राफ्टहरु माफियाले कब्जा गरेको उर्जामन्त्रीको खुलासा


उर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालमा ऐन/कानूनका ड्राफ्टहरु माफियाले कब्जा गर्ने गरेको खुलासा गरेका छन् ।

बुधबार राजधानीमा भएको साक्षत्कारमा उनले भने, ‘देश माफियाको हातमा गईसक्यो, शिक्षासम्बनधी विद्येयक ल्याउनुपर्यो भने यसको ड्राफ्ट माफिया कहाँ बन्छ, स्वास्थ्यसम्बन्धी बनाउनुपरे त्यस्तै, सबैमा माफियाहरु हाबी छन् ।’ उनले हरेक ऐन कानुनका ड्राफ्टहरु माफियाको हातमा गईसकेको जिकिर गरे ।

बुढीगण्डकी नरोकिने

शाहीले बुढीगण्डकी जलबिद्युत परियोजना अहिले नरोकिने स्पष्ट पारेका छन् । बुढीगण्डकीको काम कुनैपनि हालतमा नरोकिने स्पष्ट पार्दै उनले भने,‘अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय हो, यसले राम्रो सन्देश जाँदैन्, सरकारले काम अघि बढाउँछ, रोकिँदैन् ।’

बुढीगण्डकीको बारेमा अदालतले हेरिरहेकोले हतारिएर संसदीय समितिले निर्णय गर्नु आँफैमा गलत भएको उनले आरोप लगाउँदै भने,‘अदालतले निर्णय दिनुपर्दथ्यो, ढिला भयो तर अदालतमा विचाराधिन रहेको विषयमा समितिले हतार–हतार गर्नु राम्रो होईन् ।’

शाहीले पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्त विपरित कामहरु भैरहेको गुनासो पोखे । उनले थपे,‘एकले अर्कोलाई हस्तक्षेप गर्ने काम भैरहेको छ, यसले राम्रो सन्देश दिएका छैन ।’

बुढीगण्डकी नबनाउनु भनेर भन्नु राष्ट्रवादी हुनै नसक्ने दाबी गर्दै उनले थपे,‘समितिले कुनैपनि हालतमा काम अघि बढाउनुपर्छ भनेर निर्देशन दिनुपर्दथ्यो, बरु विधि र प्रक्रियाको बारेमा केही गलत भएको पाए सच्याउन निर्देशन दिनुपर्दथ्यो नि ।’ यद्धपी उनले बुढीगण्डकी नेपाल आँफैले निर्माण गर्न नसक्ने बताए ।

उनले गेजुवाको विवादको बारेमा आएका टिप्पणीप्रति धारणा राख्दै भने,‘गेजुवा पुँजी नभएको कम्पनी होईन, काम नै गर्न सक्दैन भन्नुपनि गलत हुन्छ, हो तर हामीसँग भएका समझौता अनुसार काम भयो कि भएन ? यो विषयमा ध्यान दिन जरुरी छ, उसले भएको सम्झौता अनुसार पालना गरेको कि गरेन, त्यसबारेमा क्रसचेक गर्न सकिन्छ, यदि गलत गरेको छ भने त्यही अनुसार निर्णय लिनुपर्छ ।’

विद्युत् प्राधिकरण नाफामा लैजाने

शाहीले आफूलाई ६ महिनामात्रै निर्वाध रुपमा काम गर्न दिए विद्युत प्राधिकरणलाई नाफामा ल्याउने विश्वास दिलाए । उनले भने,‘६ महिनामात्रै निर्वाध रुपमा काम गर्न दिने हो भने म यो संस्थालाई नाफामुलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ यद्धपी उनले प्राधिकरण अहिले सबैको लागि कमाई खाने भाँडो भएको आरोप लगाए ।

उनले विद्युत चुहावट रोक्न सकेपनि प्राधिकरणमा सकारात्मक संकेतहरु देखिन सक्ने विश्वास दिलाए । उनले भने,‘विद्युत लिकेज गर्नेहरुलाई किन छुट दिने ? कारवाही गर्नुपर्छ ।’ त्यस्तै उनले विद्युत लिकेज निर्मुल पार्नको लागि पनि स्मार्ट ग्रिड र अनलाईन बिलिङ् सिस्टममा लैजानुपर्नेमा जोड दिए ।

उनले थपे,‘काठमाडौं, पोखरा लगायतका ठूला शहरहरुमा अनलाईन विलिङ् सुरु भैसकेका छन्, अब देशव्यापी रुपमा गाउँमा यो सेवा सुचारु हुन्छ ।’

प्राधिकरणमा कार्यरत कर्मचारीहरुको भुँडी लागेको भन्दै कर्मचारीलाई यो मानसिकताबाट बाहिर ल्याउनको लागि अनलाईन सिस्टम अनिवार्य रहेको उनको तर्क थियो । उनले भने,‘यहाँ त सबैतिर कमिशनको खेल छ, होईन भने ट्रान्समिटर किन पड्किन्छ ?’

त्यस्तै उनले जलविद्युत परियोजनाहरु होल्ड गरेर राख्ने र पटक–पटक म्याद थपेर बस्ने कम्पनीहरुको बारेमा सरकारले सोच्नुपर्ने बेला आएको स्पष्ट पारे । उनले आफ्नो चीन भ्रमणको बारेमा चर्चा गर्दै भने,‘म खास पश्चिम सेती परियोजना किन ढिलाई भैरहेको छ भन्नेबारे जिज्ञासा थियो, हाम्रो तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं भन्ने मैले प्रतिबद्धता जनाएको थिएँ ।’

उनले कतिपय कुराहरु नेपालको आन्तरिक कारणले ढिलाई भए त्यसलाई सच्याउनको लागि आफूहरु तयार रहेकोबारे चीनीयाँ पक्षलाई आश्वस्त पारेको स्मरण गराए ।

चाडबाडमा लोडसेडिङ नहुने

मन्त्री शाहीले दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुमा कुनैपनि किसिमको लोडसेडिङ नहुने स्पष्ट पारे । उनले भने,‘म विश्वास दिलाउन चाहन्छु, दशैं तिहार र छठ लगायतका पर्वहरुमा कुनैपनि किसिमको लोडसेडिङ हुँदैन, मन्त्रालयले निर्देशन दिईसकेको छ, अध्याँरोमा बसेर दशैं मनाउनुपर्ने छैन् ।’

विद्युत सेवा सम्बन्धी केही प्राविधिक तथा प्रशासनिक समस्याहरु आए ती समस्याहरु हल गर्नको लागि मन्त्रालयले अहिले हेल्प डेस्क अन्र्तगर्त हट लाईन सेवा सुरु गरेको जानकारी दिँदै मन्त्री शाहीले भने,‘म आँफैले अहिले जनताका गुनासाहरु प्रत्यक्ष सुनिरहेको छु, उहाँहरुको समस्या सुन्नेवित्तिकै समस्याहरु हल भएका छन्, र मैले आवश्यक निर्देशन समेत दिएको छु ।’