दशैँकै बेला खाना पकाउने ग्यासको अभाव

दशैँकै बेला खाना पकाउने ग्यासको अभाव


दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ ।

खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् ।

“ग्यास सकिएपछि बजारका अधिकांश पसलमा धाउँदा पनि पाउन सकेन”, स्थानीयवासी विष्णु चौधरीले भन्नुभयो, “ग्यास नपाइएपछि दाउरा खोज्दै छु ।” ग्यासको अभावमा निकै मर्कामा परेको उहाँले बताउनुभयो ।

झलारी बजारमा ग्यास व्यवसाय गर्दै आउनुभएका मदनराज भट्टले ग्यास कम्पनीबाटै थोरै ग्यासका सिलिण्डर आउँदा उपभोक्ताले हैरानी खेप्नु परेको बताउनुभयो ।

“ग्यासको माग धेरै छ”, उहाँले भन्नुभयो, “तीस वटा मात्रै ग्यासका सिलिण्डर कम्पनीबाट आएपछि सबैलाई पु-याउन सकिएको छैन ।” उहाँकै जस्तै जिल्लाका सबै ग्यास व्यवसायीसँग ग्यासका सिलिण्डर छैनन् ।

ग्यास व्यवसायीका अनुसार भारतको उत्तर प्रदेशस्थित बरौनी डिपोबाट एक ट्याङ्कर ग्यास बुलेट मात्रै आएको छ । जसमा एक हजार २०० सिलिण्डरमा भर्न पुग्ने हुन्छ ।

एक हजार २०० सिलिण्डरले दशैँको माग धान्न नसक्ने व्यवसायीको भनाइ छ । बरौनी रिफाइनरी सेन्टरमा सरसफाइ भइरहेकाले दुई सातासम्म ग्यास नपाइने भएको छ । अरू वर्ष सेन्टरमा हिउँदका बेला सरसफाइ हँुदै आएकोमा यस वर्ष दशैँकै बेला सरसफाइ हुन थालेपछि ग्यास आपूर्तिमा समस्या देखिएको हो ।