ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम

ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम


प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्नुभएको सम्झौताले दुवै मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमनको औपचारिक भ्रमणका क्रममा मस्टकस्थित ग्राण्ड ह्यात होटलमा नेपाली दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“यो सम्झौताले दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्न राम्रो शुरुवात भएको छ ।”

सम्मेलनमा परराष्ट्र सचिव शंकरदास वैरागीले सम्झौतापछि नेपालको लगानीका सम्भावनाका क्षेत्रमा ओमनको लगानी भित्र्याउन सहज हुने बताउँदै ओमनमा कार्यरत नेपाली कामदारका समस्या समाधानमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकालले सम्झौताले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै आपसी हितका लागि दुवै मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दुवै मुलुकका परराष्ट्रमन्त्री तथा अन्य उच्च अधिकारीको उपस्थितिमा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमन भ्रमण तथा दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेकोे अवसरमा सो सम्झौता भएको हो ।