भीमसेन थापादेखि अहिलेसम्मकै अयोग्य प्रधानमन्त्री !

भीमसेन थापादेखि अहिलेसम्मकै अयोग्य प्रधानमन्त्री !


– दामोदर पौडेल

शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्न भन्दा पहिला कांग्रेस र देशकै हिरो थिए । उनी कांग्रसको लागि गजराज जस्ता थिए भने विरोधिको लागि शेरजस्तै थिए । इमान्दारीका प्रतिमूर्ति थिए । समय संधै एकनास हुँदोरहेनछ । प्रधानमन्त्री बनेपछि उनी देशको लागि सबैभन्दा अयोग्यतम प्रधानमन्त्री, कांग्रेसलाई ध्वस्त गर्ने हतियार र तमाम विकृतिहरूका जनक बने ।

प्रथमतः उनले पहिलोपटक प्रधानमन्त्री बन्न दललाई नै धरापमा पारे । उनले कांग्रेसको सभापति र प्रधानमन्त्रीको रुपमा बलियो बन्न दल फोरे । उनैले लोकतन्त्रलाई दरबारमा लगेर बुझाए । ज्ञानेन्द्र राजाले कहिले आफूमाथि अन्याय गरे भन्ने कोहोहोलो गरे भने कहिले फेरि तिनै राजाले न्याय गरे भन्दै हौवा मच्चाए । अर्थात प्रधानमन्त्रीबाट हटाउँदा दुःखी भएर पीडा पोखे भने प्रधानमन्त्री पाउँदा राजाबाट न्याय पाए भनेकै हुन् ।

उनले पद जोगाउन सांसदहरूलाई विदेश पठाए । यो एक प्रकारको अपहरण नै थियो । उनले सबैलाई खुसी पार्न सांसद समेतका ठुलाहरूलाई गाडी समेत किन्न पुरै भन्सार छुट गराए । जुन प्राडो–पजेरो काण्डले इतिहासमा समेत रहिरहने छ । देशलाई भन्सारमा घाटा भयो तर धेरैले अरुबाट पैसा लगाएर आफ्नो नाममा गाडी लिएर लाखौँ कमाए । उनले अर्बौंको राजश्व खतम बनाए । उनले प्रधानमन्त्रीबाट नहट्नको लागि एक जना संसदलाई किन्ने र लुकाउने समेत काम गरे ।

उनी इतिहासमा पद जोगाउन सबैभन्दा बढि मन्त्री बनाउने प्रधानमन्त्रीमा गनिन्छन् । उनलाई आफ्ना मन्त्रीको नाम नै अहिले पनि पुरा आउँदैन भन्ने पक्का छ । उनले दलमा स्थायी गुट नै बनाए । उनले उनकी पत्नी र सासुको लागि नै होला सवैभन्दा वढि राजनीति गरेको पनि । सासुलाई फरक दलको भएर पनि जापानको राजदुत बनाएका छन् । पत्नी आरजुको माध्यमबाट उम्मेदवार छनोट र विभिन्न नियुक्ति समेतमा ठुलो मात्रमा पैसा लिन्छन् भन्ने सुनिएकै हो । जबकि देउवा पत्नी आरजु पैसाको मामलामा ठिक हुने हो भने विद्धान र योग्य ब्यक्ति भने हुँदै हुन् ।

गिरिजाप्रसाद कोइरालाले धेरै राम्रा काम पनि गरे तर कांग्रेसमा अरु बढि योग्य हुँदैहुँदै छोरी सुजातालाई उपप्रधानमन्त्रीसम्म बनाए । पदमा आफ्ना ल्याउनेमा गिरिजप्रसादभन्दा देउवा अगाडि छन् । देउवा प्रधानमन्त्री बनेपछि उनले गरेका काम हेर्ने हो भने उनले कुनै पनि एउटासम्म राम्रो उच्च किसिमको काम गर्न सकेका छैनन् । यो अर्थमा उनी भीमसेन थापादेखि अहिलेसम्मका सबैभन्दा अयोग्य प्रधानमन्त्री हुन् ।

प्रचण्डले गिरिजाप्रसाद कोइरालावाट केही नपाए पनि उनलाई पिता तुल्य भनेर प्रशंसा गरेका थिए । तर देउवालाई प्रचण्डले प्रधानमन्त्रीको कुर्सी छोड्दैनन् कि र म प्रधानमन्त्री बन्न पाउन्न कि भन्ने त्रास थियो । तर प्रचण्डले पद छोडे र देउवालाई प्रधानमन्त्री बनाए । देउवाले प्रचण्डलाई राजनेता भने । उनको लागि मात्र प्रधानमन्त्री बनाइदिएकोले प्रचण्ड राजनेता होलान् । हामीहरूको लागि अतीतका ज्यानमारा संगठित अपराधी हुन् र अहिलेका असल नेतासम्म हुन् र हाल देशको लागि सोच्ने लोकतन्त्रप्रति आस्था राख्दै गएका इमान्दार नेता हुँदै गरेका ब्यक्ति हुन् । उनीप्रति जनताको सम्मान बढ्दै गएको पनि छ । उनी राजनेता हुने सम्भावना पनि हुन सक्दछ तर देउवालाई प्रधानमन्त्री बन्न दिएकोले राजनेता भन्ने हो भने ज्ञानेन्द्रले उनलाई दुइ पटक प्रधानमन्त्री वनाए त्यसैले ज्ञानेन्द्र त देउवाको लागि डब्वल राजनेता भए । माधव कुमार नेपालको लागि गिरिजाप्रसाद राजनेता भए । यद्यपि केही कमजोरीका बावजुद गिरिजाप्रसादको उच्चाइ राजनेताको छ नै । यसले के देखाउँदछ भने देउवा आंफुलाई पद दिने मानिसलाई इश्वरको अवतारसरह नै मान्दछन् ।

चारपटक प्रधानमन्त्री हुँदा समेत एउटा पनि उल्लेखनीय काम गर्न नसकेको र देशलाई भ्रष्टाचारयुक्त बनाउने ब्यक्ति अहिले कांग्रेसको सभापति भएर देश हांकिरहेको छ । कांग्रेस हुनुमा अझै पनि कसैले गर्व गर्दछ भने उसले देउवालाई हटाउन सक्नु पर्दछ र उनीसंग विमति राख्नसक्नु पर्दछ । बीपी र सुवर्णसमेतका ऐतिहासिक नेताहरूको कांग्रेस इमान्दार र गरिवहरूको मसिहा तथा विकास र शान्तिको द्योतक हुनु पर्दछ ।

पङ्क्तिकारलाई लाग्दछ कि देउवालाई कांग्रेसको सभापति बनाउन कोइराला परिवारको पनि भूमिका हुन सक्दछ । देउवा भ्रष्ट चरित्रका भएकोले उनलाई जिताएपछि पुनः कोइरालाहरूले सजिलैसँग सभापति जित्न सक्ने हुँदा सिटौला गगन आदिलाई प्रयोग गरेको र अन्य समेत उपाय गरेर रामचन्द्रलाई हराएका हुन सक्दछन् । किनभने यो पटक कोइरालाहरूको सभापतिको लागि हाइट बनिसकेको थिएन । त्यसैले कोइरालाहरूले रामचन्द्र पौडेललाई एक प्रकारको डमी केन्डिडेट बनाउन चाहन्थे । उनले हारे पनि । कोइरालाहरूलाई थाहा थियो कि रामचन्द्र अपेक्षकृत इमान्दार भएकोले उनी कांग्रेस सभापति भएमा उनीहरूले त्यो पद हत्याउन देउवाबाट भन्दा कठिन हुन्थ्यो । त्यसमा अपवाद शेखर कोइराला हुन सक्दछन् र शशांकले गल्ती गरे पनि वाध्यता हुन सक्दछ । हुन पनि अब देउवा पुनः कांग्रेस सभापतिमा उठे जित्दैनन् र जिते भने कांग्रेसको हैसियत अहिलेको भन्दा करिव आधा हुन्छ । एमालेले आफ्नो नाम नै बदल्यो भने र लोकतान्त्रिक समाजवादी भएको औपचारिक घोषणा गऱ्यो भने देउवाको सम्भावित कांग्रेस डिल्लीरमण रेग्मी र टंकप्रसादका दलजस्तै हुने छ । उनी बुढा निलकण्ठमा जानेहरूलाई केवल इतिहास मात्र सुनाउने अवस्थामा रहनेछन् । रेग्मी र टंकप्रसाद जत्तिको इमान्दार नभएकोले उनलाई भेट्न उनका आसेपासे बाहेक अरु जाने सम्भावना पनि कम हुने छ ।

उनले यो इतिहासमा लेखिने महान गद्दारीबाट बच्न अझै पनि अन्तिम अवसर छ । प्रधानमन्त्रीवाट तुरुन्त राजीनामा दिएर रामचन्द्र पौडेललाई तीन महिना करिवको लागि प्रधानमन्त्री बनाउन सक्दछन् । यसले दलमा एकताको राम्रो सन्देश जान्छ । दल धेरै हदसम्म एक ढिक्का हुन्छ । रामचन्द्र र देउवा एक भए पछि भ्रष्ट र वेइमान आसेपासेहरू वाध्य भएर भाग्दछन् । क्षमताको आधारमा योग्य भएकोले आरजुलाई राम्रो मन्त्रालय दिए पनि हुन्छ र उनी इमान्दार भएमा क्षमता भएकोले भविष्यमा प्रधानमन्त्री पनि बन्न सक्दछिन् ।

आउँदो चुनावमा देउवाले रामचन्द्रलाई प्रधानमन्त्री दिएर रामचन्द्रको समेत साथमा आगामी चुनाव पछि देशमा कांग्रेसको नेतृत्वमा सरकार बन्दा विमलेन्द्र निधि, रामशरण महत, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, गगन थापा आदिको सामुहिक नेतृत्वमा सरकार बन्ने नयाँ प्रकारको घोषणा गरे दलको साख बढ्ने छ । कार्यकर्ता र नेताहरू एक हुने छन् । देउवाको दलभित्र उच्चाइ धेरै वढ्रने छ । अर्को पटक पनि दलको सभापति बनेर इमान्दारी साथ काम गरेमा जनताले इतिहासलाई बिर्सने र राम्रा कामले गल्तीलाई मेटाउने हुँदा उनी राजनेता बन्न सक्दछन् । यो मात्र कांग्रेसको सहज भविष्य हो । देउवाको राम्रो भविष्य र सुन्दर इतिहासको पाटो हो ।