सन्तान सहारा नभएपछि वृद्धाश्रममा

सन्तान सहारा नभएपछि वृद्धाश्रममा


– रेजिना गौतम

झापा शनिश्चरेकी चन्द्रमाया बस्नेत (८१ वर्ष)को बुढेसकालको सहारा बनेको छ– विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रले सञ्चालन गरेको बृद्धाश्रम । उनी विगत १८ महिनायता त्यहाँ बस्दै आएकी छन् ।

छोरा–बुहारी र छोरीबाट सहारा महसुस गर्न नसकेकी उनले बुहारीको खप्की र छोराको मौनताबाट दिक्क भएपछि आफू बृद्धाश्रममा आइपुगेको बताइन् । आफैंले जन्म दिएका सन्तान बुढेसकालको सहारा होला र बुढेसकालमा सहारा देला भन्ने अपेक्षा जो–कोही अभिभावकलाई हुनु स्वभाविक हो । फेरि नेपालमा तीनपुस्ते पारिवारिक संरचना नै छ– अहिलेसम्म ।

उमेर छउन्जेल सासु–ससुराको स्याहार तथा छोराछोरीको लालन–पालन गरेकी चन्द्रमायाले बुढेसकालमा तिनै छोराछोरी र नातिनातिनीबाट सहारा नपाएको सम्झदै भनिन्–‘छोरा–बुहारी छन्, तर के गर्नु भएर मात्र ? हेरेनन्÷हेर्दैनन्, सहारा पाइन, नाति नातिना पनि छन् तर आफ्नै आमातिर लाग्दा र’छन् ।’ बस्नेतका एक छोरा–बुहारी र एक छोरी (विवाहित) छन् । उनले आफ्नो जीऊ बृद्धाश्रममा भएपनि मन छोरा–बुहारी, नाति–नातिनीको मायामै अल्झिएको बताइन् ।

उनमा विगतदेखि नै दम रोग देखिएको छ । ‘दम छ, कान पनि कम सुन्छु’–उनले भनिन् । २०४७ सालदेखि नै एकल (श्रीमानको मृत्युपछि) जीवन विताउँदै आएकी छन् उनी ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ता बापतको रकम गाउँलेको सहयोगमा आफूले लिइरहेको उनले सुनाइन् । उनले अगाडि भनिन्– ‘छोरालाई लिएर आइज भनेर पटक–पटक फर्काइदिए । छोरालाई पटक–पटक भने, छोराको सहयोग नपाएपछि गाउँलेको सहयोगमा भत्ता थाप्तैछु ।’ उनले भनिन्–‘छोराले वास्तै नगरेपछि गाउँलेलाई भने–‘सकिन्छ भने निकालीदेउ होइन भने माया मार्नुप¥यो ।’ तर गाउँलेकै सहयोगकै कारण अहिले मासिक दुइहजार रुपैयाँ भत्ता थापिरहेको बताइन् ।

घरबाट बुहारीले संधै निस्केर जा मात्र भन्ने, खान पनि नदिने गरेको बताउँदै बस्नेतले भनिन्– ‘बुहारीले संधैं निस्की निस्की भन्छे, छोरो बोल्दैन, कहाँ जानु ? तेरा बाबुको आर्जन छ र खान्छेस् भन्छे’ । उनले प्रश्न गरिन्–‘कसले बाबुको आर्जन ल्याएर खान्छ र ?’ छोरा–बुहारीको ब्यवहार सम्झिएर गला अवरुद्ध पार्दै उनले भनिन्–‘छोरा–बुहारीले खानै नदिएपछि छिमेकीले भात दिन्थे ।’ ‘घरमा भात खान बोलाउँछन् भन्दै बस्यो हतपत्त भाँडा मस्काएर राख्छन्, कतिदिन भोकै बसियो, कतिदिन गाउँलेले दिएर खाएँ, त्यही देखेर गाउँलेले नै यहाँ ल्याएर राखिदिए ।

गाउँलेहरु भेट्न आएपनि छोराछोरी नातिनातिना कहिल्यै नआएको बताउँदै भनिन्–‘आफूलाई मात्र सम्झना आएर के गर्नु र ?’

‘१२ छोरा १३ नाति बुढाको धोक्रो काँदै माथि’ भने झैं भएको छ– पाँचथर सुभाङका ८५ बर्षीय लक्ष्मीप्रसाद अधिकारीलाई । विर्तामोडकै बृद्धाश्रममा बस्दै आएका अधिकारीका ५ भाई छोरा र २ वटी छोरी छन् । दुइवटी श्रीमती विवाह गरेपनि हाल एकल जीवन विताइरहेका उनी छोरा–बुहारीबाट सहारा नपाएकै कारण बृद्धाश्रममा शरण लिन बाध्य भएको बताउँछन् । उनी भन्छन्–‘दुई श्रीमतिबाट ६ छोरा र दुई छोरी जन्मिए, एउटा छोरो गयो, अरु भएका पाँचवटा पनि काम लाग्ने कुनै भएनन् ।’

‘सबै आफैंले हेर्नुपर्ने जस्ता छन् त्यस्ता पनि निहुँ खोजेर हिड्छन्’ अधिकारीले थपे–‘जेठी पट्टिको एउटा छोरो छ, ऊ सानो छँदा आफूले पालिएन, हेरिएन तै पनि उसले आएर बस्नु भन्छ, नातिले बस्नु भन्छन्, बाबुले नै बाबु हो भन्ने बुझ्नै पाएन कसरी त्यहाँ गएर बस्नु ?’ पाँचथर सुभाङ स्थायी घर भएका अधिकारीका हाल १३ जना नाति–नातिनी छन् ।

‘टाठा–बाठा घरमा बस्दा रहेनछन्, सोझा सिधाले पाल्दैनन्, सोझो भन्यो, अलिक बढेपछि त्यो पनि हिंड्छ, अकडा छन्’ उनले भने– ‘अहिले सहारा नपाएपछि यहाँ आएको ।’

विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र तथा बृद्धाश्रममा हाल २० जना बृद्धबृद्धा शरण लिइरहेका छन् ।

लामो आन्दोलनपछि बृद्ध अर्थात ज्येष्ठ नागरिकलाई नामबाट सम्मान भएपनि कामबाट सम्मान हुन नसकेको ज्येष्ठ नागरिक मेचीनगर समिति अध्यक्ष कृष्णप्रसाद उप्रेती बताउँछन् ।

उमेर ढल्कँदै जाँदा शरीरमा ताकत पनि घटेर असक्त हुँदै गएपछि सबैतिरबाट अपहेलित हुने गरेको बताउँदै उनले भने–‘घर परिवारबाट बेवास्ता गरिनु, समाजबाट अपहेलित हुनु, प्रशासनबाट बेवास्ता गरिनुले बृद्धबृद्धा थप पीडामा पर्ने गरेका छन् ।’

जेष्ठ नागरिक समाज झापाका उपाध्यक्ष हरिप्रसाद ओलीले सरकारले जेष्ठ्य नागरिकलाई लक्षित गर्दै बनाएको कानून कार्यान्वयन नहुँदा समस्या भएको बताए । उनले भने–‘सरकारले दिने भत्ता पनि लक्षित वर्गले उपभोग गर्न नपाएको अवस्था छ । बृद्धबृद्धाको अवस्थाबारे अनुगमन गर्न बनेको जिल्लास्तरीय समितिले गरेको अनुगमनका क्रममा धेरै यस्ता कुराहरु भेटिएका छन्, कतिपय स्थानमा बृद्धबृद्धाले खान पनि पाएका छैनन् ।’