ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने

ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने


माओबादी मन्त्रीहरुलेनै एमालेको प्रतिनिधित्व गर्ने

अन्ततः नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु बीच पार्टी एकिकरण हुने निश्चित प्रायः भएको छ । कुनै अप्रत्याशित घटना भएन भने प्रदेश सभा र संसदको निर्वाचन सम्पन्न भए लगत्तै नेकपा एमाले र माओबादी केन्द्र बीच पार्टी एकिकरण हुनेछ ।

एकिकरण प्रक्रियालाई ब्यवस्थित गर्न दुई दलका प्रमुख नेताहरु सम्मिलित एकिकरण संयोजन समितिको घोषणा आजै (असोज १७ गते) गरिने भएको छ ।

संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष के.पी शर्मा ओली बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम तथा माओबादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेता रामबहादुर थापा रहेका छन् । संयोजन समितिले पार्टी एकताका आधार, प्रक्रिया, नेतृत्व र पार्टीको नाम लगायतका विषयको टुंगो लगाउने बताइएको छ ।

प्राप्त जानकारी अनुसार दुवै दलका उच्च नेताहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री आलोपालो बन्न सहमत भएका छन् । नेपालकै ठूलो दलको अध्यक्ष र प्रधनमन्त्री समेत बन्न पाउने भएपछि प्रचण्ड एमालेसँग पार्टी एकता गर्न हतारिएका छन् ।

आलोपालो अध्यक्ष र प्रधानमन्त्री बन्ने कुराको प्रक्रिया संयोजन समितिले गर्नेछ । तत्काल भने दुई दलबीच चुनावी तालमेल मात्र हुने बुझिएको छ । उम्मेदवार चयन गर्दा एमालेले साठी प्रतिशत र माओबादीले चालिस प्रतिशत लिने सहमति पनि भएको समाचार स्रोत बताउछ ।

माओबादी र एमाले सहकार्यका निम्ति माओबादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निकै अघि देखि नै पहल गर्दै आएको बताइन्छ । माओबादी भित्र प्रचण्ड सहित अधिकाङ्श नेताहरु एमाले भन्दा काङ्गेससङ्गको सहकार्य नै लाभकारी हुन्छ भन्ने पक्षमा थिए र, एमालेले पनि स्थानीय निर्वाचन पछि माओबादी समाप्त हुने ठानेको थियो ।

तर निर्वाचन परिणामले माओबादीलाई तेस्रो शक्तिको रुपमा स्थापित गरेपछि आफ्नो पूर्व धारणा परिवर्तन गर्न एमाले बाध्य भयो, र उसले अन्ततः माओबादीसङ्ग पार्टी एकिरण नै गर्ने निर्णय लिएको छ ।

यसरी माओबादी र एमाले ‘एक’ हुने भएतापनि माओबादीले तत्काल सरकार भने नछोड्ने भएको छ । माओबादी मन्त्रीहरुले नै अब एमालेको समेत प्रतिनिधित्व गर्ने भएका छन् ।