हृदयेश त्रिपाठी सहित मधेसका नेताहरु सूर्य चिन्ह्र लिएर चुनाव लड्ने  

हृदयेश त्रिपाठी सहित मधेसका नेताहरु सूर्य चिन्ह्र लिएर चुनाव लड्ने  


राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता हृदयेश त्रिपाठीले आगमी निर्वाचनमा नेकपा (एमाले)को सूर्य चिन्ह्र लिएर लड्ने भएका छन् ।

मधेसका प्रभावशाली नेता नेता त्रिपाठी सहित स्वतन्त्र राजनीतिक समूहका नेताहरुले सूर्य चिन्ह्र लिएर आगमी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा चुनाव लड्ने भएका हुन् ।

नेकपा (एमाले) र स्वतन्त्र राजनीतिक समूहबिच सूर्य चिन्ह्र लिएर चुनाव लड्ने सहमति भएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

सोमबार भएको सहमतिमा नेकपा (एमाले)का तर्फबाट महासचिव ईश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहका तर्फबाट हृदयेश त्रिपाठी, बिके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश गुप्ताले हस्तक्षार गरेका छन् ।

उनीहरु मधेसका प्रभावशाली नेता हुन् । एमाले स्वतन्त्र राजनीतिक समूहबीच तराई मधेसको जनतालाई शोषण,उत्पीडन र असमानताबाट मुक्त गरेर समानता र समृद्धि तर्फ लैजाने पनि सहमति भएको छ ।

त्रिपाठीले रापजा छोडेपछि मधेसमा राजपालाई समस्या पर्ने मधेस मामिलाका जानकारहरु बताउछन् । वाम राजनीतिबाट प्रभावित भई २०३१ सालदेखि राजनीतिमा सक्रिय त्रिपाठी यसअघि तमलोपाको उपाध्यक्ष तथा संसदिय दलको उपनेता समेत भइसकेका छन् ।

त्रिपाठीसँग गणतन्त्र पछि र अघि गरी पटक पटक मन्त्री भएको अनुभव छ । उनले राजनीति गर्ने क्रममा झण्डै २ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासन र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन बताएका छन् ।