मतपत्र त्रुटिरहित बनाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन

मतपत्र त्रुटिरहित बनाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन


प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै जिम्मेवारीपूर्ण भएकाले कुनै त्रुटि हुन नदिन जिम्मेवार हुन निर्देशन दिएका छन् ।

मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनमा सबैभन्दा संवेदनशील सामग्री मतपत्र भएकाले छपाइमा होशियारीपूर्वक रहन निर्देशन दिएका हुन।

उनले भने,‘हामी सार्वभौमसत्तासम्पन्न संसद्को निर्वाचनको क्रममा छौँ, निर्वाचनमा सबैभन्दा संवेदनशील सामग्री भनेको मतपत्र नै हो, छपाइ गर्ने, क्रम संख्या मिलाउने, गुणस्तर कायम गर्ने र बण्डल बनाउने काम चुस्त र व्यवस्थित रुपमा हुनुपर्छ।’

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र व्यवस्थित तुल्याउन आयोगको व्यवस्थापन चुस्त र दुरुस्त हुन आवश्यक रहेको बताउँदै यादवले मतपत्र छपाइ र व्यवस्थापनमा हुने सानो त्रुटिले ठूलो समस्या ल्याउन सक्ने भएकाले त्रुटिरहित तरिकाबाट आआफ्नो जिम्मेवारी पूरा गर्न सहभागीलाई निर्देशन दिए।

आयुक्त नरेन्द्र दाहालले मतपत्र छपाइको काम निकै संवेदनशील र जटिल भएकाले त्यसमा संलग्न कर्मचारीलाई कुनै कमजोरी हुन नदिने ढंगबाट जिम्मेवार भएर काम गर्न सुझाव दिए।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमिल्सेनाले विगतमा जस्तै निर्वाचन आयोगले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

अभिमुखीकरण कार्यक्रममा जनश शिक्षा सामग्री केन्द्र, मुद्रण विभाग, आयोग तथा अन्य सरकारी कार्यालयका कर्मचारी गरी २८ जना सहभागी छन्।