प्रचण्ड समूहको कदम दक्षिणपन्थी विसर्जनवादीः किराँती

प्रचण्ड समूहको कदम दक्षिणपन्थी विसर्जनवादीः किराँती


माओबादी केन्द्र विभाजन हुने संकेतः एमालेसँग विलय हुने प्रचण्डको निर्णयप्रति असन्तुष्टि

बाम पार्टीहरुमध्ये नेकपा एमाले र माओवादी केन्द्रबीच भएको तालमेलका बिरुद्ध माओबादी केन्द्रभित्र चर्को असन्तुष्टि व्यक्त हुन थालेको छ । माओबादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले एमालेसँग विलय हुने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघि सारेको प्रस्तावको चर्काे विरोध समेत गरेका छन् ।
एमालेसँग माओवादीले प्रदेश र प्रतिनिधिसभाको चुनावमा चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति गरेको प्रति चर्काे आक्रोश पोखेका छन् ।

भोजपुर पुगेका किराँतीले भोजपुरबाटै माओवादी केन्द्र पुर्नगठनको गर्ने चेतावनी दिए । उनले माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारीका नाममा सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आह्वान समेत गरेका छन् ।

उनले लेखेका छन्,‘माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।’

किरातीले अगाडी भनेका छन्,‘सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु । भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।

चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु ।’