वाम एकताका ‘नायक’ नारायणकाजी !

वाम एकताका ‘नायक’ नारायणकाजी !


नेकपा एमाले र माओबादी केन्द्रबीच अप्रत्याशित तवरमा ‘एकता’ घोषणा भएपछि नेपाली राजनीतिमा अपूर्व तरङ्ग पैदा भएको छ ।

केही घण्टा अघिसम्म एक अर्कालाई सत्तोश्राप गर्दै आएका दुई कम्युनिष्ट पार्टीहरु एकाएक कसरी ‘एकिकृत’ हुन पुगे, यो आम जिज्ञाशाको विषय बनेको छ ।

शैलि र परिणामले यस घटनालाई आम मानिसले अप्रत्याशित मान्नुपर्ने देखिएपनि वास्तविकता त्यसभन्दा भिन्न रहेको पाइएको छ ।

माओबादी र एमाले बीच एकता गराउन भारतको नरेन्द्र मोदी (भाजपा) विराधी पक्ष, इसाइकरणका पक्षपाति केही पश्चिमा शक्ति र चीन बेग्ला बेग्लै उद्देश्यका साथ लागिपरेको अनुमान बौद्धिक समुदायका कतिपय विश्लेषकहरुले गरिरहेका छन् ।

यस प्रकरणमा बाह्य संलग्नता खोजिको विषय भएपनि प्रकट रुपमा भने माओबादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको मूख्य भुमिका रहेको पाइएको छ ।

स्मरणीय छ, नारायणकाजी श्रेष्ठ पहिले के पी ओली नेतृत्वको सरकारबाट माओबादी बाहिरिनु हुँदैन भन्ने पक्षमा थिए र, प्रचण्डलाई काङ्ग्रेससङ्गको ‘एलाइन्स’ मा जानबाट रोक्न उनले अनेकौं प्रयत्न गरेर पनि त्यसबेला उनी असफल भएका थिए ।

काङ्ग्रेस र माओबादीवीच सहकार्यको यात्रा प्रारम्भ भइसकेपछि समेत नारायणकाजी श्रेष्ठले केपी ओली र प्रचण्डवीच पटक–पटक गुप्त तथा अनौपचारिक बैठकहरु राखेर आपसी विश्वास र सद्भाव बढाउन प्रयत्न गरिरहेका थिए ।

गत स्थानीय निर्वाचनमा माओबादी र एमालेवीच चुनावी तालमेल गराउने पक्षमा नारायणकाजी थिए र त्यसनिम्ति उनले जोडदार प्रयास पनि गरेका हुन् । तर यसमा पनि उनी असफल भएका थिए ।

यसरी श्रेष्ठले पटक–पटक गरेको प्रयास असफल भएपनि उनले हार मानेका भने थिएनन् । स्थानीय निर्वाचन (तेस्रो चरणको) पश्चात प्रचण्ड र के.पी ओली दुवै नेताहरु कुनै न कुनै रुपले दुई पार्टी (एमाले र माओबादी) एक बन्नुपर्छ भन्नेमा सकारात्मक बने ।

नारायणकाजीको प्रयास जारी थियो, अन्ततः दुई कम्युनिष्ट पार्टीवीच चुनावी तालमेल मात्र नभई पार्टी एकिकरण नै गराउने सफलता नारायणकाजी श्रेष्ठलाई मिलेको छ ।

दुबै पार्टीका प्रमुख नेताहरु तयार नभएसम्म पार्टी एकिकरण नहुने हुँदा एकताको जस (यस) केपी ओली, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल,वामदेव गौतम लगायतलाई अवश्य जान्छ । तर करिब डेढ वर्षदेखि एमाले–माओबादी सहकार्यका निम्ति अविचलित ढङ्गले निरन्तर लागिपरिरहने नेता चाहिँ नारायणकाजी श्रेष्ठ नै हुन् र यस अर्थमा यो एकता प्रकरणको नायक नारायणकाजी श्रेष्ठ बनेका छन् ।

दुई प्रमुख कम्युनिष्ट पार्टी वीच एकता हुने जानकारी पाएपछि यसअघि कम्युनिष्ट आन्दोलनबाट नै टाढिएका र पछिल्लो समय भारतप्रति बेग्लै धारणा बनाउँदै आएका डा. बाबुराम भट्टराई पनि एकता प्रक्रियामा जोडिन पुगेका छन् ।

बाबुराम भट्टराईले केही समय यता नेपालमा भारत विरोधी देशभक्तहरुको मोर्चा बनाउनुपर्छ भन्ने धारण राख्दै आएका थिए । दुई कम्युनिष्ट पार्टीहरुको एकताबाट नेपाली राजनीतिमा भारतको प्रभाव कम हुने र चीनको पहुँच बढ्ने विश्वास डा. भट्टराईले गरेको बताइन्छ ।