सम्झनलायक सहिद क्याप्टेन सविन-वसन्तराज कुँवर

सम्झनलायक सहिद क्याप्टेन सविन-वसन्तराज कुँवर


हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन सविनको शव टिचिङ अस्पतालबाट पशुपति आर्यघाट ल्याउनुअघि नै गहु्रँगो मन लिएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्न म त्यहाँ पुगिसकेको थिएँ । मनबाटै कसैलाई श्रद्धाञ्जली दिन जान मन लागेको सम्भवतः यो मेरो पहिलो अवसर थियो । ठूला-ठूला नेता भन्नेहरूलाई श्रद्धाञ्जली दिन जान मेरा गोडाहरू कहिल्यै चलेनन् तर सविनको अनुहार अन्तिमपटक हेर्न म हृदयबाटै चाहिरहेको थिएँ । ती व्यक्तिले सानै उमेरमा यो मुलुकका लागि ठूलै काम गरेर गएका छन् भन्ने मेरो ठहर थियो । तिनले झन्डा हल्लाएनन्, गार्ड वरिपरि लगाएर हिँडेनन्, तर पनि सयौँ आपतमा परेर मृत्यु कुरिरहेका पदयात्री र आरोहीहरूको जीवन बचाए । माओवादी द्वन्द्वकालमा उनले उडाएका हेलिकोप्टरले सयौँको ज्यान बचायो । उनका लागि यो फलानो पार्टी, फलानो जात, फलानो देश वा फलानो सङ्गठनको मान्छे भन्ने थिएन । हरेकलाई बचाउन, जोगाउन, विकट स्थानमा पुर्‍याउन उनको जीवन समर्पित रह्यो । ती उमेरमा साना भए पनि यो मुलुकको अनकन्टारमा खुलेका उद्योगधन्दा स्थापना गराउनेदेखि लिएर पर्यटन विकासको क्षेत्रमा सहयोग गर्न उनले दिएका योगदान अद्वितीय र अविस्मरणीय थियो । उनका यिनै पक्षहरूले गर्दा म भावपूर्ण श्रद्धाञ्जली दिन बेलैमा पशुपति आर्यघाट पुगिसकेको थिएँ । पोष्टमार्टम गर्ने क्रम ढिला भएछ, त्यसैले उनको पार्थिव शरीर पशुपति आउन केही ढिला भयो । साँझ पर्ने समयमा उनको मृत शरीर ल्याइयो । ब्रह्मनालमा उनलाई श्रद्धाञ्जली दिनेहरूको घुइँचो थियो । म त्यो भीडमा राज्य चलाउने मन्त्री भनिनेहरूलाई पनि खोज्दै थिएँ । जनताको नामबाट मन्त्री भएकाहरूमध्ये पनि पर्यटन तथा नागरिक उड्यन हुने मन्त्री तथा प्रधानमन्त्री त्यहाँ आउलान् भन्ने मैले आशा गरेको थिएँ, तर ती आएनन् ।
सविनले जापानी पर्वतारोहीलाई बचाउँदा ज्यान गुमाएका थिए । अहिले नेपालमा पर्यटन वर्ष लागेको कुरो पनि गरिन्छ । के सविनले रक्षा गरेका र रक्षा गर्न गएका जापानी यात्रुहरू पर्यटक थिएनन् – के उनले बचाएका एक जापानीको जीवन पर्यटनमन्त्रीका लागि गौरवको कुरो थिएन – के जापानी नागरिकहरूलाई जोगाउन आफ्नै ज्यान बलिदान गरेको सविन नामक नेपालीको छोरोले गरेको काम प्रधानमन्त्रीका लागि गौरवको कुरो थिएन – के पर्यटनमन्त्रीले सविनको क्षतिमा चित्त दुखाउनुपर्ने कुनै नैतिक जिम्मेवारी छैन – मलाई लाग्यो उड्यनमन्त्री भनेको हवाईजहाजमा आउने कमिशन खानै मात्र बनेको पद नभई हवाईजहाज उडाउनेहरूप्रति जिम्मेवार पद पनि हो । उनीहरूलाई आफ्ना पाइलटले अर्को कुनै मुलुकको नागरिकको ज्यान जोगाउन जाँदा मृत्यु भएको घटनाले छाती पोल्नुपर्ने थियो तर राज्य चलाउँछु भन्ने गैरजिम्मेवार मानिसहरूको त्यहाँ मैले छाती पोलेको महसुस गर्न सकिनँ । एउटा खेलाडीले कुनै मुलुकमा सानो पदक जिते त्यो जिम्मेवार मुलुकका राष्ट्रप्रमुखहरूले नै उनलाई तत्काल बधाई पठाउँछन् । मुलुकको कुनै कुनामा रोग महामारी फैलिए विदेश भ्रमणको बेलामा भए पनि जिम्मेवार सरकारप्रमुखहरूले समवेदना पठाउँछन् र सके तत्कालै विदेश भ्रमण छोट्याएर आफ्नो देश फर्कन्छन् । नेपालमा सविनले उडाएको हेलिकोप्टर हराएको सूचना बिहानैदेखि सबै टेलिभिजन च्यानल र रेडियोहरूमा प्रसारण भइसकेको थियो तर पनि नेपालका नेता भन्नेहरूले उनको जीवन सम्बन्धमा न कुनै सरोकार देखाए न उनको मृत्युमा दुई शब्द बोलेर दुःख नै व्यक्त गरे । नेपालका नेताहरूले ती फेरि कहिल्यै नफर्कने गरी गएका सविनको पार्थिव शरीरलाई अन्तिमपटक हेर्न जान त परै जाओस् आफ्नो दुई शब्दद्वारा समवेदना वा दुःख व्यक्त गरेको पनि मैले देखिनँ । यो देख्दा मलाई लाग्यो यी नेता भन्नेहरू केवल तिनका परिवार र तिनका राजनीतिक पार्टीका लागि मात्र नेता हुन् । आमनेपाली जनताका लागि नेता होइनन् । यदि जिम्मेवार नेता यहाँ भएको भए अझै मलाई यो विश्वास छ कि पशुपतिनाथमा कोही न कोही सविनजस्ता बहादुर क्याप्टेनलाई अन्तिम श्रद्धाञ्जली दिन पक्कै त्यहाँ पुग्थे होला ।
यदि सविन फिस्टेलको तलब खाएका एक साधारण व्यक्ति मात्र हुन् प्रधानमन्त्री र नागरिक उड्यनमन्त्री पनि जनताको करबाट तलब खाएका एक साधारण व्यक्ति नै हुन् । केवल आफ्ना दलका कार्यकर्ताहरूका मृत शरीरलाई पार्टीको झन्डा ओढाउनु मात्र आफ्ना दायित्व हो भन्ने ठान्ने नेताहरूको सोच हो भने आमनेपाली जनताले पनि अब प्रधानमन्त्री वा मन्त्रीहरूलाई तिनकै दलका नेता मात्र ठानी आमआत्माबाट बाहिर फ्यालिदिनुपर्छ । सविनको पार्थिव शरीरलाई उनका आफन्त र साथीभाइहरूले लामबद्ध भएर अन्तिम श्रद्धाञ्जली दिइरहँदा मेरा मनमा भने नेताहरूप्रति उच्च आक्रोश जागिरहेको थियो । मुख्य रूपमा त्यो आक्रोश प्रधानमन्त्री र नागरिक उड्यनमन्त्रीप्रति लक्षित थियो किनकि सविनको मृत्युमा तिनले आफैं आएर वा प्रतिनिधि खटाएर भए पनि समवेदना दिनैपर्दथ्यो । एक जापानी नागरिकको जीवन सविनले होइन नेपाल सरकारले बचाउन प्रयास गरेको थियो भन्ने हामीले मान्नुपर्दछ तर मन्त्री भएकाहरूले यस्ता कुरा के नै बुझ्थे र † त्यसैले त हो नि आज आफूलाई नेता भन्नेहरूप्रति जनताको कुनै आस्था छैन ।
निक्कै बेरको अन्तिम श्रद्धाञ्जली दिने काम सकिएपछि सविनको पार्थिव शरीरलाई चितामा राखियो । उनको छोरीको उमेर भर्खर तिन वर्षको रहेछ । त्यसैले बुबाले दागबत्ती दिन आगो उठाउनुभयो । यो दृश्य देख्दा मेरो मन गहु्रँगो भयो र आँखाहरू रसाए । म त्यो क्षण हेर्न सकिरहेको थिइनँ । प्रकृतिको नियमविपरीत थियो त्यो दागबत्ती जहाँ छोराले बाबुलाई होइन बाबुले जवान छोरोलाई दागबत्ती दिइरहनुभएको थियो । सविनको बुबाले आगो लिएर तीनपटक चिता परिक्रम गरी जसै मुखमा दागबत्ती दिनुभयो उहाँको मुखबाट ठूलो स्वरको आवाज आयो, ‘सविन….।’
बुबाको ठूलो सोरसँगै अँध्यारोमा रुवावासी सुरु भयो । म पनि घुँक्क रोएँ । मेरो मुटु ढक्क अडेझैं भयो र म सविनले उडाएको हेलिकोप्टरको त्यो क्षण सम्झन पुगेँ जहाँ उनले मलाई बादलबाट जोगाउन हेलिकोप्टरलाई एक्कासि माथि उठाएका थिए र मेरो मुटु ढक्क गरी अडेको थियो । झन्डै ११ वर्षअघि मैले प्रहरीमा हुँदा माओवादी युद्धकालमा कारबाहीको सिलसिलामा सविनले उडाएको हेलिकोप्टर थुप्रैपटक चढेको थिएँ । धेरै स्थानमा उनले घाइते प्रहरी र आमजनतालाई उद्धार गरेको मैले आफ्नै आँखाले देखेको थिएँ । उनकै कारणले धेरै मानिसको प्राण जोगिएको थियो । एकपटक सुर्खेतबाट नेपालगञ्ज आउने क्रममा हामी कालो बादलबीच पर्‍यौँ । त्यस क्षण हेलिकोप्टर निक्कै हल्लियो । सविन पाइलट भए पनि मभन्दा निक्कै कम उमेरका थिए तर पनि उनमा डर थिएन । उनले हेलिकोप्टरलाई बादलबाट जोगाउन तलमाथि गरिरहे । एउटा ठूलो आकृतिको बादल वेगसँग झ्वासझ्वास्ती नजिकै आयो । उनले एकैपल्ट फूर्तिसाथ त्यो हेलिकोप्टरलाई सीधै माथि उठाए । त्यतिबेला मेरो सास नै रोकिएझैं भयो । उनले एकैपलमा बादलभन्दा माथि हेलिकोप्टर पुर्‍याए । अब बादल तल थियो । मेरो आँखाहरू अझै तर्सिरहेका थिए । मन अझै ढुकढुक गर्दै थियो । उनले हेलिकोप्टर नियन्त्रण गरी जसै मतर्फ हेरेर मुसुक्क हाँसे त्यो क्षण म आर्यघाटमा सम्झन पुगेँ । पशुपतिमा दागबत्ती दिँदै सविनको बुबाले जोडले छोरालाई जब पुकार्नुभयो त्यस क्षण मेरो मन त्यसैगरी ढक्क अड्यो । जसरी कालो बादलमाथि सविनले हेलिकोप्टर उठाउँदा मेरो मन अडेको थियो । फरक यति थियो त्यस क्षण सविन फेरि तल पृथ्वीमा ओर्लेका थिए तर यो क्षणमा भने उनी कहिल्यै नफर्कने गरी बादलमाथि गए । उनी फेरि फर्केर पृथ्वीमा आउँदैनन् भन्ने कुराले मलाई दुवै आँखाबाट अविरल आँसु झार्न बाध्य बनायो । पशुपति आर्यघाटको खोलापारि ढुङ्गामा बसेर अँध्यारोमा मैले रोएको कसैले देखेनन् ।
मलाई थाहा छ सविन फेरि यो धर्तीमा हामीले चिन्नेगरी फर्कने छैनन् तर पनि ती केवल एक हवाईजहाज उडाउने पाइलट मात्र नभई यो देशकै महान् सपुत थिए । मेरो नजरमा कुनै पार्टीका लागि हतियार उठाउँदै वा पार्टीमा भएकै कारण अरूलाई मार्न जाँदा वा दुघटनामा पर्दा भए पनि ज्यान गुमाएका कारण सहिद हुन पाएका व्यक्तिहरूभन्दा सविन कति हो कति ठूला सहिद हुन् । उनी कसैलाई ज्यान लिन जाँदा मरेका होइनन् बरु ज्यान बचाउन जाँदा आफ्नो ज्यान गुमाएका व्यक्ति हुन् । ज्यानको कुनै मूल्य हुँदैन । यो मुलुकले गर्व गर्नुपर्छ कि हाम्रो मुलुकमा सविनजस्ता पाइलटहरू छन् जो आफ्नो ज्यान कुर्वानी दिएर पनि विदेशी नागरिकलाई बचाउने गर्छन् । यिनकै बहादुरीको कथाले पर्यटन वर्ष सफल पार्छ । सानै उमेरमा सविनले मुलुकलाई थुप्रै योगदान दिएर गए । उनको क्षति कुनै एअरलाइन्सको मात्र नभई देशकै क्षति हो । नेता भन्नेहरूले यो कुराको अनुभूति नगरे पनि नेपालका हरेक आमनेपालीले सविनको योगदानलाई सम्झनुपर्छ । यो मुलुकमा नेता भन्नेबाहेक अरूको मृत्युको कुनै मूल्य नै नभएझैं देखिन्छ । यो कति दुःखद् पक्ष छ । मान्छेहरू पत्रकार, वकिल, डाक्टर, पाइलट, इन्जिनियर, एकाउन्टेन्ट, कृषक, श्रमिक, योगी भएर पनि यो देशका लागि नेता भन्नेहरूले भन्दा महान् काम गरेर गएका छन् । अब हामीले पनि तिनको कदर गर्न सिक्नुपर्छ । सविनको योगदान सरकारले पनि अनुभूति गर्नुपर्छ । सरकारले मृत्युपर्यन्त भए पनि सविनलाई ठूलो पदकबाट सम्मानित गर्नुपर्छ । यसबाट त्यस पदकको पनि कदर बढ्ने छ । यो कुरा सही हो कि यो अपूरणीय क्षतिले सविनको परिवारमा घनघोर दुःख ल्याएको छ तर मेरो मान्यता के छ भने यो मुलुकमा दैनिक कति जन्मन्छन् कति मर्छन् तिनको हिसाबकिताब छैन तर सविन नामका यी छोरा आमव्यक्तिको मृत्युभन्दा अलग ढङ्गले मरेर गए । त्यस कुरामा भने सविनको परिवारले सधैं गर्व गर्नुपर्छ । सविनले यो मुलुकमा विदेशी नागरिकका ज्यान बचाउने सिलसिलामा आफ्नो ज्यान बलिदान दिए भन्ने कुरा इतिहासमा सधैं सुनौला अक्षरले लेखिनेछ । जन्मेपछि मृत्यु निश्चित छ तर मेरो नजरमा सविन मरेका छैनन् । उनी एक सहिद भएर यो मुलुकमा सधैं बाँचिरहनेछन् । उनका वीरताका गाथाहरू नागरिक उड्यन क्षेत्रमा सधैं सम्मानित र प्रेरणाको स्रोत भएर रहिरहनेछ । अरूले मानुन् या नमानुन् ‘क्याप्टेन सविन मेरा नजरमा देशका सम्झनलायक सहिद हुन्’ जो अरूलाई बचाउँदा आफैं मरेर गए ।